रोजगारीका राम्रा अवसर आउन थालेपछि कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।
विज्ञानमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीको पहिलो रोजाइ मानव चिकित्सक बन्ने भए पनि सबैले छात्रावृत्ति नपाउने र शुल्क तिरेर पढ्दा निकै खर्चिलो हुने भएकाले दोस्रो विकल्पका रूपमा कृषि शिक्षा परेको हो ।
हाल नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयु¬), त्रिभुवन विश्वविद्यालय (त्रिवि) र पूर्वाञ्चल विश्वविद्यालयले कृषि शिक्षा पढाउँदै आएका छन् । तीमध्ये पूर्वाञ्चल विश्वविद्यालयले निजी क्षेत्रलाई मात्रै सम्बन्धन दिएको छ भने अन्य दुईका आंगिक क्याम्पस छन् ।
एएफयुकाउपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल यस विश्वविद्यालयमा कृषि पढ्न गतवर्ष चार हजारले आवेदन दिएकामा २१५ जनाले मात्रै पढ्ने अवसर पाएको बताउँछन् । त्यही हाराहारीमा त्रिविमा विद्यार्थीले आवेदन दिने गरेका छन् । एएफयुले कृषि स्नातकका लागि रामपुरमा १६५ र पोखराको पुरनचौरमा ५० जनामात्रै विद्यार्थी पढाउँदै आएको छ ।
त्रिविले लम्जुङको सुन्दरबजारमा ५० र कपिलवस्तुको पक्लिहवामा ५० विद्यार्थी पढाउँदै आएको छ । त्रिविको सम्बन्धनमा निजी क्षेत्रबाट दाङमा दुई वटा क्याम्पसले ५०/५० र बैतडीको गोकुलेश्वरमा ५० विद्यार्थी पढाउँछन् । पूर्वाञ्चलको सम्बन्धनमा निजी कलेजले भरतपुरमा ५० र काठमाडौंमा ५० विद्यार्थी पढाउँदै आएका छन् । दश हजारको हाराहारीका विद्यार्थी कृषि पढ्न इच्छुक पभएपनि समग्रमा वार्षिक ५६५ जनाले मात्रै नेपालमा कृषि शिक्षा पढ्न पाउने उपकुलपति ढकाल बताउँछन् । उनका अनुसार कृषिसँगै भेटेनरी र मत्स्य विज्ञानमा पनि विद्यार्थीको आकर्षण बढ्दो छ ।
गतवर्ष एएफयुमा मात्रै ५० भेटेनेरीका लागि एक हजार २०० र १६ जना मत्स्यविज्ञानका लागि कोटा छुट्याइएकामा ४०० विद्यार्थीले आवेदन दिएका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपति विद्यार्थीको मागसँगै विश्वविद्यालयले १० वटा आंगिक क्याम्पस खोल्न सिनेटले पारित गरिसकेको बताउँछन् ।
निजी क्षेत्रबाट १० वटा क्याम्पसले सम्बन्धनका लागि एएफयुमा निवेदन दर्ता गरेका छन् । सरकारी तवरबाट मात्रै सबै विद्यार्थीको मागअनुसार पढाउन नसक्ने भएकाले पूर्वाधार सम्पन्न भएका निजी कलेजलाई पनि सम्बन्धन दिएर पढ्ने अवसर बढाउनु पर्नेमा उनी जोड दिन्छन् ।
आंगिक क्याम्पस सञ्चालन गर्न तराईमा आठ बिघा र पहाडमा एक सय रोपनी जग्गा हुनुपर्ने शर्त पूरा गर्ने क्याम्पसमा क्रमशः पढाइ सुरू गर्दै जाने भएकाले चालू शैक्षिक सत्रमा एउटा क्याम्पस सञ्चालनमा आउन सक्ने सम्भावना रहेको र सर्त पूरा भएका अन्य क्याम्पस क्रमशः थपिँदै जाने रजिष्ट्रार प्रा.डा कोलाक्षपतिको भनाइ छ ।
त्रिविले पनि चितवनको रामपुर छोडेपछि शक्तिखोरमा नयाँ क्याम्पस स्थापना गरी पढाई सञ्चालन गर्ने तयारी गरेको छ । पछिल्लो समय कृषि शिक्षा पढ्न छात्राहरू पनि आउन थालेका छन् ।
विगत एक दशकमा कृषि पढ्ने छात्राको संख्या निकै बढेको देखिएको छ । एएफयुका उपकुलपति ढकालका अनुसार कृषि पढ्न रुचाउने छात्राको प्रतिशत ४० नाघेको छ । विगतमा न्यून मात्रामा छात्रा कृषि पढ्न आउने उनले बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका पूर्व रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे नेपाल कृषि प्रधान देश भएकाले उत्पादनको क्षेत्रमा जति नै जनशक्ति भए पनि अपुग हुने बताउँछन् । विदेशमा पनि यसको माग निकै बढी भएकाले पछिल्लो समय विद्यार्थीको रोजाइ कृषि शिक्षा बनेको उनको भनाइ छ ।
हिजोसम्म परम्परागत खेती प्रणाली रहेको भन्दै उनले व्यवसायीकरणसँगै नयाँ प्रविधि भित्र्याउँदा कृषि अध्ययन गरेका जनशक्तिको आवश्यकता देखिएको छ । कृषि अध्ययन गरेका कोही पनि बेरोजगार नभएको भन्दै उनी रोजगारीभन्दा स्वरोजगारतर्फ पनि लाग्नेहरूको संख्या बढेर गएको छ भन्छन् । नेपालमा कृषि शिक्षामा विद्यावारिधि गर्नेहरू पनि निकै बढेर गएका छन् । यकिन तथ्यांक नभए पनि नेपालमा मात्रै एक सयभन्दा बढीले विद्यावारिधि गरेको अनुमान छ । रासस