विदेशिने रहर कमैलाई हुन्छ। तर नेपालीका लागि यो बाध्यता बनिसकेको छ। जब विदेस जान एअरपोर्टमा लाइन लागेको हुन्छौं। हाम्रा सपना र उद्धेश्यहरू आकासमा उडेको जहाजको उचाईभन्दा ठूला हुन्छन्।
कोही विदेश आएर सोचेभन्दा बढी प्रगति गर्छन् त कोही निरास भएर फर्केका छन्। कोही लाख लिएर फर्किन्छन् भने कोही बाकसमा लास भएर फर्किन्छन्। कोही विदेश जाँदा बुनेको सपना पुरा गर्छन् भने केहीको सपना ‘सपना’ मै सिमित हुन्छ।
हिजोआज अध्ययन र कमाइका क्रममा विदेश पुगेका नेपाली स्थायी रूपमा आफूसँगै परिवारलाई पनि विदेश लैजान र उतै बस्न चाहने धेरैछन्।
पछिल्लो केही वर्षदेखि युरोपको पोर्चुगल नेपालीका लागि रोजाईको देश भएको छ। यहाँ कमाईँभन्दा पनि युरोपमा बसोबास गर्न सहज हुने कार्ड बन्ने र कार्ड बनेको ५ र ६ वर्षमा पासपोर्ट पाइने तथा अन्य युरोपेली मुलुकमा स्थायी बसोबासका लागि सहज हुने हुँदा नेपाली मात्र होइन, हामी जस्ता कम विकशित मुलुकका नागरिक पनि पोर्चुगल आउन रुचाउँछन्।
पछिल्लो तथ्याङ्क अनुसार तीस हजारभन्दा बढी नेपाली पोर्चुगलमा छन्।
पोर्चुगल आएर विभिन्न हन्डर र सास्ती खेपेर भोक, प्यास र अभावजस्ता समस्या सहेर अनि पेलिएर बल्ल यहाँ पोर्चुगाली बन्ने गरिन्छ।
पोर्चुगलले सुरूको २-४ वर्ष साच्चीकै गाल्छ। जब अलिअलि सिप भाषा रहन-सहन बाटाघाटा चिन्दै गएपछि बल्ल यहँ केही सहज हुन्छ।
यहीँ सहजतासँगै पोर्चुगलमा मिहेनत र प्रगति गर्नेहरू सफल हुँदै गएका छन्।
पछिल्लो समय पोर्चुगलका विभिन्न स्थानमा नेपालीको व्यवसायले सफलता हात पारिरहेको छ।
यसैबीच पोर्चुगलकै सबैभन्दा अग्लो स्थान सेरेदा स्त्रैलाको फेदीमा पोखरा घर भएको गुरूङ दम्पत्तीले विगत लामो समयदेखि रेष्टुरेन्ट खोलेर स्थानीयको मन जितेका छन्।
अनु गुरूङ र उनका श्रीमानले खोलेको सुसी रेस्टुरेन्टबाट स्थानीयलाई नेपाली स्वाद पस्किएर मन जित्नुका साथै राम्रो आम्दानी पनि गरिरहेका छन्।
यस्तै पोर्चुगलको पर्यटकीय सहर कास्काईस नजिकै पर्यटन दूत तथा समाजसेवी रमेश गुरूङले विगत १० वर्षदेखि सांग्रीला रेस्टुरेन्ट सञ्चालन गरेका छन्। उनले धेरै नेपालीलाई रोजगारी दिनुका साथै स्थानीय स्तरमासमेत नेपाली छवि उँचो पारेका छन्।
पोर्चुगलमा उनीहरूजस्ता कयौं सफल नेपाली व्यवसायी छन् जसले निकै सफलता पाउनुका साथै स्थानीयसँग राम्रो घुलमिल भएका छन्। स्थानीयले पनि धेरैलाई रूचाएका छन्। साथमा स्थानीयले सम्मानसमेत गरेका छन्।
रोनाल्डो जन्मिएको ठाउँमा नेपालीलाई सम्मान
पोर्चुगलका धेरै टापु छन्। यसमध्ये मदैरा एक पर्यटकीय टापु हो। मदैरा पर्यटकीय हिसाबमा भन्दा पनि अर्को कुराले चर्चित छ, त्यो हो- विश्व प्रसिद्ध फुटबल खेलाडी रोनाल्डोको जन्मस्थान।
लिजवनबाट १ घन्टा ४५ मिनेटको हवाई दुरीमा पुगिने मदैरामा ९ वटा नगरपालिका छन्। करिब ३ लाख जनसंख्या रहेको यो सहरमा वार्षिक ३० लाखको हाराहारीमा पर्यटक आउने गर्छन्।
मदैराको फुञ्चाल नगरपालिकास्थित डा नेलीओ मेन्डोन्सामा सन् १९८५ मा रोनाल्डोको जन्म भएको हो।
समुन्द्र को बीचमा रहेको टापु त्यसै सुन्दर थियो नै त्यसमाथि यही जन्मिएका रोनाल्डो संसारकै लोकप्रिय खेलाडी भएपछि मदैराको प्राकृतीक सुन्दरतामाथि सुनमा सुगन्ध थपियो।
