सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
राजनीति भन्नाले एक देश वा क्षेत्रको शासनसँग सम्बन्धित गतिविधि हो भन्ने कुरा त हामीलाई थाहा नै छ। राजनीतिले विशेष गरेर समूह वा देशको बारेमा निर्णय लिने काम गर्छ। यसले व्यक्ति वा समूह बीच शक्ति सम्बन्धको काम गर्छ।
देशको स्रोत साधन, अधिकार व्यवस्थापन र वितरणसँग राजनीति सम्बन्धित छ। यसले देशका नागरिकहरूको हक हित र अधिकारको संरक्षणका लागि काम गर्छ। यस्तो गहन विषयमा पनि महिलाको सहभागिताचाहिँ कमै भएको पाइन्छ। यसको मूल कारण भनेको सामाजिक-सांस्कृतिक अवरोधहरू, महिलाको राजनीतिक संगठनका लागि तालिम, स्रोतसाधनको अभाव र आर्थिक चुनौति नै हो।
राजनीतिमा महिलाको कम सहभागिताले ठूलो असर पार्न जान्छ। महिला वा पुरूषको जीवनको सामाजिक, आर्थिक, साँस्कृतिक परिवर्तनका लागि राजनीतिक निर्णयले ठूलो भूमिका खेल्छ। हालका दिनमा स्थानीयदेखि विश्व स्तरसम्म महिला नेतृत्व र राजनीतिक सहभागितालाई बढावा दिएको छ। चाहेँ निर्वाचित कार्यालय, निजामती सेवा, निजी क्षेत्र र अन्य क्षेत्रमा महिलाहरूको जुन किसिमको सहभागिता हुनुपर्ने हो त्यो कम छ।
लोकतान्त्रिक शासन प्रणालीमा महिला र पुरूषको समान सहभागिताले मुलुकलाई असल शासनको नाम दिन्छ। लैंगिक सहभागिताको सवालमा पनि महिला र पुरूषको समान सहभागिता हुनु मुलुकको लागि राम्रो कुरा हो। राजनीतिमा महिला सहभागिता बढाउँन नेपालमा सबै निकाय र स्तरमा महिलाको कम्तिमा पनि तेत्तिस प्रतिशत सहभागिता अनिवार्य गरेको छ। तर पनि सामाजिक समर्थन र राजनीतिक दलको समर्थनको कमी, परम्परागत विचार, आत्मविश्वासको कमी, वित्तीय साधनको कमी, क्षमता निर्माण अवसरको कमी, लैंगिक विभेद र पहुँचको कमीले गर्दा महिलाको राजनीतिमा सहभागिता हुनुपर्ने जति छैन।
राजनीतिमा महिला सहभागिता सुनिश्चित भयो भने विभेदकारी कानुन बन्न पाउँदैन र न्यायपूर्ण समाज निर्माण हुन्छ। हाल नेपालमा भएको स्थानीय निर्वाचनमा मेयर वा उपमेयरमध्ये एक महिला हुनुपर्ने नियम बनाइएको छ। यसले गर्दा स्थानीय निकाय र राजनीतिमा महिलाहरूको सहभागिता उल्लेखनीय रहेको छ। जसले कानुनको सही सदुपयोगमा योगदान दिएको छ। यति मात्र होइन, स्थानीय निकायमा अनिवार्य महिला सदस्य हुनुपर्ने नियम समेत छ।
महिला स्वयंको सहभागिता रहँदाखेरी उनीहरूको हक, हित, अधिकारका बारेमा उनीहरूले नै आवाज उठाउन सक्छन्। जसको सवाल उसैको सहभागिता भन्ने कुराको सुनिश्चितता हुन्छ। पुरूष प्रधान हाम्रोजस्तो मुलुकमा राजनीतिमा महिला सहभागिता बढ्यो भने पुरूषले गर्ने निर्णय महिलाले स्विकार्न अनिर्वाय हुन्न। नीति नियम र कानुन बनाउने ठाउँमा महिलाको समान पहुँच रहन्छ र निर्णय गर्न पनि सक्छन्। जसले देश, समाज, प्रजातान्त्रिक र लैंगिक मैत्री बन्न सक्छ। महिलाले पनि स्वाभिमानता महशुस गर्न सक्छन्।
संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले भनेका छन्, 'महिला सशक्तिकरण भन्दा प्रभावकारी विकासको लागि कुनै उपकरण छैन। महिला सशक्तिकरणभन्दा अन्य कुनै नीतिले आर्थिक बृद्धि दर बढाउने वा बाल र मातृ मृत्युदर घटाउने सम्भावना छैन।
योबाहेक अन्य नीतिले एचआइभी एडसको रोकथाम सहित मानवको पोषण सुधार र स्वास्थ्यको बढावा दिन सक्दैन। यो पुस्ता मात्र हैन, अर्को पुस्ताका लागि शिक्षाको संभावना बढाउनको लागि अरू कुनै नीति शक्तिशाली छैन जुन महिला सशक्तिकरणले गर्छ। र महिला सशक्तिकरणका लागि राजनीतिमा महिला सहभागिता अनिवार्य छ।'
राजनीतिमा मात्र हैन हरेक तहमा जसको सहभागिता रहन्छ, त्यहाँ सशक्तिकरण हुन्छ र निर्णय लिन सक्षम बनाउँछ। महिला र पुरूष भनेका रथका दुइ पाङ्ग्रा हुन् भन्ने भनाइअनुसार जुनसुकै ठाँउमा पनि पुरूष र महिलाको समान सहभागिता हुन जरूरी छ। झन् राजनीतिक रूपमा त अपरिहार्य नै हो।
राजनीतिक सहभागिताले नै देशको स्रोत, साधनको समान वितरणका लागि सही कानुन नियम बनाउँछ। त्यसमा महिलाको सहभागिताले निष्पक्ष र महिलामैत्री कानुन निर्माणका लागि सहयोग पुग्छ। यसले लोकतान्त्रिक देश बनेर दिगो विकासलाई समेत टेवा पुर्याउँछ। त्यसैले राजनीतिमा महिला सहभागिता जरूरी छ।
(सुप्रभ आचार्य डियरवाक सिफल स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)