मेरो गाउँबाट अलि टाढा पढ्न जादा साल्घारी गाउँमा कहिलेकाहीँ रमाईलो गरिन्थ्यो।
कहिले चिउरी टिपेर खाने, कहिले काँडैकाँडाबीच फलेको बयर खाने त कहिले अमला टिपेर खाने गरिन्थ्यो।
भदौमा स्कुल मध्यान्तरको ४५ मिनेट छुट्टिमा बेलौती खान जानेदेखि रूख कटहर किनेर खाने अनि औचुर (आँप) खाने हाम्रो सेन्टर नै त्यही साल्घारी हुन्थ्यो।
सोम परियार, सालिक बिक, खड्कबहादुर खड्का, माधव बिक, रितेस पौड्याल, भेषराज रेग्मीलगायत हामी सधैं साल्घारी जान्थ्यौं।
साल्घारीमा हाम्रा साथी बल बहादुर कार्की थिए। उमेरमा हामी भन्दा २-३ वर्ष कान्छा। बाबु आमा नभए पनि १०-११ वर्षको उमेर देखिनै अत्यन्त मेहनती थिए। उनलाई हामी सबैले ‘बलु’ भनेर बोलाउँथ्यौं।
सानैबाट मेहनती उनकी आमा क्षयरोगले बितेकी थिइन्। भारत पसेका बाबुको अत्तोपत्तो थिएन। हजुरआमासँगै बसेको बलु साल्घारी कै नमूना थिए।
गाउँमा कसैले उदाहरण दिनुपर्दा ‘हेर त बलु कस्तो छ, बलु जस्तो हुन सिक’ भनेर गाली गर्थे। अनि ‘हुने विरूवाको चिल्लो पात भनेको त बलु हो’ भनेर पधेँरामा कुरा हुन्थ्ये।
गाउँलेले भनेजस्तै बलु सानैदेखि मेहनती थियो, पढाईमा पनि उस्तै अब्बल।
स्कुलमा कसैले आफ्नो भविश्यको बारेमा भन भन्दा बलु सधैं भन्ने गर्दथ्यो, ‘म कहिल्यै विदेश जान्नँ, भोलिको दिनमा गाउँ घरमैं बसेर केही गर्नेछु।’
पढाईँ सँगै उनी घर व्यवहाका कुरामा निपूण थिए। स्याखु, डोका, नाम्लो, दाम्लो बनेर गाउँमा बेच्ने गर्थे। कहिले काहीँ २०-३० रूपयाँ सापटी चाहियो भने त्यो बेला हामीलाई यिनै बलुले दिन्थे।
चैते दसैं मेलामा बाग्लुङ जान होस् या सतबीज छर्न गलेश्वरधाम जाँदा। जहाँ गए पनि यदि १००-५० को खाँचो हुँदा उनैले हामीलाई सापटी दिन्थे।
एसएलसी दिएपछि हामी गाउँबाट सहर पस्यौं। बलुसँगको भेट पातलियो। दसैं तिहारमा गाउँ जाँदा बलुसँग भेट हुन्थ्यो। बलु गाउँमै कहिले धान कुट्ने मिल खोलेर गाउलेलाई सेवा दिएको हुन्थ्यो भने कहिले राँगो, बोका पालेर आम्दानीसँगै सेवा दिँदै आएको थियो।
समयसँगै हामी र बलु क्रमशः टाढियौं। बोलचाल अलि कम हुन थाल्यो, देखभेट झनै कम भयो।
बलुले एसएलसी पछि पढाई टुङ्ग्याएर गाउँमै केही गर्ने अठोट लिए।
२०६२/६३ को आन्दोलसँगै बलुलाई पनि भेट्दा सवै विदेस गएपछि गाउँ रित्तिएको भन्दै देशमै सबैथोक भएको बताउँथे। कसैले विदेश जानू भन्दा ‘आफू कहिल्यै विदेश नजाने, गाउँघरमै केही गर्ने’ भन्थे।
हामी आफूले केही गर्न नसके पनि बलुको मेहनत आत्मविश्वास र गाउँघरको माया देख्दा साच्चै उनीप्रति खुसी थियौं। हामी भुगोल छोडेसँगै बलुसँगको निकटता पनि दूर हुँदै गयो। बालापन र स्कुले जीवनको यादमा सबैभन्दा पहिला तिनै बलुको याद आउँथ्यो।
केही दिन अगाडि फेसबुकमा म्यासेज आयो। जसले मलाई मेरो न्वारानको नामले बोलायो। प्रोफाइल चेक गरेँ। कुनै फोटो थिएन। फेसवुक खोलेको पनि ३-४ दिन जति मात्र भएको रहेछ। मेरो न्वारानमै राखेको नाम सम्बोधन गरेर बोलाउँदा पक्कै चिनेको हुनुपर्छ भन्ने सोचेर म्यासेज फर्काएँ।
‘हेल्लो, को हो तपाईँ?