मदैराको फुञ्चालमा रोनाल्डोको बिशाल शालीक र संग्रहालय छ। त्यहाँ रोनाल्डो सम्बन्धी र उनले प्रयोग गरेका सामाग्री राखिएका छन्। यहीँ संग्रालय हेर्नका अतिरिक्त शुल्क तिरेर वर्षेनी लाखौं पर्यटक पुग्ने गरेका छन्।
पछिल्ला केही वर्षदेखि रोनाल्डोको गाउँ मदैरामा क्रमशः नेपालीको बसोबास बाक्लिँदै गयो। केहीले जागिर खाएका छन् भने केहीले अरूलाई रोजगार दिएर राम्रै आम्दानी गरिरहेका छन्।
यसमध्येका एक सफल नेपाल हुन्- एनआरएन पोर्चुगलका पूर्व अध्यक्ष भिम कमल केसी।
पोर्चुगलमा दशकभन्दा बढी समय बिताएका केसी सफल व्यवसायीसँगै उत्कृष्ट समाजसेवी हुन्।
तत्कालिन समयमा खासै नेपाली नपुगेको मदैरामा नेपालीले व्यवसाय गर्न सहज थिएन। तर पनि पर्यटक अत्यधीक आउने मदैराको कानिसो नगरपालिकामा उनले सुसी व्यवसाय सुरू गरे।
सुरूका दिनमा केही असहज भए पनि विस्तारै व्यवसायले गति लियो। साकुरा सुसीबाट सुरू गरेका उनको व्यवसाय अन्य स्थानमा पनि विस्तार गर्ने योजनामा छन्। तर पछिल्लो समय विश्वव्यापी महामारीको रूपमा लिएको कोरोना भाइरसले केही असहज बनायो।
कोरोना संक्रमणसँगै शून्यमा झरेको पर्यटक आवागमनले व्यवसाय सिथिल भयो। यद्यपी यहाँको स्थानीय सरकारले टेकअवे चलाउन दिने निर्णय गरेसँगै केही राहत भयो।
खानाको गुणस्तर, सफा र स्वादिष्ट सुसीले टेकअवेमा राम्रो बजार लियो। स्थानीयमा साकुरा सुसीको चर्चा हुन थाल्यो चर्चासँगै उनको यो रेस्टुरेन्ट उत्कृष्ट ५ भित्र पर्न सफल भयो।
कोरोना महामारी बीच पनि १६ जनाभन्दा बढिलाई रोजगार दिएको, गुणस्तरीय र स्वादिलो खाना, राम्रो सेवा सुविधा दिएको भन्दै मदैराको कानिसो नगरपालिकाले उत्कृष्ट भन्दै सम्मानित गरेको छ।
उत्कृष्ट ५ भित्र परेको भिमकमल केसीको साकुरा रेस्टुरेन्टलाई नगरपालिकाले सम्मानित गरेको कार्यक्रम स्थानीय टेलिभिजनले प्रत्यक्ष प्रशारण गरे। मदैराबाट निस्कने सबै पत्रपत्रिकाले प्रमुखताका साथ समाचार छापे।
धेरै मदैराका पोर्चुगीजलाई बुद्ध नेपालमा जन्मिएको र सगरमाथा नेपालमा पर्छ भन्नेबारे के थाहा थिएन। उनले नै नेपालको बारेमा पोर्चुगिचलाई जानकारी गराएका हुन्।
केही समय पछि बुद्ध तन्दुरी रेस्टुरेन्ट खोल्न लागेका व्यवसायी केसीले समाजसेवा सँगै व्यवसायलाई अगाडि बढाएका छन्।
‘समाज सेवाका क्रममा हिजो पोर्चुगलकमा नेपालीबीच मात्र नाम चले पनि व्यवसायमा सफलता हात पारेसँगै विदेसीमाँझ पनि चिनिएको छु,’ उनले सेतोपाटीसँग भने, ‘हिजो नेपाली समाजमा मात्र परिचीत म अहिले विदेसी माझ पनि आफ्नो नामसँगै देशको नाम पनि चिनाउन पाएको छु।’
पोर्चुगलमा मिहेनत, परिश्रम, संघर्ष र धैर्यता भए अवसर खोज्दै आउँछ अनि उचित सदुपयोग गर्न सके पोर्चुगलमा अथाह सम्भावना देखिन्छ।
‘हिजो रोनाल्डोको गाउँ घुम्न रहर गर्ने म आज रोनाल्डो जन्मेको गाउँमा यहाँको स्थानीय सरकारद्वारा सम्मानित हुन पाउँदा खुसी छु’, आफूले पाएको अवार्ड देखाउँदै उनले सेतोपाटीसँग भने।
पोर्चुगलमा धैर्य गर्ने अनि काम गर्न अल्छी नमान्ने र आफूसँग सिप र भाषा छ भने यहाँबाट पायपोर्ट पाएर अन्त जानु नपर्ने भन्दै उनल भने, ‘पोर्चुगल नै उत्तम छ।’