पहिलो चरणको चुनाव भएका दिन सेयर बजारले २१ अंकको उचाइ लिएको छ। उच्च पहाडी क्षेत्रमा पहिलो चरणमा प्रतिनिधी तथा प्रदेश सभाको चुनाव भइरहँदा नेप्सेमा बढोत्तरी आएको हो।
अघिल्लो दिनभन्दा २१ अंकले बढेर बजारको परिसूचक १५१४ अंकमा कायम भएको छ। सो अंकको वृद्धिसँगै लगानीकर्ताको सेयर मूल्य २४ अर्बले बढेको छ। यसअघि बजार बन्द हुँदा पुँजीकरण १७ खर्ब ३५ अर्ब रहेकोमा आइतबार १७ खर्ब ५९ अर्ब पुगेको छ।
यस दिन कारोबार रकम पनि सन्तोषजनक देखिएको छ। दैनिक सरदर ४० करोडको कारोबार हुने गरेकोमा १५५ कम्पनीको ५९ करोड ७५ लाखको कारोबार भएको छ। यस दिन व्यापारबाहेकका सबै उपसूचक उक्लिएका छन्।
सो उपसूचक ६ अंकले घट्यो। बैंकिङ १८, होटल १, विकास बैंक १८, जलविद्युत ६८, फाइनान्स २, बिमा ८२, उत्पादन ८, अन्य १३ र लघुवित्त उपसूचक २८ अंकले बढे।
धेरै कारोबार हुनेमा स्टान्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। ६ करोड ८६ लाखको कारोबार भएको उसको मूल्य बढेर प्रतिकित्ता २११५ कायम भएको छ। कम्पनीले शत प्रतिशत बोनस दिएर चुक्ता पुँजी पुर्याउने तयारी गरेकाले लगानीकर्ता आकर्षित भएका हुन्।
नेपाल बैंक, चिलिमे हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंक पनि कारोबारका आधारमा अगाडि देखिए। नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाए। कम्पनीले बोनसपछि १ बराबर साढे २ को अनुपातमा हकप्रद जारी गर्ने सूचना सार्वजनिक गरेकाले खरिद गर्ने लगानीकर्ता सो कम्पनीमा तानिए।
जसले गर्दा मूल्य प्रतिकित्ता २७५ ले बढेर ३ हजार २६ पुग्यो। कर्णाली विकास बैंकको मूल्य ९. ७ प्रतिशतले बढ्यो। गुमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य ४.८ प्रतिशतले घटेको छ।