उनले भने, ‘म साल्घारीको बलु हो के, छोरीले खोलिदिएकी फेसबुक अनी खोजेर तिमीलाई म्यासेज पठाएको।’
हालखबर कुराकानी भयो। ३ बच्चा भइसकेको रहेछन्। बिहे चाडै गरेका उनले जेठी छोरी पनि १४ वर्षकी भएकी बताए। अरू २ छोरी ९ र सात वर्षका भएछन्।
लामो समयपछि बलुसँग कुरा गर्दा गाउँघरका ती पुराना दिनको यादहरू ताजा भए।
जहिल्यै विदेश जानेलाई गाली गर्ने बलुले आज पहिलो पल्ट फोनमा भन्यो, ‘बेलैमा विदेस गएर तिमीहरूले वुद्धि पुर्यायौं। अब म पनि विदेश जानुपर्यो।’
अचम्म पर्दै सोधेँ, ‘हैन बलु भाइ तिम्रो त नेपाल मै राम्रो छ हैन र? पहिला मिल थियो, राँगो र बोका पालेका थियौ। गाई भैसी पालेको छौ, खेती किसानी गरेकै छौ तिमीलाई गाउँमै ठिक छ त, किन हो र यस्तो कुरा गरेको? कि हामीलाई गिज्याएको हो?’
उनले लामो सास तान्दै आफू विदेश आउनुपर्ने बाध्यता सुनाए।
म ३७ वर्षको भएँ। गाउँमै केही गर्छु भनेर कहिल्यै विदेश नजाने प्रण गरेँ। गाउँमा मर्दापर्दा कोही विरामी हुँदा म सधै एक कदम अगाडि हुन्थेँ र छु पनि तर अहिले गाउँघर र देशमै केही गर्छु भन्नेलाई कसैले सहयोग गर्दैनन्।
पार्टीको झण्डा र नेताको पछि नलागेसम्म केही हुने रहेनछ। केही पहिला गाउँमा हाते ट्याक्टर सरकारले अनुदान दिने कुरा आयो। त्यो मैले पाईनँ किनकि, म कहिल्यै पनि कसैको पक्षमा नाराबाजी गर्दै झन्डा लिँदै हिडिनँ।
यो भन्दा पहिलाको गाउँपालिका अध्यक्ष अर्कै पार्टीका थिए। उनले आफ्नो पार्टीको कार्यकर्तालाई तरकारीको टनेल, भकारो सुधार, पानी ट्यांकी जस्ता विभिन्न शीर्षकमा बजेट अनुदान दिए। अहिले अर्को पार्टीका अध्यक्ष भएका छन् उनले पनि जो-जो आफ्नो चुनावको बेला अघिपछि गरे तिनीहरूलाई नै कृषि अनुदान दिए।
हामी जस्तो वास्तविक कृषकलाई कसैले न अनुदान दिन्छ, न बेलामा पैसा तिरेरै भए पनि मल विउ पाईन्छ? यहाँ गाह्रो छ, साथी।
उनले अगाडि थप्दै गए- मैले गाउँमा कुटानी पिसानी मिल किनेर ल्याएँ। तर अर्कोले अनुदानमा ल्याएर मेरो नजिकै राख्यो। पाथीमा २-४ पैसा सस्तो गर्यो, मेरोमा आउने सबै ग्राहक उतै लागे। केही सिप नलागेर २० हजार घाटा खाएर मिल बेचेँ। मैले बेचेपछि उसले भाउ बढायो।
मैले राँगो पाल्दा यो गाउँ, वल्लो पल्लो तीन गाउँमै राँगो थिएन। सबैको घरघरमा भैसी थिए। एक वर्ष जति राँगोले राम्रै फाईदा दियो। अर्को वर्ष कृषि अनुदानमा गाउँकै खगेले राँगो ल्याइदिए, अब झन गाह्रो छ।
गजे सुब्बा भएको छ। सुब्बा भएको ३ वर्षमै करोडौंको घर घडेरी जोडिसक्यो। कसरी कमायो थाहा छैन। उसलाई कसैले छुन सक्दैन। गाउँ आउँदा सबैले उसको जयजयकार गर्छन्। गाउँ र गाउलेको हरेक दुःख र समस्यामा सधै अगाडि हुने मेरो कसैले वास्ता गर्दैनन्। यहाँ तिरस्कार गर्छन्, हरेक कुरामा विभेद छ साथी गाउँमा।
