केही वर्ष अगाडि हामी पोर्चुगलबाट नेपाल गएका थियौं। त्यतिबेला जतासुकै राउटेको समाचार आउँथ्यो। ‘राउटेलाई मन्त्रीले भेटे’.., ‘राउटेले ठेकी उपहार दिए...’, ‘राउटेका मुखिया ऐनबहादुर शाही जनताले दुःख पाए भन्दै पैसा र खसी माग्न काठमाडौं आए..’ ‘नेता र मन्त्रीसँग राउटेको भेट भयो...’ ‘मन्त्रीसँग राउटेले फोटो खिचाए..’ लगायत समाचारहरू पढ्दा निकै रमाईलै लाग्यो।
राउटेको जिवनशैली पछिल्लो केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। त्यसपछि मलाई पनि नेपाल गएपछि एक पटक राउटे बस्ती जान मन लाग्यो।
त्यसपछि राउटे बस्ती र राउटेको जीवनशैलीबारे जाने बुझेका मेरा एक नजिकका साथीलाई आफ्नो कुरा राखेँ। सुर्खेतका उनी १० वर्षदेखि यतै पोर्चुगलमा छन्। उनीसँग मैले नेपाल जाँदा राउटे बस्ती भ्रमण गर्नेबारे कुरा राखेँ।
‘दाइ राउटेहरू भेट्न, राउटेको जीवनशैली बुझ्न तपाईँ नेपालनै जानु पर्छ र? यतै पनि भेटिन्छन् नि’, उनले भने।
मलाई अचम्म लाग्यो, अनि एक्कासी मुखबाट फुस्कियो, ‘हैन युरोप तिर पनि राउटे... कसरी, कहाँ’, मैले प्रश्नमाथि प्रश्न गरेँ।
उनले अगाडि थपे, ‘हेर्नुहोस् राउटेहरू जंगल छेउमा बस्छन्। बसाई सराई गर्छन्। छाप्रोमा आस्छन्। गुना, बाँदर, गिठ्ठा भ्याकुर खान्छन्। वन जंगल चहारेर उनीहरु काठका सामाग्री बनाइ बेच्ने गर्छन्। उनीहरूको जीवनयापन यसरी नै चलिरहेको छ। अहिले त झन राउटेलाई सरकारले भत्ता दिन्छ। देश विदेशबाट सहयोग आउँछ। अनि युट्यूवे, टिकटके अनि केही कलाकार पनि बेला बेला गएर सहयोग गर्छन्। राउटेले त्यहाँ माया ममता र स्नेह पाएका छन्।
अर्को कुरा राउटेले जहाँ बस्छौं भनेर निर्णय गरे त्यहाँ उनीहरू निर्धक्क बस्न पाउँछन्। कसैले उनीहरू विरूद्द प्रहरीमा उजुरी गरे पनि साईरन बजाउँदै कहिल्यै प्रहरी आउँदैन। अनि बिहान ४ बजे होस् कि, राति २ बजे होस् उनीहरूले प्रेसर कुकरमा खाना पकाउन् या गुन्द्रुकको बासनादार झोल बनाउन् त्यहाँ उनीहरु स्वतन्त्र छन्। तर ती राउटेभन्दा बढी पीडा, युरोपका हामीजस्ता राउटेलाई छ।’
जब मेरो साथीले यो कुरा भने म माथि झन कौतुहलता जाग्यो। मैले भने, ‘तिमीले भन्न खोजेको के हो?’
उनले भने, ‘दाइ वास्तविक राउटे त हामी पो हौं।’
मैले फेरि सोधे, ‘कसरी?’
