विश्वव्यापी कोरोना महामारीले संसार आक्रान्त परेको अवस्थामा पोर्चुगल पनि अछुतो रहेन। कोरोनाका कारण यहाँ दसौं हजारले रोजगारी गुमाए। त्यसको प्रत्यक्ष मार नेपालीसहितका आप्रवासीलाई पर्यो।
अन्य युरोपियन मुलुकको तुलनामा कमाई कम र बढी खर्च हुने पोर्चुगलमा सेन्ट-सेन्ट पैसाको महत्व छ।
विभिन्न दुःख पीडा र अभावसँग लड्दै ६/७ वर्षको संघर्ष पछि मात्र पाइने रातो पासपोर्ट र त्यही पासपोर्ट बोकेर अरू युरोपीयन मुलुकहरू, अमेरिका र क्यानडामा गएर कमाउने झिनो आमामा पोर्चुगल पुगेका ९५ प्रतिशत नेपालीहरू कागजपत्र बनाउनकै लागि पैसाको जोहो गर्छन्।
कडा मेहनत गरेर पैसा कमाउने अनि २-४ वर्षपछि घर गएर परिवारसँग रमाउने हरेकको चाहना हुन्छ।
यस्तै रहर लिएका थिए लमजुङ वेसीहरका सानु तामाङले।
पोर्चुगल आएको ६ वर्षमा पहिलो पटक नेपाल जान लागेका उनले नेपाल जाने टिकट खरिद गरे।
पोर्चुगलमा एनआरएन कोषाध्यक्षसमेत रहेका व्यवसायी विक्रमजंग कुँवरले सञ्चाल गरेको लक्ष्मी ट्राभल्सबाट उनले ८७ हजार नेपाली रूपया बुझाएर अप्रिल ५ को टिकट काटे। टिकट काट्न गएकै बेला उनले उनकै लक्ष्मी ट्राभल्स एन्ड रेमीट्यान्सबाट ९५ हजार रूपैयाँ नेपाल पठाए।
यस्तै सोलुखुम्बुकी एक जना गर्भवती महिलाले पनि लिजवनबाट नेपाल जानका लागि १५ दिन अगाडि नै ८५ हजार तिरेर टिकट खरिद गरेकी थिइन्।
उनीहरूसँगै थप १५ जना नेपालीले यही ट्राभल्सबाट अप्रिल ५ तारिकमा नेपाल जाने टर्कीस् एअरको टिकट काटेका थिए। उनीहरूले आफूसँग बचेको पैसा पनि त्यही ट्राभल्सबाट नेपाल पठाएका थिए।
तर हातमा टिकट बोकेर बोर्डीङ पासको लागी विमानस्थल काउन्टरमा पुगेपछि बल्ल उनीहरूले आफू ठगिएको थाहा पाएँ। काउन्टरले उनीहरू सबैका टिकट नक्कली भएको बतायो।
यति मात्र होइन, उनीहरूले पठाएको पैसा निकाल्न गएका आफन्तहरू पनि हिस्स परे। उनीहरूलाई रेमिट्यान्सको कोड पनि नक्कली दिएको रहेछ।
उनीहरू ठगिएपछि सिधै विमानस्थलबाट ट्राभल्समा आउँदा त्यहाँका सञ्चालक फरार भइसकेका थिए। लगत्तै पीडितले लिजवनस्थित सेतोपाटी प्रतिनिधिलाई घटनाबारे खबर गरे।
सेतोपाटी प्रतिनिधि त्यहाँ पुग्दा ट्राभल्स सञ्चालक फरार थिए। ठगिनेहरू आउने क्रम जारी थियो।
पोर्चुगलको खेतीमा रात-दिन, घाम पानी र भोकतिर्खा केही नभनी काम गरेर केही रकम जम्मा गरि स्वदेश फर्कन लाग्दा ठगिएका दाजुभाइ दिदीबहिनीको पीडा विक्षिप्त थियो।
केही समयपछि अप्रिल ६ का लागि टिकट काटेको पनि त्यहाँ आइपुगे। उनीहरू आजै बिहान टिकट बोकेर एअरपोर्ट गएका उनीहरू नक्कली टिकट भएकाले फर्कन बाध्य भए।
यो क्रम अझै केही समयसम्म जारी रहने निश्चित छ। किनकि, यो ट्राभल्सले धेरै फर्जी टिकट बिक्री गरेर करोडौं रकम असुलीसकेको छ।
कसरी ठगिन्छन् नेपाली?
