सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम मिलन जंग थापा हो। हाल म भक्तपुरको लिटल वर्ल्ड स्कुलमा कक्षा १० मा अध्ययन गर्दैछु। मेरो बाबाममी बेल्जियममा बसोबास गर्ने भएकाले विभिन्न समयमा मैले नेपालको र बेल्जियमको स्कुलमा अध्ययन गरेको छु।
यस क्रममा मैले बटुलेका अनुभव समेटेर मैले नेपालको विद्यालयले बेल्जियममको शैक्षिक प्रणालीबाट सिक्न सक्ने केही तथ्यहरू प्रस्तुत गरेको छु।
उमेर अनुसारको कक्षा र सिकाई
बेल्जियममा बालबालिका २/५ वर्ष पुगेपछि प्रि-स्कुल जान योग्य मानिन्छन्। प्रि-स्कुल जानै पर्छ भन्नेचाहिँ हुँदैन। धेरैले घरमै पढेर (होम स्कुलिङ) सकाएर मात्र औपचारिक पढाई सुरू गर्छन्। प्रि-स्कुलमा पजल बनाउन, शब्द, अंक सिकाएर, चित्र बनाउन सिकाइन्छ।
नेपालमा जस्तो अलिअलि हिँड्ने र बोल्न सिक्ने बित्तिकै औपचारिक शिक्षाको बोझ विद्यार्थीमा थोपरिँदैन। ६ वर्ष पुगेपछि मात्रै औपचारिक रूपमा पढाई सुरू हुन्छ। ६ वर्ष पुग्नुअघि नै ६ वर्ष टेकिसकेका केटाकटीलाई स्कुल नपठाएमा सरकारले बाबुआमालाई कारबाही गर्छ।
निःशुल्क एवम् गुणस्तरीय शिक्षा
केही समयअघि बेल्जियममा बस्दा म त्यहाँको सरकारी विद्यालयमा पढ्दै थिएँ। बेल्जियमको सरकारी विद्यालयमा सबै विद्यार्थी १८ वर्षसम्म निःशुल्क पढ्न पाउँछन्। सबै स्कुलले शैक्षिक भ्रमण र केही शैक्षिक सामग्री जस्तै कपीको शुल्क मात्र लिन्छन्। बेल्जियन शैक्षिक प्रणाली विश्वकै राम्रो मानिन्छ। नेपालमा सरकारी विध्यालय समेत निःशुल्क छैन।
नेपालमा तीन थरी पृष्ठभूमिका विद्यार्थी हुन्छन्। एक थरीका लागि अभिभावकले निकै मोटो रकम खर्च गरी सबैथरी सुविधा भएको स्कुलमा भर्ना गरिदिन्छन्। दोस्रो थरीले औसत विद्यालयमा पढ्छन् र तेस्रो वर्ग चाहिँ आधारभूत शिक्षाका लागि पनि संघर्ष गरिरहेका हुन्छन्।
बेल्जियममा विद्यार्थी आर्थिक हैसियतको आधारमा विद्यालय छुट्टिँदैन। आर्थिक हैसियतको आधारमा विद्यार्थीले पाउने शिक्षाको गुणस्तरमा फरक पारिनु हुन्न। नेपालको शिक्षा क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने देखिन्छ।
भिन्न रूचि भिन्न पाठ्यक्रम
बेल्जियममा स्कुलमा १२ वर्ष पुगेपछि विद्यार्थीले आफ्नो पाठ्यक्रम छान्छन्। आफ्नो रूचिअनुसार मन परेका विषय र भाषा पढ्ने छुट सबै विद्यार्थीलाई हुन्छ। मेरा कोही साथीहरू वुड कार्भिङ (काठमा बुट्टा भर्ने) गर्दै भेटिन्छन्। कोही व्यापार सम्बन्धी पढाई गरिराखेका हुन्छन्। कोही फ्याक्ट्रीका काम सिक्दै भेटिन्छन्।
अझ रोचक कुरा त के भने पाठ्यक्रमका विषयवस्तुमा रूचि नभएका विद्यार्थीले स्कुलमै आफ्नो रूचि अनुसार काम सिकेर त्यही काम गर्छन्। कोही फ्याक्ट्रिको काम गर्छन्, कोही स्कुलकै लागि चाहिने बेन्च र कुर्सी बनाउन सिक्छन्। यसको बापत विद्यालयले उनीहरूलाई काम अनुरूप तलब पनि दिन्छ।
फराकिलो शैक्षिक व्यवस्था
नेपालका शैक्षिक प्रणालीमा सबै विद्यार्थीबाट समान अंकको अपेक्षा गरिन्छ। बेल्जियमको विद्यालयमा ५ संकाय हुन्छन्। विद्यार्थीले आफ्नो रूचि र इच्छाअनुसार बेजो, काजो, डेजो, एजो, टेजो यी पाँच संकायमध्ये कुनै रोजेर पढ्न सक्छन्। नेपालमा ९ कक्षा नपुगेसम्म एउटै विषय सबैलाई इम्पोज गरिन्छ। तर बेल्जियममा यी संकायमा अलग-अलग विषय, भाषा र सिप सिक्न पाइन्छ।
