विदेशिने रहर कमैलाई हुन्छ। तर नेपालीका लागि यो बाध्यता बनिसकेको छ। कोही विदेश आएर सोचेभन्दा बढी प्रगति गर्छन् त कोही निरास भएर फर्केका छन्। कोही लाख लिएर फर्किन्छन् भने कोही बाकसमा लास भएर फर्किन्छन्। कोही विदेश जाँदा बुनेको सपना पुरा गर्छन् भने केहीको सपना ‘सपना’ मै सिमित हुन्छ।
हिजोआज अध्ययन र कमाइका क्रममा विदेश पुगेका नेपाली स्थायी रूपमा आफूसँगै परिवारलाई पनि विदेश लैजान र उतै बस्न चाहने धेरैछन्।
पछिल्लो केही वर्षदेखि युरोपको पोर्चुगल नेपालीका लागि रोजाईको देश भएको छ। यहाँ कमाईँभन्दा पनि युरोपमा बसोबास गर्न सहज हुने कार्ड बन्ने र कार्ड बनेको ५ र ६ वर्षमा पासपोर्ट पाइने तथा अन्य युरोपेली मुलुकमा स्थायी बसोबासका लागि सहज हुने हुँदा नेपाली मात्र होइन, हामी जस्ता कम विकशित मुलुकका नागरिक पनि पोर्चुगल आउन रुचाउँछन्।
पछिल्लो तथ्याङ्क अनुसार तीस हजारभन्दा बढी नेपाली पोर्चुगलमा छन्।
यहाँ भित्रने र बाहिरिनेको सख्या लगभग उस्तै छ। पोर्चुगलमा दुःख र संघर्ष गरेर पासपोर्ट पाउनेहरू डेनमार्क, नर्वे, बेल्जीयम, जर्मन लगायतका युरोपियन मुलुक जाने लहर छ। यस्तै कार्ड र पासपोर्ट कै लागि चेक, पोल्यान्ड, माल्टाहुँदै कतिपय नर्वे, डेनमार्क र स्वीडेनमा भिजीट या विधार्थी भिसामा आएकाहरूको पोर्चुगल छिर्ने लर्को छ।
लामो समय कोरोनाले रोकिएको आवतजावत पछिल्लो केहीदिनदेखि पुनः उही लयमा फर्किएको छ।
नेपालमा बस्नेले प्रायः विदेसमा प्रगति गरेको, कमाएको र समुन्द्री किनारमा खिचेका तस्बिरमात्र देखेका हुन्छन्। अहिलेको स्थितिमा आउन, सफल हुन र टिक्न उसले विदेशमा गरेको संघर्ष कहिल्यै ख्याल गरिँदैन। प्रायः मान्छे सफलताको कथा सुन्न चासो दिन्छन्। तर असफलता र दुःखको कुरा सुने र पनि नसुने झैं गर्ने हाम्रो परम्परा नै छ।
जब विदेस आउँछौ अनि मात्र थाहा हुन्छ यहाँको वास्तविकता। दुःख, संघर्ष र व्यथा।
यसैमध्येका एक हुन् खरिवोट गाउँका मदन।
खरिबोट गाउँका प्रायः सबै विदेसिएका छन्। कोही कुक भिसामा जापान त कोही तल्लो बाटोहुँदै अमेरिका र कोही कोही पोर्चुगल, स्पेन, बेल्जीयम पुगेका छन्।
मदन गाउँमै केही गर्न खोज्दै थिए।
यसैबिच प्रायः विदेसबाट आउनेलाई गाउँमा चाखले हेर्ने गर्थे। उता गाउँमै बसेर समाजसेवा गरिरहेका मदनलाई त्यति महत्व दिएनन्। प्रविणता प्रमाणपत्र तह पास गरेका मदनले गाउँमा नमूना किसानमध्ये एक थिए।
सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय उनले गाउँमा आधुनिक कृषि व्यवसायलाई विस्तार गर्ने सोच बनाएका थिए। खेर गइरहेको पानी जम्मा गरेर माछापालन गरे। लोकल बंगुर पाल्न थाले। जब बंगुर पाल्न थाले उनको दिनगन्ती सुरू भयो। सबैले उनलाई बंगुरे वाहुन भन्न थाले।
सहर बजारमा बंगुर खानेहरू गाउँमा चोखा हुन्थे। तर गाउँमा व्यवसायिक बंगुरपालन गर्दाच उनी बंगुरे बाहुन बने। त्यति मात्र होईन। खै के नपुगेर हो उनका पोखरीमा माछा सप्रिएनन्। आधा भन्दा बढी मरेरै सकिए। गाउँमा बंगुरको उचित दाम पनि पाएनन्। यसरी लगानी पनि नउठ्ने भएपछि यो पेशा छोडिदिए।
यसो फेसवुक खोलेर हेरे। उनका गाउले सहपाठीमध्ये कोहीले नर्वेको हिउँमा रमाएको फोटो राखेका छन्। कोही अस्ट्रेलियाको समुन्द्री तटमा त कोही आईफिल टावर अनि कोही माउन्ट फुजीको फेदीमा बसेको फोटो हालेको मात्र देख्छन्। अधिकांशको हातमा नम्बरी घडी र महंगा महंगा मोवाइल बोकेका देख्छन्। फेरि सबै सधै हासी खुसी नै देखिन्छन्।