लक्ष्मी ट्राभल्सका सञ्चालकले ठग्ने तरिका अचम्मको रहेछ। उनको आफ्ना सर्कलका केही साथीभाइलाई फेसबुक पेजमार्फत राम्रोराम्रो कमेन्ट गर्न लगाउँछन्।
लिजवनका केही नेपाली पत्रकारलाई हातमा लिएर आफ्ना राम्रा राम्रा समाचार प्रकाशन गर्न लगाउँछन्।
यहाँका पत्रकारले पनि सत्यको पछि नलागेर ‘चाकडी’का आधारमा उनका प्रशंसाका समाचार लेखिदिन्छन्। अनी लक्ष्मी ट्राभल्सले अरूभन्दा २०/२५ युरो सस्तोमा टिकट र अरू भन्दा १/२ रूपया बढी रेटमा रेमीट्यीन्य सेवा दिएको समचार प्रकाशन गर्छन्। फेसबुकमा सेयर गर्छन्।
यो समाचार देखेपछि खेतीबारीमा काम गर्ने लिजवनभन्दा टाढाका नेपालीहरू सहजै फस्छन्। फेसबुक पेज र समाचारमै आएपछि विश्वास गर्न बाध्य हुन्छन्। अनि नेपाल जाने टिकट पनि सस्तो छ र पैसा पठाउँदा पनि केही रूपैयाँ बढी पाइन्छ भने अन्त किन जान्थे र।
यही भ्रमले नेपालीहरू लक्ष्मी ट्राभल्समा जाने गर्छन् अन्ततः उनीहरू नराम्रोसँग ठगिन्छन्।
लक्ष्मी ट्राभल्सको ठगी शृंङ्खला
लक्ष्मी ट्राभल्सको ठगी धन्दा यो पहिलो पटक होइन। नेपालबाट पोर्चुगल मान्छे ल्याउने भन्दै ठगी गरेका सञ्चालक विक्रमको ठगी शृंखला लामो छ।
१ वर्ष अगाडि आफ्नो सुत्केरी श्रीमती र बच्चाका लागि खर्च पठाएका काभ्रेका एक नेपालीका परिवारले ३ महिनासम्म पनि आफ्नो पैसा पाएनन्। यस्तै पर्वतका अर्का नेपालीले यही रेमिट्यान्सबाट पठाएको पैसा कयौ महिना बितिसक्दा पनि पाएनन्। अन्तिममा मिडीयामा जान्छु भनेपछि बल्ल केही दिन अगाडि यहीँ फिर्ता दिए।
पछिल्लो समय मात्र उनले फर्जी टिकट र फर्जी रेमीट्यान्सबाट करोडभन्दा बढी ठगेर सञ्चालक फरार छन्।
उनीसँग सेवा लिन आउने सोझा साझालाई सहजै ठग्ने उनी अलिक टाठाबाठालाई राम्रै सेवा दिन्थे। आफू ठगिएकोबारे कसैले कहिँ गुनासो गरे उल्टै धम्क्याउने र उस्तै परे पिट्नसमेत पछि पर्दैन थिए।
को हुन् विक्रम जंग कुँवर
नेपालको बुटवल घर भएका विक्रमजंग कुँवर पोर्चुगलमा विवादित व्यक्ति हुन्। उनी पोर्चुगल आउनासाथ विवादित बनेका थिए।
सुरूमै उनले एकजना नेपालीलाई बारमा लगेर सांघातिक आक्रमण गरे। आक्रमणमा परेका ती नेपाली युवा टाउकोमा गहिरो चोट लागेको अवस्थामा बार बाहिरको झाडीमा फेला परेका थिए।
सांघातिक आक्रमण गरे पनि उनलाई अनुसन्धान र प्रहरीबाट बचाइयो। यसपछि उनलाई थप अपराधिक र ठगीका काम गर्न हौसला बढ्यो।
पोर्चुगलमा नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति नजिक भएका विक्रमजंग कुँवरलाई जनसम्पर्क समिति पोर्चुगलले जबरजस्ती एनआरएनको कोषाध्यक्ष बनायो।
एनआरएनको कार्यसमितिमा पुगेपछि उनले थप सोझा साझा नेपालीमाथि आक्रमणका श्रृंखला बढाए। उनको चौतर्फी विरोध हुँदा पनि उनीमाथि एनआरएन पोर्चुगलले कुनै कारबाही गर्न सकेन। न त केन्द्रीय एनआरएनले नै कारबाही गर्ने हिम्मत गर्यो।
