सहकारी संस्थाले मल वितरणमा आलटाल गरेपछि रूपन्देहीको रोहिणी गाउँपालिकाले हस्तक्षेप गरेर वितरण गरेको छ।
रोहिणी गाउँपालिका वडा नं २ मा रहेको विराट सहकारीले किसानहरूका लागि ल्याएको मल अपारदर्शी ढङ्गले वितरण गरेको गुनासो लिएर स्थानीय किसानहरू आन्दोलित भएपछि पालिकाले हस्तक्षेप गरेर वितरण गरेको हो।
स्थानीय किसानसहित सहकारीमा पुगेका गाउँपालिका अध्यक्ष विद्या यादवले सहकारीको ताला फुटाएर किसानहरूलाई मल वितरण गरेका थिए।
उक्त सहकारीले किसानहरूलाई नदिई अपारदर्शी ढङ्गले मल लुकाएर बेचबिखन गर्ने गरेको किसानहरूको गुनासो छ।
‘हामीले पटक पटक आग्रह गर्दा पनि सहकारीका पदाधिकारीहरू आउनु भएन, त्यसैले ताला फुटाएर २७९ बोरा मल किसानहरूलाई वितरण गरेका हौँ,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले भने।
सहकारीका पदाधिकारीलाई सहकारीमा आउन पटक पटक अनुरोध गरे पनि उनीहरू नआएपछि प्रहरीको उपस्थितिमा किसानहरूलाई मल वितरण गरेको उनले बताए।
‘सहकारीका पदाधिकारी आउनु भएन, चाबी पठाउँछौँ भनेर पनि पठाउनु भएन। बाध्य भएर नेपाल प्रहरी सशस्त्र प्रहरी समेत राखी मुचुल्का गरेर मल वितरण गरेका हौँ, उनले भने।
गाउँपालिकाको सिफारिसमा मल ल्याउने तर वितरण गर्न भन्दा आलटाल गर्ने गरेको बस्नेतले बताए।
मल ल्याउनका लागि गाउँपालिकाले सहकारीलाई जिम्मा दिने गर्दै आएको छ। नेपाल सरकारले बनाएको मल वितरण कार्यविधिले मल वितरणको जिम्मा स्थानीय सहकारीहरूलाई दिने व्यवस्था गरेको छ। सोही अनुसार सहकारीहरूले मल आयात गरी किसानहरूलाई सुपथ मूल्यमा वितरण गर्ने गर्दै आएका छन्।
रोहिणीको उक्त सहकारीले एक साता अघि गाउँपालिकाको सिफारिसमा एक सय बोरा र गत शुक्रवार १७९ बोरा युरिया मल ल्याएर राखेको थियो।
सहकारीहरूले आफू निकटकालाई मात्रै मल दिने, सर्वसाधारणलाई मल नदिने गरेको गुनासो आउने गरेको छ भने रोहिणीका किसानहरू मल नपाएको भन्दै आन्दोलन गरिरहेका थिए।