झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ ।
दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो।
आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले गरिने सो महोत्सवमा स्थानीय उत्पादन, खानाका परिकार, आधुनिक प्रविधिसहित लोक संस्कृतिको प्रदर्शनी हुनेछ ।
संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाईंले महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न दमक क्षेत्रमा रहेका संघसंस्था, व्यवसायी, प्रशासनसँग छलफल गरी तयार अघि बढाइएको जानकारी दिए।
संघले यसअघि पनि २०६२, २०६५ र २०६६ सालमा गरी तीनवटा यस्ता महोत्सव सम्पन्न गरिसकेको छ। महोत्सव दमक–७ स्थित रतुवा खोलाको किनारमा सञ्चालन हुने जनाइएको छ।