पटकपटक उनका अपराधिक क्रियाकलापबारे केन्द्र र एनआरएन अध्यक्षलाई जानकारी गराउँदासमेत उनीमाथि कारबाहीको कुनै काम भएन उल्टै उनलाई संरक्षण गरियो।
उनका जस्तासुकै क्रियाकलाप पनि सम्बन्धित निकायले आँखा चिम्लिदिँदा र कारबाहीको सट्टा संरक्षण पाउने भएकाले उनले सयौं नेपालीलाई एकै पटक ठग्ने आँट गरे।
के भन्छन् पोर्चुगलका नेपाली अगुवाहरू
यो ठगिकाण्डमा वाणिज्य दूतावास पोर्चुगलको गम्भीर ध्यानाकर्षण भएको अवैतनिक महावाणिज्यदूत मकर हमालले सेतोपाटीलाई जानकारी दिए।
यस्तै एनआरएन पूर्व अध्यक्ष भीम कमल केसीले दोषिमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताए।
त्यस्तै एनआरएन उपाध्यक्ष अशोक गुरूङले यस्ता ठगहरूलाई आफूले पटक पटक कारबाही गरौं भन्दा एनआरएनका पूर्व अध्यक्ष, पोर्चुगल अभियन्ता र केन्द्रीय एनआरएनले नै संरक्षण गरेकाले आजको अवस्था आएको बताए। उनले यति धेरैलाई ठगी गरेर बिचल्ली पारेको हुँदा यसको नैतिक जिम्मेवारी एनआरएन पोर्चुगल, एनआरएन केन्द्र र पोर्चुगलका अगुवाले लिनुपर्ने बताए।
त्यस्तै तनहुँ सेवा समाज पोर्चुगलकी अध्यक्ष विनु बस्नेतले पीडितलाई न्याय र उचित क्षतिपूर्ती दिलाउनुपर्ने माग गरिन्। उनले आगामी दिनमा यस्ता किसीमका ठग र अपराधीक क्रियाकलाप मा लागेका नेपालीलाई कुनै पनि संघ संस्थामा राख्न नहुने बताइन्।
त्यस्तै तामाङ समाजका अध्यक्ष मिङ्मार लामाले एनआरएनबाट उसलाई निलम्बन मात्र नभई बर्खास्त गरि उसको जायजेथा बेचेर भए पनि पीडितलाई क्षतिपूर्ती दिनुपर्ने बताए।
नेपाली ठगको हब बन्दैं पोर्चुगल
लक्ष्मी ट्राभल्स त एक प्रतिनिधि घटना मात्र हो। यहाँ अरू नेपालीले खोलेका ट्राभल्समा पनि नक्कली पिसीआर बनाउनेदेखि विभिन्न देशबाट यहाँ ल्याउँछौं भनि ठगि गर्ने प्रसस्त छन्।
नेपालको परराष्ट्र र सरकारी अफिसको छाप बनाउने, साईप्रस, दुवई, अफगानिस्तान, साउदीमा हुनेलाई यहाँ ल्याउँछौ भनेर ठगि गर्ने प्रसस्तै छन्। तर यहाँ कसैले आवाज आफू ठगिएको बारे आवाज उठाउन सकिरहेको छैन। किनकि आवाज उठाउनेमाथिनै आक्रमण हुन्छ, या फसाइन्छ।
अन्त्यमा,
हिजोको ठगि काण्डले पोर्चुगलमै नेपालीको शिर पुनः एक पटक निहुँरिएको छ। लक्ष्मी ट्राभल्सको ठगिविरूद्ध केही सभ्य पत्रकार र सामाजिक अभियन्ताहरूले पोर्चुगलको प्रहरी प्रसाशन पीडितसमक्ष उभ्याउन सफल भएका छन्।
यद्यपी यहाँको कानुनी प्रकृया झन्झटिलो र लामो छ। त्यसैले पीडितहरू आफ्नो पैसा पाए नेपाल जान तयार रहेको बताउँन थालेका छन्।
यसको लागि उनीहरूले आफ्नो पैसा ठग्ने विक्रम जंग कुँवरलाई कसैले संरक्षण नगरी आफ्नो रकम फिर्ताका लागि पहल गरिदिन सबैमा आग्रह गरेका छन्।