कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरू गरेको छ।
केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्ष अघिदेखि सुरू गरेको सो आयोजनाको निर्माण सम्पन्नपछि १३ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरू गरेको हो।
उत्पादन भएको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए। कुल रुपैयाँ दुई अर्ब पाँच करोडको लागतमा उक्त आयोजना निर्माण गरिएको हो।
सिक्लेस गाउँ नजिकैको मड्क्यु खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट तल झारी विद्युत् उत्पादन गरिएको छ। उत्पादित विद्युत् १३२ केभी प्रशारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सव–स्टेशनमा जोडिएको छ।
‘रन अफ द रिभर’ प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियूनिट सात रुपैयाँ र वर्षायामको समयमा प्रतियूनिट चार रुपैयाँका दरले विद्युत् खरीद विक्री गर्ने सम्झौता भएको निर्देशक केसीले बताए।