सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
हाम्री जिजु हजुरआमाको नाम धनकला पाण्डे हो। उहाँ उनान्सय वर्षको हुनु भयो। विसं १९९० को भुइँचालो जाँदा उहाँको उमेर १० वर्षको थियो।
वर्षले सय छुन आँटे पनि उँहा एकदमै स्वस्थ हुनुहुन्छ। हामी केटाकेटीलाई उहाँले कहिले कथा सुनाउनु हुन्छ। कहिले आफ्ना अनुभव र उबेलाका जिवनका कुरा सुनाउनु हुन्छ।
अहिले पनि उहाँ आफ्ना नित्य काम सबै आफैँ गर्नुहुन्छ। आज म उहाँले सुनाएका धेरै कथामध्ये उहाँको जिवनको एउटा महत्वपुर्ण क्षणको अनुभव तपाइलाई भन्छु।
...
हाम्री जिजुआमाको बिहेको कुरा मलाई त सपनाजस्तो लाग्छ। पत्याउनै ग्राहो। उहाँको बिहे उहाँ पाँच वर्षको हुँदा भएको रे। म भने पाँच वर्षको हुँदा विद्यालय जाँदा रून्थे। सर, म्यामले गाली गर्दा विभिन्न बहाना बनाएर विद्यालय नजाने दाउ खोज्थेँ। बाबामामुले गाली गर्दा उहाँहरूलाई घुर्काउन दराजभित्र लुक्थेँ। तर मेरी जिजुआमा पाँच वर्षमा पराई घर जानुभएको रहेछ।
पाँच वर्षमै किन बिहे गर्नु भएको त? उहाँँ भन्नुहुन्छ– त्यतिबेलाको चलन नै त्यस्तो। छोरी सात-आठ वर्षका भए भने त बुढा भए, बिहे नै हुँदैन भन्थे मान्छेहरू। पाँच वर्षकी सानी केटीलाई माइतबाट हिँडेर पूरै दुइ दिन लाग्ने घर पठाइएको रहेछ। उहाँको जन्मस्थान गुल्मी जिल्लाको आँप चौर भन्ने ठाँउमा हो। उहिले गाडी सुविधा नभएकोले उहाँलाई घर-माइत गर्न दुइ दिन लाग्थ्यो रे। उहाँको कर्म घर गुल्मीकै धुर्कोट हो।
उहाँले आफ्नो बिहेको राम कहानी यसरी सुनाउनु हुन्छ– मेरो बिहे हुँदा म जम्मा पाँच वर्षकी थिए। मलाई बिहे के हो भन्ने पनि थाहा थिएन। बिहेको चिन्ताभन्दा नयाँ नाना लगाउन पाएकाले खुशी थिएँ। लाछा डोरी, फुर्के धोति र चोलो लगाउन पाएकाले मलाई त बिहे फेरीफेरी गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो।
तिम्रो जिजुबुवा आठ वर्षको हुनुहुन्थ्यो। बिहे गरेर पहिलो पटक घर गएको बेला तिम्रो जिजुबुवाले मैले खाँदै गरेको बेलौती खोसी दिनुभयो। मलाई रिस उठ्यो। ढुङगाले हाने। गाली गरेँ। पछि सासुले सम्झाउनुभयाे, 'यो त तिम्रो लोग्ने हो, यसलाई गाली गर्नु हुन्न। तँ भन्नु हुन्न।'
सासुले जे भनेपनि हामी दुइजना ठूलो डोकोभित्र लुकेर बिहे खेल खेल्थ्यौं। पुतली बनाएर खेल्थ्यौं। पिटापिट त कति कति।
म कर्म घर गएको केहि दिनपछि माइतबाट आफन्त आएर फेरी मलाई माइत नै लग्नु भो। त्यसपछि तेह्र वर्षकी भइन्जेल म माइतमै बसेँ।
म तेह्र वर्षकी हुनासाथ घरबाट धेरै मान्छे आए। मलाइ राम्रा कपडा लगाइदिए। बाजा बजाउँदै, बन्दुक पढ्काउँदै फेरी घर लगे। त्यतिबेलासम्म त तिम्रा जिजुबुवा त पूरै जुँगेमुठे भइसक्नुभएको रहेछ। त्यो बेला उहाँलाई अगाडिबाटै त हेरिन तर लुकिलुकि हेरेँ। त्यो बेला उहाँ हेरू हेरू लाग्ने भइसक्नु भएको थियो। मैले पनि बिहे अलिअलि बुझ्दै थिए।
(विदिषा पाण्डे पुष्प सदन आवासीय विद्यालय कीर्तिपुर, काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)