मकै छरियो मल नपाएर मकै त्यति राम्रो फलेन। अहिले खोलामा पानी छ तर कुलो भत्किएको छ। साउन सुरू भइसक्यो खडेरी परेको छ कुलो बनाउने गाउँले कोही छैनन्। सबैका छोराछोरी कि, विदेश छन् कि त सरकारी जागिरे।
म गाउँमै खेती किसानी गर्ने यहीबाट परिवार पाल्नेलाई राजनीतीक सभा समारोहमा जाने समय हुन्न। अनि पालिकाका पदाधिकारीले यो त हाम्रो पार्टीको होईन सरकारी अनुदान दिनुहुन्न भनि नाम छुटाउँछन्।
बेमौसमी खेती गरेँ। जेठमा ठूलो असिना पानी पर्यो। काक्रा, करेला र टमाटर सबै सोत्तर पार्यो। म कुनै पार्टीको कार्यकर्ता थिएँ भने सायद कृषि अनुदान पाउँथे होला। तर मेरो बारेमा कसैले बोलिदिएन, मैले बोलेको नेताले सुन्ने कुरै भएन।
सबै गाउँलेले आफ्ना बच्चालाई बोर्डिङ हालेको छन्। मेरा छोरीहरू सरकारी स्कुलमा छन्। सरकारी स्कुलमा पनि राजनीतिक खिचातानीले पढाईको स्तर खस्किएको छ। के गर्नु आफ्नै बाध्यता छ, बोर्डिङ हाल्ने कमाई छैन। महंगीले आकाश छोएको छ, अब म जसरी हुन्छ विदेस आउनुपर्यो। म पनि पोर्चुगल आउनुपर्यो। साथी।
उनले आफ्ना सबै कुरा राखे।
मैले कुरा राख्न नपाउँदै बलुसँगको संवाद टुट्यो। म उनका धेरै कुरामा सहमत भएँ। मैले विगत सम्झिएँ। गाउँमा हुने विरूवाको चिल्लो पात भनेर बलुलाई सबैले भन्थे। गाउँमा म जस्ता धेरैलाई स्कुले जीवनमा बलुले सहयोग गरेको छ।
आज समय सँगै बदलिएको समाजले नेताको कार्यकर्ता नहुनू र इमान्दारितानै बलुको लागि अभिसाप बनेको छ। इमान्दार हुनु, कसैको झोले कार्यकर्ता नभई मेहनत र परिश्रमी हुनुनै वालुको ठूलो कमजोरी देखेँ।
मनमनै सोचेँ, ‘कस्तो उल्टो देश छ मेरो जहाँ इमान्दारिता, परिश्रम र मेहनतीलाई सधै उपेक्षा गरिन्छ। तर दलीय नेताको अगाडि-पछाडि हिँड्ने कार्यकर्तालाई मालामाल छन्। भ्रष्ट कर्मचारी र कालोबजारी गर्ने व्यापारीलाई मुलुक ऊर्वर भूमी छ तर कृषक अनि कुटीर उद्योग चलाउनेको लागि साच्चै देशमा अफ्ठेरो छ।
यहीँ सोच्दै थिएँ फेरि बलुको फोन आयो।
‘बलु तिम्रो उमेर पनि अब ३७-३८ भइसक्यो पोर्चुगल नै किन आउने? यहाँ आएर कमाईभन्दा दुःख बढी छ। अनि सोचेजस्तो छैन। यहाँ संघर्ष अति छ बरू अन्य देशतिर जाने कोशिस गर्दा राम्रो होला कि, या तिमी जस्तो मेहनतीले यति चाँडै हरेस नखाई अझै गाउँमा केही गर्न सकिन्छ कि,’ मैले प्रति प्रश्न गरेँ।
उनले जवाफ दिए, ‘मेरा ३-३ जना बालबच्चा छन्। म अब दुवई, कतार, मलेसिया गएर काम गरि केही वर्ष त कमाउँला। तर फर्केर आएपछि झन मैले के गर्ने? तर पोर्चुगल गएर २-४ वर्ष संघर्ष गर्यो भने परिवारलाई उतै लैजान मिल्छ रे, अनि त्यता शिक्षा र स्वास्थ पनि निःशुल्क छ रे। मैले २-४ वर्ष दुःख गरेर छोरीलाई ठाउँमा पुर्याइदिन पाए कमसेकम उनीहरूले पछि आफूले चाहेको पढ्ने थिए। बिरामी हुँदा उपचार पाउँथे होलान्। पासपोर्ट पाएपछि अन्त जालान्।’ उनले जे होस् पोर्चुगलका बारे केही ऊनले बुझेको रहेछन्।