अब ती साथीले आफूहरू राउटे भएको यसरी विस्तारमा भने।
‘हेर दाइ जब एसएलसी दिन म सहर आएँ त्यहीँ दिनदेखि आफूलाई राउटे सम्झन्छु। गाउँबाट झोला झाम्टा च्यापेर परीक्षा दिन सदरमुकाम आएँ अर्थात एक किसिमले अस्थाई बसाई सराई सरेँ। सदरमुकामको माहोल र बसाई भिन्न थियो। एसएलसीपछि घर फर्किएँ।
एसएलसी दिएर साथीको लहलहैमा लागेर म सुर्खेतबाट ब्रिज कोर्ष गर्न दाङ गएँ। मलाई त्यहँ फेरि नयाँ ठाउँ, नयाँ परिवेस लाग्यो। यही वर्ष घर छाडेर २ पटक डेरा बसेँ। दाङमा केही समय ब्रिज कोर्ष पढेपछि एसएलसीको रिजल्ट आयो। म प्रथम श्रेणीमा पास भएँछु। खुसी लाग्यो।
आफूलाई पर्यटन क्षेत्रतिर केही लगाव भएकाले प्युठानको एउटा साथीले पोखराको लेकसाईडमा काम र पिएन क्याम्पसमा पढ्न पनि मिल्ने गरि अवसर जुटाईदिए।
म लोक गीतप्रेमी थिएँ। ‘पिएन क्याम्पस, आउ बस मायालु गरौं टाईम पास...’ भन्ने लोक गीत खुब सुन्थे। पिएनमै पढ्न पाउने र लेकसाईडमा काम गर्न पाउने भएपछि मेरो लागि खुसीको सिमानै रहेन।
म अब दाङबाट पोखराको बगरमा कोठा सरेँ। पिएन क्याम्पसमा भर्ना भएँ। अनि लेकसाईडस्थित एक रेष्टुरेन्टमा मासिक २५०० रूपैयामा वेटरको हेल्परबाट काम गर्न सुरू गरेँ। रातिसम्म काम गर्नुपर्ने भएकाले भनेको बेला गाडी नपाइने र डेरा पुग्न अफ्ठ्यारो हुने भएकाले फेरि म लेकसाईडको जरेमा डेरा सरे।
एक वर्षमै म चार पटकसम्म डेरा सरे। बिस्तारै कामसँगै डेरा सर्ने काम पनि २ वर्षमा नौ ठाउँसम्म पुग्यो। १०+२ पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आएँ। ठमेलको एउटा रेष्टुरेन्टमा काम पाएँ,कलेज बागबजारमा थियो।
काठमाडौं आएको ६ महिनामै २ ठाउँमा डेरा सरेँ।
अब विदेस जाने हुटहुटी लाग्यो। कन्सल्टेन्सीले सुझाव दियो, ‘डेनमार्क जानुहोस् त्यहाँ घन्टाको नेपाली २ हजार भन्दा बढी कमाई हुन्छ। दिनमै १२ घन्टा काम गर्यो भने दैनिक २४ हजार कमाइ हुन्छ।’ कन्सल्टेन्सीको कुराले म मख्खै परेँ।
१४ लाख खर्च गरेर डेनमार्कको भिसा अप्लाई गरेँ, भिसा पनि लाग्यो। दैनिक २४ हजार कमाउने भएपछि त ५ महिनमै पैसा तिरिन्छ नि भन्दै सयकडा २ को ब्याजमा ऋण लिएर अप्लाइ गरेको थिएँ।
फेब्रुअरी को पहिलो साता कोपनहेगन उत्रिएँ। सेताम्मे हिउँले कोपनहेगन ढाकिएको थियो। त्यहाँबाट कोल्डिङ निकै टाढा रहेछ। त्यहाँ काम पाउनै मुस्किल रैछ। कोठाभाडा पनि एकदम महङ्गो। क्रोनरमा तिर्नुपर्ने अनि नेपालीमा कन्भर्ट गर्दा त सिरीङ्ग नै हुने रैछ। काम पाईने कोपनहेगनमा अनि पढाईचै कोल्डीङमा थियो।
अब कोल्डीङ आएको १ महिनामै फेरि कोपनहेगन बसाई सरेँ। एक दिन कुकरमा सिटी लगाएर भात पकाएको माथ्लो तलामा बस्नेले प्रहरीलाई खबर गरेछ।
अर्को दिन गुन्द्रक झानेर हरहर बास्नादार बनाएको त वरिपरि बस्नेले के गन्हायो भनेर घरबेटीलाई कम्प्लेन गरेछन्। घरबेटीले अबदेखि यो नपकाउ भनेर एक पटकलाई माफी दिए।
अब डेनमार्कमा कमाई देखिनँ किनकि, एक्लो विद्यार्थीलाई अति गाह्रो रहेछ। पैसा कमाउन नसके पनि पोर्चुगल गएर कार्ड बनाउने सुरमा पोर्चुगल हानिए।
यो वर्ष त ठाउँ मात्र होईन, बसाई सराई पनि तीन-तीन देसमा भयो। नेपाल, डेनमार्क र पोर्चुगल।
अब पोर्चुगलको लिजवनमा २-४ दिन बसेपछि साथीले ओदिमेरा भन्ने ठाउँमा बोलाए। ओदिमेरा पञ्जावीकोमा १०-१२ दिन काम गरेँ। त्यहाँ एउटै कोठामा ६-६ जना सुत्ने। बोली मिठो छ, न कोठा सफा छ। त्यहाँ आत्तिएपछि मलाई एक जना म्याग्देली साथीले सान्तोआन्तोनीयो बोलाए। त्यहाँ उनैले कृषिमा काम लगाइदिए।
कृषीको काम सिजनेवल हुँदोरहेछ कहिले फारो कहिले वेजा कहिले काही त ठिक विपरित दिसा पोर्तो पनि लाने।
विगत केही वर्ष पोर्चुगलको अनुभव र बसाईमा म कामले गर्दा कुनै वर्ष ४/४ चोटी बसाई सराई गरियो। एकै कोठामा ६ जनासम्म बसियो। अब फेरि भाषा पढ्न लिजवन आएको छु। अनि पासपोर्ट लिर नर्वे या हल्याण्ड जाने विचारमा छु।
पोर्चुगलमा खेतीको कामका सिलसिलामा धेरै ठाउँमा सरेँ। जहाँ सरे पनि भाडा दिनुपर्छ। यहाँ स्वतन्त्रता छैन। अब पासपोर्ट पाएपछि अर्को देश जान्छु। त्यहाँ आफूले चाहेको ठाउँ र रोजेको ठाउँमा बस्न पाउँदिन, जसरी नेपालमा राउटेहरू बस्छन्। बरू नेपालको राउटेहरू वर्षमा मुश्किलले २-३ ठाउँ सर्लान्। तर हामी यो विरानो मुलुकमा कति पटक सर्ने?
काम र अवसरको लागि सिजनैपिच्छे सरेको सर्यै गर्नु पर्छ। नेपालमा त राउटे एक जिल्लाबाट अर्कोमा सर्छन्। सरकारले उनीहरूलाई भत्ता दिएको छ। उनीहरू सम्मानित छन्। उनीहरू स्वतन्त्र छन्। तर हामी विदेसमा छौं। यहाँ हरेक कुराले बाँधेको छ। अनि कहिले कहाँ, कहिले कहाँ सरिराख्नु पर्छ। त्यसैले वास्तविक राउटे हामी हौं।’
ऊनले लामो सास फेर्दै सविस्तार वर्णन गरे। उनले यो भन्दै गर्दा म पनि सोचमग्न भए। मनमनै सोचेँ, ‘हो त है, खास राउटे त हामी पो हौं। म पनि एसएलसीदेखि आजसम्म ३१ स्थानमा सरेछु। अझ कति सर्नुपर्ने हो। अनि वरिपरि साथी भाइ सम्झिएँ।
विगत ५ महिनामा मेरो साथी ठाकुरे ३ ठाउँ सर्यो। एक ठाउँमा त कुकरको सिठीले तल्लो फ्लाईटमा बस्नेलाई डिस्टर्ब भयो भनेर घरबाटै निस्कन भनेछ। अनि अर्को साथी विवेक पनि ३ महिनामा २ ठाउँमा सर्यो। कारण, एकै अपार्टमा ७/८ जना बसे भनेर घरबेटीले अन्तै बस्न भनेछ।
अव रामु पनि फेरि बसाई सराई गर्दै छ। ऊ पासपोर्ट लिएर लक्जेम्वर्क जादैछ। नेपालको सोलुहुँदै काठमाडौं भएर स्वीस, नर्वे बस्दै पोर्चुगल आएका दावा पासपोर्ट लिएर अर्कै देश जाने तयारीमा छन्।
मनमनै मैले पनि महसुस गरेँ, ‘साच्चै राउटे त हामी पो रहेछौं।’