बेलायतको राजधानी लन्डनमा हस्पिटालिटी तथा ट्राभल क्षेत्रका उद्यमीमाझ आयोजित एउटा कार्यक्रममा विदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न आव्हान गरिएको छ।
ज्याक्ब्स मिडिया ग्रुपले आयोजना गरेको उत्कृष्ट उद्यमी अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपालको पर्यटकीय विशेषताको चिनारी दिँदै भ्रमण गर्न तथा गराउन आव्हान गरेका हुन्।
विदेशी मिडिया तथा ट्राभल क्षेत्रका उद्यमी तथा संचालकको सहभागितामा सोमबार लन्डनको डोचेस्टर होटेलमा आयोजित समारोहमा बोल्दै पर्यटन बोर्डका सीईओ जोशीले प्राकृतिक सुन्दरताले भरिपूर्ण देश नेपाल विदेशी पर्यटकहरुलाई स्वागत गर्न हात फैलाएर बसेको बताए।
नेपालको भौगोलिक विविधता र प्राकृतिक सुन्दरता संसारमै पृथक र अद्वितीय रहेको भन्दै पर्वतारोहण, ट्रेकिङ, र्याफ्टिङ, साइकलिङ, बन्यजन्तु अवलोकन, लगायतका अनेकन पर्यटकीय विशेषता बोकेको नेपालको भ्रमण पर्यटकका लागि अविस्मरणीय बन्न सक्ने बताए।
पर्यटकको सम्पूर्ण अनुभूतिका लागि नेपाल उपयुक्त गन्तब्य रहेको भन्दै सीईओ जोशीले भने, ‘हो, तपाईँको जीवन अनुभूत गर्नको लागि नेपाल भ्रमण गर्नुहोस्।’
स्थापित होटेल, एयरलाईन, ट्राभल कम्पनीलगायतका हस्पिटालिटी क्षेत्रका सयौं सञ्चालकले भरिभराउ हलका सहभागीले जोशीको नेपाल चर्चा ध्यानमग्न भएर सुनेका थिए।
सम्बोधनकै क्रममा जोशीले नेपाल अध्यात्मिक आनन्दको देश भएको सन्दर्भमा भगवान बुद्धको जन्मदिनसमेत परेको उल्लेख गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए।
मन्तब्यकै क्रममा सीईओ जोशीले २०० सय वर्ष पुरानो नेपाल बेलायत सम्बन्धको सन्दर्भ जोडदै बेलायतका राजकुमार प्रिन्स ह्यारीले भूकम्पपछिको नेपाल भ्रमण लम्ब्याएको प्रसंग समेत स्मरण गराए। साथै उनले भूकम्प पश्चात नेपाल भ्रमणको लागि पूर्ण सुरक्षित रहेको समेत उल्लेख गरे।
समुद्र सतहको ६० मिटर देखि सगरमाथाको उचाईसम्म नेपाल अनुभूत गर्ने अवसर नेपालमा मात्रै मिल्न सक्ने भन्दै नेपालको विकासमा पर्यटन मार्फत टेवा पुर्याउन भ्रमणकर्ता हरूलाई एकपटक नेपाल पुग्न अपिल गरे।
कार्यक्रममा ज्याकब्स मिडिया ग्रुप अन्तर्गतका ‘द केटररू र ट्राभेल वीक्ली’ म्यागेजिनले प्रस्तुत गरेको बिजिनेस अचिभमेन्ट अवार्ड, सस्टेनेबल बिजिनेस अवार्ड लगायतका बिभिन्न क्याटेगोरीमा छानिएका फाइनलिस्टबाट अवार्ड बिजेताहरु घोषणा गर्दै पुरस्कृत गरिएको थियो।
कार्यक्रममा नेपाली दूतावास लन्डनका डेपुटी चिफ अफ मिसन शरद राज आरण, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, पर्यटन बोर्डका डेनमार्क प्रतिनिधि सोम सापकोटा, बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठलगायत बेलायतमा कृयाशील नेपाली पत्रकारहरुको समेत उपस्थिती थियो।
कार्यक्रम पश्चात सेतोपाटीसँग कुरा गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख जोशीले नेपालमा पर्यटक संख्या अभिवृद्धि गर्न यस्ता खाले प्ल्याटफर्म अत्यन्तै उपयोगी हुने बताए। ‘नेपालमा पर्यटन मार्फत देश विकास र आर्थिक सम्वृद्दीमा योगदान पुर्याउन सम्भावित पर्यटकहरु पहिचान गर्दै परिणाममुखी र लक्षित कार्यक्रम बढाउदै जाने योजना रहेको छु,’ जोशीले भने।
साथै उनले अर्को दिन डोचेस्टर होटेलको सोही स्थानमा तय भएको ब्रिटिश ट्राभल एजेन्टहरुसँगको मिटिङमा नेपाल सम्बन्धी भिडियो क्लिपसमेत देखाईने बताए ।