सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
मेरो नाम सिन्धु खड्का हो। म ९ वर्षकी भएँ। म दाङ तुलसीपुरको हिमाल एकाडेमीमा कक्षा तीन उत्तिर्ण भई कक्षा चारमा पुगेकी छु। वैशाख ७ गतेदेखि हाम्रो कक्षा सुरू हुने कुरा विद्यालयले जानकारी दिएको छ।
हाम्रो वार्षिक परीक्षा चैत १३ गते सकिएको हो। कक्षा तीनमा मेरो राम्रो अंक आएको छ। म खुसी छु। परीक्षाको नतिजा चैत २२ गते प्रकाशित भएको थियो। त्यो विदामा म गाउँ गए।
तुलसीपुर उप-महानगरपालिका वडा नं. १० स्थित बा–आमाको घर र वडा नम्बर ११ स्थित मामाको घरमा समय बिताउन पाउँदा मैले निकै धेरै किताबमा पढेका कुरा व्यवहारिक रूपमा जान्न पाएँ। गाउँमा म बाख्राका स-साना पाठाहरूसँग खेल्दै कुद्दै रमाए। मैले तीनवटा पाठाहरूको नाम पनि राखिदिए।
दुई पाठी र एक पाठो थिए। तीमध्ये पाठो निकै प्यारो थियो। निधारमा सेतो टीका र अन्य भाग कालो भएको त्यो पाठोको नाम मैले टिक्स्यू राखिदिएको थिए। दुई पाठीहरूलाई सधैं दाम्लोले बाँध्ने गरिन्थ्यो भने त्यो पाठोलाई नबाँधी छाडिन्थ्यो। त्यसैले त्यो बढी स्वतन्त्र थियो। मसँग उफिन्थ्यो, खेल्थ्यो र मलाई पछ्याँथ्यो। आमासँग म ती पाठापाठीका लागि घाँस काट्न पनि गएँ। बेलुका बुवासँग उनीहरूको हेरचाहका लागि ग्वाला पनि गएँ। आसपासमा डाँडा पाखा थिए। मलाई ती डाँडापाखामा उनीहरू रमाउँदै घाँस खाएको देख्दा खुबै आनन्द लाग्थ्यो।
मामाघरमा माछाका दुई पानी पोखरी छन्। ती पोखरीबाट कसरी माछा निकाल्दा रहेछन् भन्ने कुरा पनि प्रत्यक्ष देखेँ। साँझ-बिहान कुखुराका बच्चा, बाख्राका पाठालाई चारो हाल्दा होस् वा घाँस दिँदा उनीहरू मेरो पछिपछि लाग्थे।
गाउँमा उब्रेको खाना पनि खेर नजाँदो रहेछ। खाना खाई नसक्दा बचेको कि म कुखुराको बच्चालाई दिन्थे कि पाठापाठीलाई। बजारमा जस्तो खाइ नसकेको वा बचेको खाना कहाँ फालौं? भन्ने समस्या थिएन। मामासँग माछालाई दाना हाल्न जाँदा पनि मन खुबै रमाउँँथ्यो।
मलाई बच्चाको माउ र टर्की देखेर डर लाग्थ्यो। किनभने उनीहरू नजिक जाँदा टोक्न आउँथे। मामाघरको पहिलेको म्याउ निकै ज्ञानी थियो। त्यो घाँस खेतमा मरेको भेटिएको खबरले म पनि निकै दुःखी भएकी थिए। माइजुले बजारमा लगेको सोही पप्पीको छोरी ल्याएको धेरै दिन भएको थिएन। त्यो भने चकचके थियो। मासुको गन्ध पायो भने खाना नै जुठो बनाइ दिन खोज्थ्यो। सानो सेतो पप्पीले दूध भन्दा पनि महीसँग मात्रै भात खान्थ्यो। मासु-भात पाए पनि उत्तिकै रमाउँथ्यो। मामाघरमा दुई बँदेलको खोर नजिक जान सुरूमा म निकै डराउँथे। ड्याडीले उनीहरूलाई खाना-दाना दिने क्रममा म जाने गरेपछि बिस्तारै उनीहरूले मलाई चिन्न थालेका थिए।
त्यहाँ सानो मिल थियो। धान लगाएत अन्नपात त्यहाँ तौलिइन्थ्यो त्यसमा ठूलो तराजु थियो। ढकहरू थिए। ढुँगाहरू राखिएका थिए। त्यो आँपको रूखमुनी थियो। गर्मीमा म त्यही बसेर पिङ पनि खेलेँ। आफ्नो तौल लिएँ। म २७ केजीको रहेछु भन्ने पत्ता लगाएँ।
मामाको घरमा रात-दिन धारा बगिरहन्थ्यो। कुँवामाथि डाँडोमा थियो र त्यसबाट पाइप जमिनमुनीबाट आँगनमा ल्याइएको हुँदा कुनै मोटर चलाउनु नपर्ने बरू पानी आँफै खुरूखुरू आइरहने। आमासँग बारीमा चना, केराउ, मटर आँफै टिपेर खान पाउँदा मलाई रमाइलो लाग्थ्यो।
कहिले आमा र कहिले माइजुसँग धनिया टिप्न, लसुन केलाउन, घुँइयाको पात (पाप्रो) टिप्न, मुलाका ढाँकुर, सिसी टिप्न, मेवा टिप्न जान्थे।
यो वशन्त ऋतु हो। आँगनको आरू र आँप फुलेका थिए। त्यसमा माहुरी, पुतली र अन्य स-साना किरा रमाइरहेका हुन्थे। करेसाबारीमा रोपिएका बेमौसमी मकैका हरिया बोट हावा आउँदा कति मज्जाले उनीहरूसँगै चालमा हुन्थे। वरिपरि पातलो जाली रहेको हुँदा सबै आँगनबाटै देख्न सकिन्थ्यो। मामाघर नजिकै खग्दा भन्ने ठाउँ छ जहाँ बाह्रै मास हरियाली हुन्छ। त्यहाँ दलदल छ। त्यहाँको चिसो बतासले शितल प्रदान गर्थ्यो। बजारमा जस्तो फ्यान (पंखा) चलाइ रहनु पर्दैैन थियो।
इनारको पानी फ्रिजको पानी भन्दा ठन्डा थियो। गाउँको सफा र स्वच्छ वातावरण मलाई मन प¥यो। गाउँ घरका अरू मानिस पनि बिहानदेखि बेलुकासम्म सबै आ–आफ्नो काममा ब्यस्त हुन्थे। उनीहरू घाँस काट्न जान्थे। भारी आँफै पिठ्यूमा बोकेका हुन्थे। बस्तुभाउ दिनभर चराउँथे। मलाई सुरूमा गाइ-भैंसी देख्दा डर लाग्ने गर्थ्यो। उनीहरूले आफ्नो मालिक चिन्दा रहेछन् र केही गर्दा रहेनछन् भन्ने कुरा मैले अनुभूत गर्न पाएँ। गाउँमा समय बितेको पत्तै नहुँदो रहेछ।
म घर आएपछि तीन दिन लगाएर मेरा यी अनुभव ल्यापटपमा लेखेकी हुँ।