इलामको सन्दकपुर गाउँपालिकामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले यही माघ ५ गतेदेखि स्थानीयवासीका लागि शेयर निष्कासन गर्ने भएको छ ।
इलाममा निर्माण सम्पन्न भएको १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए।
कम्पनीले आयोजना प्रभावित क्षेत्र सन्दकपुर गाउँपालिका र ट्रान्समिसन लाइन जडान गरिने इलाम नगरपालिकाका बासिन्दाका लागि ११ करोड रुपैयाँ मूल्य बराबरको ११ लाख कित्ता शेयर खरीद गर्न दिने भएको हो। सन्दकपुर गाउँपालिकावासीले छ लाख ६० हजार तथा इलाम नगरपालिकावासीले चार लाख ४० हजार कित्ता शेयर खरीद गर्न पाउने कम्पनीले जनाएको छ।
शेयर खरीदकर्ताले सनराइज बैंक र प्रभु बैंकको इलाम शाखा, सन्दकपुर गाउँपालिका तथा आयोजनाको माबुस्थित कम्पनीको कार्यालयमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। खरीदकर्ताले न्यूनतम २० देखि अधिकतम पाँच हजार पाँच सय कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने जनाइएको छ।
आयोजनाले व्यावसायिक उत्पादन सुरू गरेको पहिलो आर्थिक वर्षबाट कम्पनी नाफामा जान सफल भएको प्रधानले बताए। कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ।