हरेक मान्छेका आ-आफ्नै इच्छा र चाहना हुन्छन्। अझ जीवनको ऊत्तरार्धमा कोही आफू जन्मिएको गाउँ ठाउँ फर्कने रहर गर्छन् भने कोही तिर्थ ब्रतको लागि जाने इच्छा गर्छन्। साँचेका असिमीत चाहनामध्ये महत्वपूर्ण र सम्भव हुने चाहना पुरा गर्ने धोका अधिकांशको हुन्छ।
पोर्चुगलमा ७६ वर्षीय एकजना यस्ता कलाकार छन्, जसको जीवनको अन्तिम धोको नै नेपाल घुम्नु हो।
उनले विश्व नचहारेको ठाउँ छैन। तर, जीवनको उत्तरार्धमा आइपुग्दा नेपाल जान नसकेकोमा उनी केही निरास र भावुक छन्। हिजोआज उनी नेपाली ढाका टोपी लगाएर पोर्चुगलको राजधानी लिस्बन चहार्दै गरेको भेटिन्छन्।
अर्को वर्ष उनी नेपाल आउन पैसाको जोहो गरिरहेका छन्। यसका लागि उनले आफ्ना पेन्टिङ बेचिरहेका छन्।
म्यानुअल पम्बिनियो। जसले युवा अवस्थामै नेपालको विषयमा सम्पूर्ण जानकारी राखेका थिए। तर, जीवनको रस्साकस्सीका बीच नेपाल आउने साइत कहिल्यै जुरेन। अहिले भने उनी अन्तिम इच्छा पुरा गर्ने अभियानमा सक्रिय छन्।
सन् १९४५ मा पोर्चुगलको पोर्तोलोमा जन्मिएका मनुयल पम्वीनीयो ९ वर्षको हुँदा परिवारसहित मध्य अफ्रिकी देश अंगोला पुगे। त्यति बेला अंगोला पोर्चुगलको उपनिवेश थियो। उनको अध्ययन अंगोलाकै राजधानी लुवान्दास्थित इस्कोला इन्डस्ट्रियल डे लुवान्दामा भयो। जहाँ उनले कलाको अध्ययन गरे। अध्ययन सम्पन्न भएपछि १७ वर्षकै उमेरमा २ वर्ष त्यहीँ अध्यापन गराए।
अंगोलामै रहँदा उनी पोर्चुगलको सेनामा पनि भर्ति भए। उनले ४ वर्ष सैन्य जीवन बिताए। फेरि ५ वर्ष शिक्षण पेशामा फर्किए। अंगोला सन् १९७५ मा पोर्चुगलको उपनिवेशबाट स्वतन्त्र भयो। यसपछि थुर्पै पोर्चुगालीहरू अंगोला छोडेर ब्राजिलतर्फ हानिए। म्यानुअलको परिवार पनि ब्राजिलतर्फ लाग्यो।
म्यानुअलले ब्राजिलमै विवाह गरे। ४० वर्ष ब्राजिल बसेका उनलाई आफ्नै देशको याद आयो। त्यतिबेला उनी ७० वर्ष कटिसकेका थिए। उनी सपरिवार पोर्चुगल आउन चाहन्थे। तर परिवारले उनलाई साथ दिएन। यसपछि उनी एक्लै जन्मभूमि फर्किए।
जब पोर्चुगल आए उनलाई सबै बिरानो लाग्यो। आफूले छोडेको पोर्चुगल र अहिलेको पोर्चुगलमा आकाश जमिनको फरक देखे। आफ्ना साथीभाइ कोही भेटेनन्। त्यो एक्लोपनमा उनलाई आफ्नै कलाले साथ दियो।
केही वर्ष उनले आफूले कोरेका चित्र बेचेर लिजवनमा गुजारा चलाए। सन् २०१७ को अन्त्यतिर लिजवनमा अंगोलामै उनीसँग पढेका र उनले अध्यापन गराएका शिक्षक तथा विधार्थीबीच पुनर्मिलनको कार्यक्रम थियो। यहाँ उनले आफ्नो सयौं विधार्थी भेटाए।
४० औं वर्ष भेट नभएका उनीहरूले त्यहाँ सुख दुःखका कुरा गरे।
यहीँ सुखदुःख साटासाट गर्ने क्रममा म्यानुअलले लिजवनमा आफू बस्ने एउटा कोठा पनि नभएको दुःखेसो पोखे।
उनको वेदना सुनेर एक विधार्थीको छोरा रुइले उनलाई १ वर्षका लागि लिजवनमा निःशुल्क बसोबास गर्ने व्यवस्था मिलायो। म्यानुअल आफ्नो ७३ औं जन्मदिन देखि आफ्नो विधार्थीको छोराको अपार्टमेन्टमा बसेर चित्रकारिता गरिरहेका छन्।
अंगोलाको सेनामा भर्ति हुँदा उनले गोर्खा सैनिकको बहादुरी सुनेका थिए। स्कुलमा अध्यापन गराउँदा उनले कयौंपल्ट विश्वको सर्वोच्च हिमाल सगरमाथाको चित्र कोरेका थिए। स्कुलमा पढाउँदासमेत ऊनलाई संसारकै अग्लो हिमालको चित्र कोर्न भन्दारहेछन्। उनी चित्र कोर्दै त्यतीबेला नै सोच्थे रे।
‘म त्यति बेला नै सोच्थेँ, गोर्खाहरूको देश कहिले जाउँला? हिमालको चिसो हावामा कहिले रमाउला?’ लिजवनमा नेपाली टोपीमा भेटिएका म्यानुअलले सेतोपाटीसँग भने।
उनले धेरै अगाडि आफ्नो विधार्थीको छोराको कोठामा माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमाल र लुम्बिनी र सगरमाथाको फोटो भित्तामा देखेका थिए। उनलाई त्यति बेला पनि नेपालको सौन्दर्यताले तानेको थियो।
उनले ती फोटा हेरेर पोर्चुगल र नेपालको हिमाल, स्वयम्भु अनि पोर्चुगलको पर्यटकीय स्थललाई एउटै चित्रमा उतारे। उनका चित्रहरु लिजवनमा रहेको नेपाली होमस्टे - कटेरो/टहरोमा सुरक्षित छन्।
जब उनी नेपाली चित्र भित्तोमा हेर्दै चित्र कोर्दै गर्ने गर्छन् भित्तोमा देखिने नेपाली चित्रले उनलाई फेरि त्यहीँ गोर्खाको बहादुरी र सगरमाथाको याद झलझली आउँछ।
नेपाल जान रहर नै भयो, नेपाल नपुगी मर्छु भन्ने चिन्ता छ
गत वर्ष आफू ७५ वर्ष पुगेकै बेला नेपाल जाने भनेर विभिन्न नेपालीको सहयोगमा उनले मे १२ को टिकट पनि लिएको थिए। तर कोरोनाको कारण त्यो सबै रद्द भयो।
यो सँगै उनको पुरा हुन लागेको सपना धकेलियो।
धनका गरिब भए पनि पम्वीनीयो मनका धनी छन्। उनले विभिन्न किसिमका चित्र कोर्छन्, र बेच्ने गर्छन्। कुनै नेपाली उनका चित्र किन्न गएमा अरूलाईभन्दा धेरै सस्तोमा दिन्छन्। अनि नेपालीले दिएका पैसा सबै खुत्रुकेमा हाल्छन्। जहाँ जाँदा पनि नेपाली ढाका टोपी र खादा लगाएर हिड्छन्।
नेपाल जान खुत्रुकेमा पैसा
अहिले पनि उनको रोजिरोटी चित्र बेचेर नै गुजारा हुन्छ। उनी चित्र बेचेर भएको आम्दानीको पैसा खुत्रुकेमा जम्मा गर्छन्।
पोर्चुगलबाट नेपाल जान/आउन लाग्ने हवाई खर्च, एक महिनाको नेपाल बसाइमा हुने खर्चको मोटामोटी हिसाब गरेर उनले २ हजार युरो जम्मा गर्न थालेका छन्।
‘नेपाल जान र त्यहाँ एक महिना बस्न लाग्ने खर्चको जोहो गरिरहेको छु। २ हजार युरो भए पुग्छ होला,’ उनले भने,‘मलाई नेपाल पुगेर चित्र कोर्न मन छ। म नेपालको स्कुलमा पुगेर ४–५ दिन साना बच्चाबच्चीलाई चित्र कोर्न सिकाउन चाहन्छु।’
सडकमा आफूले कोरेका आर्ट चित्र बेच्छन्। र त्यसबाट आउने पैसा खुत्रुर्केमा जम्मा गर्छन्। नेपाल जानकै लागि उनी रातदिन कडा मिहेनतसाथ चित्र कोर्छन्।
उनले नेपालको हिमाल र मठमन्दिरलाई सम्झिएर कोरेका चित्र पोर्चुगलका नेपालीका लागि भनेर लिजवनस्थित टिपीकल नेपाली होम स्टे - कटेरो/टहरो मा बेचनका लागि राखेा छन्।
१०-१२-१५ युरो मूल्य राखेका उनको चित्र बेचेर आउने सबै पैसा आफू नेपाल जानकै लागि भनेर संकलन गरिरहेका छन्।
‘मर्नुअघि नेपाल जान्छु। सम्भव भए अर्को वर्ष जनवरी २ मा मेरो ७७ औं जन्मदिन हिमालको काखमा मनाउन चाहन्छु। अनि नेपाली हिमाल र नदीको बीचमा रमाउने इच्छा छ।’