नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म नेप्सेमा कुल १९६ कम्पनी सूचीकृत छन्।
जवकि २०७३ असोज मसान्तमा यस्तो संख्या २२३ रहेको थियो।
केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको राष्ट्र बैंकले जनाएको छ।
सूचीकृत कम्पनीहरूमध्ये १५१ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्।
बजार पुँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८३.८ प्रतिशत रहेको छ भने जलविद्युत क्षेत्रको ४.४ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.५ प्रतिशत, होटलहरूको १.८ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ७.५ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक बिन्दुगत आधारमा ३४.४ प्रतिशतले वृद्धि भई २०७४ असोज मसान्तमा २९८ अर्ब ५१ करोड पुगेको छ।
साउन, भदौ र असोज महिनामा १ अर्ब २० करोड बराबरको साधारण शेयर, १४ अर्ब ४१ करोड बराबरको हकप्रद, ७० करोड बराबरको बोनस शेयर र ७ अर्ब बराबरको सरकारी ऋणपत्र गरी कुल २३ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।