मैले पोर्चुगलका विषयमा यति धेरै कसरी थाहा पायौं भनेर सोधेँ।
उनले आफ्ना ससुराली खलकका केही पोर्चुगल आएर परिवार पनि लगेका र त्यहाँबाट नर्वे काम गर्न गएको भन्दै सबै कुरा उनीहरूबाट थाहा पाएको बताए।
उनले अगाडि भने, ‘म विदेश जानेलाई हुतियारा सम्झन्थेँ। गाउँको खेतबारी बाँझो राखेर भाडा माझ्न जान्छौं? भनि प्रश्न गर्थे, पछि छोरीको बिहे पनि विदेश गएको केटालाई दिन्न भन्थेँ। तर यो मेरो सोचाई गलत सावित भयो। आफ्नै कसम आफैं तोड्न बाध्य छु।
देशमा वास्तविक जनतालाई न रोजगारीको अवसर छ। न त अरू कुनै सुविधा नै। रोजगारी र अवसरको लागि नेताको पछि लाग्नुपर्दा आफ्ना छोराछोरी कसले पाल्दिन्छ?
‘अब म हारेँ साथी, अनि मैले पासपोर्ट बनाएँ’, उसले मलिन स्वरमा भन्यो।
‘हिजो स्कुले दिनमा तिमीहरूलाई भोकाएको बेला अम्बा दिएर होस् या बयर र चिउरी खुवाएर तिमीहरूसँग मित्रता गाँसेको थिएँ। हिजो तिमीहरू म जस्तो बन्न चाहन्थ्यौं, तिमीहरू म जस्तो बनेनौं। जे गर्यौं, ठिक गर्यौं। अब मलाई तिमीहरू जस्तै नबनाए पनि त्यो ठाउँमा पुर्याउँ। म पैसा माग्दिनँ, त्यहाँसम्म पुग्ने बाटो देखाइदेऊ।’
उसले अगाडि भन्यो, ‘मलाई तिमीहरूलेनै लैजानुपर्दैन विश्वासिलो र भरपर्दो बाटो भनिदेऊ म त्यहीँबाट आउँछु। श्रम र घामपानीसँग नजिकको सम्वन्ध बनाएको छु, जस्तै संघर्ष गर्नुपरे पनि गर्नेछु। मलाई विदेश बोलाऊ साथी’
बलुले आफ्ना कुरा सरसर्ती राखे।
उनलाई मेलै सकेको सहयोग गर्ने बाचा गरेँ।
उनीसँग कुरा टुंग्याएँ, तर उनको कुरा मनभरि खेलिरह्यो।
टिकटक तथा भिडीओमा कहिले सेतै कपाल फुलेका ५० कटेकोहरू एयरर्पोटमा रोजगारको लागि हिँडेका, कोही खाली खुट्टानै देश छोडेर विदेश हिँडेको, कसैको ७० वर्ष कटेका बाबुले आफ्नो छोरा छोरीलाई एयरपोर्ट छोड्न आएका दुधे बच्चा घरै छोडेर परदेसिने आमाको भिडीओ देखिन्थ्यो।
यी पक्कै पनि रहरले विदेसिएका होईनन्। यीनको पनि बाध्यता नै होला। बलुको जस्तो भोगाई अहिले नेपालका करिब ८० प्रतिशत जनताले भोगेका छन्।
जो इमान्दार छन्। जो लप्पन छप्पन जान्दैनन्, नेताको चाकडी गर्दैनन्, भनसुन र सोर्सफोर्स लगाउन चाहँदैनन् भने उनीहरू सबैको भोगाई र बाध्यता बलुकै जस्तै हुन्छ।
जबसम्म देशमा भ्रष्टाचार अनि दलीय कार्यकर्ता पोस्न बन्द गरिँदैन तबसम्म धेरै बलुहरू यस्तै पीडामा रूमल्लिनेछन्। अनी गाउँमै केही गर्छु भन्ने वालुहरू जीवनको उत्तरार्धमा विदेश जान बाध्य हुन्छन्।