शिक्षकको पढाउने शैली
बेल्जियममा शिक्षकहरू आफ्नो पढाउने सामग्री पेनड्राइभमा बोकेर आउँछन्। कक्षाकोठामा भएको प्रोजेक्टरको सहायताले पढाउँछन्। हरेक सैद्धान्तिक विषयको हरेक पाठको प्रश्नको उत्तर ब्ल्याकबोर्डमा शिक्षकले लेखाएर घोक्न लगाइँदैन।
सरमिसले हरेक पाठको पढ्ने सामग्री प्रिन्ट गरेर विद्यार्थीको सहायताका लागि दिन्छन्। विद्यार्थीहरू साथीको नोट लिन फोटोकपी पसल अगाडि लाइन बस्न पर्दैन। मोबाइल र ल्यापटप आफूले चाहेको खण्डमा लगेर पढ्नका लागि प्रयोग गर्न विद्यार्थीमा छुट छ।
मेरो एकजना साथीलाई ढाड दुख्ने समस्या छ। ऊ सबै किताब-कापीको भारको साटो ल्यापटपबाट पाठ डाउनलोड गरेर पढ्छ। नेपालको शैक्षिक क्षेत्र पनि प्रविधिमा आधारित हुनुपर्छ।
रचनात्मक सजाय
नेपालका स्कुलमा म जस्ता विद्यार्थीलाई होमवर्क गर्न बिर्सिँदा, कक्षामा साथीभाइसँग बोल्दा वा शिक्षकशिक्षिकाले सोधेको कुरा भन्न नसक्दा कान तान्ने, कन्सिरीको रौँ उखेल्ने, डस्टरले हत्केलामा हान्ने वा सिर्कना लगाउने सजाय दिइन्छ। केही समयअघि मात्र रोल्पाको विद्यालयको एक शिक्षिकाले प्राथनामा नआएको भन्दै कुर्सीको खुट्टाले प्रहार गर्दा १४ विद्यार्थी घाइते भएका थिए। पाँच जना छात्राको भने हात भाँच्चिएको थियो।
पहिले वडाअध्यक्षको मध्यस्थतामा मिलापत्र भएको थियो। घटना सार्वजनिक भएपछि प्रहरीले शिक्षिका विरूद्ध मुद्धा दर्ता गरेको थियो। विद्यार्थीलाई भौतिक सजाय दिएमा स्कुल नै त्यस्तो घटनालाई सामसुम पार्न खोज्छ। स्कुललाई दोस्रो घर त भनिन्छ तर सधैं सजायको डर हुने ठाउँलाई घर भनेर कसरी पत्याउनु?
बेल्जियमका स्कुलमा विद्यार्थीले गल्ती विद्यार्थीलाई एउटा हलमा पठाइन्छ जहाँ ऊ पढेर वा आफूलाई मन पर्ने क्रियाकलाप गरेर व्यस्त भएर बस्न सक्छ। कक्षामा फर्केपछि उसलाई त्यो कुराले न कुनै साथीले जिस्क्याउँछ न कुनै शिक्षकले नै बदमास विद्यार्थीको लेबल लगाउँछ।
परामर्शकर्ताको व्यवस्था
नेपालका विद्यालयमा विद्यार्थीलाई केही समस्या पर्दा परामर्श दिने कोही हुँदैनन्। चाहे ती विद्यार्थीका पढाइ, सिकाइ सम्बन्धी समस्या हुन् वा परिवारबाट आइपरेर बालबालिका गुम्सिएको अवस्था होस्। बेल्जियमका स्कुलमा भएका परामर्शकर्ता र बाल मनोवैज्ञानिकले विद्यार्थीको शैक्षिक समस्या होस् वा पारिवारिक अभिभावकलाई विद्यालयमै बोलाएर सहजीकरण गरिदिन्छन्।
मैले नेपालको विद्यालयमा पढ्दा कुनै समस्या हुँदा सहयोग माग्ने कोही विश्वासिलो मानिस भेटिनँ।
कपालको र फ्रकको लम्बाइभन्दा फराकिलो अनुशासन
स्कुलमा केटाहरूलाई लामो कपाल र केटीहरूलाई छोटो फ्रकको आधारमा अनुशासित छैन भनेर मान्छन्। बेल्जियममा युनिफर्म अनिवार्य हुँदैन। कपाल लामो भयो भनेर टाटेपाङ्ग्रे मुढिदिने वा सबैको अगाडि बेइज्जत गरेर बच्चा अनुशासित हुन्छ बन्ने मानसिकताबाट त्यहाँको शिक्षालय टाढै छन्।
अनुशासनको परिभाषा निकै फराकिलो छ त्यहाँ। बेल्जियममा स्कुले विद्यार्थीहरू निकै रमाएर स्कुल जान्छन्। बेल्जियम पहिलो नवौँ राष्ट्र हो जहाँका बालबालिका विश्वकै खुसी बालबालिका हुन्। यसो हुनुमा त्यहाँको दोस्रो घर अर्थात् विद्यालय र शैक्षिक प्रणालीले धेरै ठूलो भूमिका खेलेको छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)