त्यसपछि उनले सोचे- विदेस मात्र जान पाए त सबै एकै ठाउँमा मिल्ने रहेछ। भिसा पाउन मात्र गाह्रो होला । तर भिसा हात परिसकेपछि सबै सहज हुनेरै’छ।
त्यसपछि घर सल्लाह गरे। बुढा-बुढी भएका आमाबु र परिवारका अन्य सदस्यसँग सल्लाह गरे। सबैलाई चित्त बुझाए।
अब खरिबोटे मदन विदेश जाने भयो। आफू मात्र होईन परिवार पनि लैजान पाईने देशका बारेमा झुझ्न थाले। सबै तिर बुझ्दा उनी पोर्चुगलनै जाने निधोमा पुगे।
चिनजानकै एजेन्टसँग उनको कुरा भयो। पैसा अलि बढी नै भन्यो। तर काम पाउने निश्चित भएपछि उनले पैसा बुझाए। सन् २०१९ को अन्तिम तिर माल्टाको भिसा लगाएर युरोप छिरे। १ महिना माल्टा बसेपछि जसो तसो गरेर उनी पोर्चुगल आए। जब मदन पोर्चुगल आए। २-४ दिनसम्म केही मेलोमेसो पाएनन्। ‘फिनान्स जुन्ता, सेफ इन्ट्री, लिगल इन्ट्री, सोसीयल यस्तै यावत कुरा सुन्दा र बनाउनु पर्छ भन्दा उनी केही दिनसम्म अक्क न वक्क भए।
नेपाल छँदा पासपोर्टमा भिसा लाग्नुनै सबै थोक भनेका उनी यहाँ आएपछि एक पछि अर्को कागज पत्र बनाउनुपर्दा तनावमा देखिए। उनलाई धेरै गाह्रो भयो।
केही परामर्श दाताको सम्पर्कमा पुगेका उनले प्याकेजमा केही सय युरो खर्चिएर कागजपत्रको प्रारम्भीक काम पुरा गरे। नेपालबाट ल्याएको पैसा पनि यताउत गर्दैमा सकियो।
त्यसपछि आफ्नो सम्पर्कमा भएका साथीभाइलाई काम खोजिदिन आग्रह गरे।
एउटाले भन्छ, ‘काम त छ, तर पोर्चुगीज भाषा बोल्नुपर्छ।’ मदनलाई पोर्चुगिच भाषा आउँदैन। अर्कोले भन्छ, ‘काम त छ। तर साहु ले कार्ड भएको मान्छे खोजेको छ।’ मदनसँग कार्ड हुने कुरै भएन। अर्को साथीले भन्छ, ‘काम त छ। तर किचनमा हो कटिङ या पकाउन जान्नुपर्छ।’ मदनलाई यसबारे पनि ज्ञान छैन। बल्ल मदनले युरोप भनेको कस्तो हुँदो रैछ भनेर बुझ्दैछ।
यता उता चहार्दैमा जनवरी महिना त्यसै गयो। बल्ल बल्ल एउटा चाईनिजकोमा भाडा माझ्ने काम पायो। मान्छे समय र परिस्थितिको दास हो, समय र परिस्थितिले गर्दा आज मदनले भाडा माझ्ने कामलाई पनि ठूलो अवसरका रूपमा लिएको छ।
दैनिक १० घन्टा काम गर्नुपर्ने, सहर देखि धेरै टाढा। तै पनि उसलाई नेपाल फर्कने चाहना छैन। किनकि, कार्ड वनाएर परिवार यहीँ ल्याउने सपना लिएर ऊ यहाँ आएको हो। त्यही सपनालाई वास्तविकतामा परिणत गर्न दिन रात नभनी उसले काम गर्न थाल्यो।
बढ्दो कोरोनासँगै सन् २०२० मार्चको मध्यबाट उसले काम गर्दै आएको रेष्टुरेन्ट बन्द भयो। काम गर्न थालेको २ महिना नपुग्दै उसले जागिर गुमायो। केही महिनापछि फेरि एउटा अंगुर फार्ममा काम गर्न थाल्यो। काम गर्न थालेको केही समयमै त्यहाँ कार्यरत मजदुरलाई कोरोना लाग्यो। फेरि काम बन्द भयो। कोरोना पछि निको भयो। तर त्यहाँ पनि कोरोना निको भएसँगै कामको सिजन पनि सकियो।
मदन पोर्चुगलको राजधानी लिजवन फर्कियो। सानो कोठामा २ जना मिलेर बसेका छन्। काम छैन यता जाउँ खर्च, उता जाउँ खर्च। तर पनि परिवारसँग यसबारेमा केही भनेनन्।
आज भोलि भन्दा भन्दै बेरोजगार भएको पनि ४/५ महिना भयो। न कामको टुङ्गो छ, नत कार्ड बन्ने मेलोमेसो नै। ‘यता पैसा सकियो। नेपालबाट मगाऔं १ लाख ४२ हजार रूपैयाँको बल्ल यहाँ १ हजार हुन्छ। कति दिन मगाउने अनि नेपालबाट पठाइदिने को छ र?’, उनले सेतोपाटीसँग भने, ‘बुढा भएका बाआमा, श्रीमती छोराछोरीको जिम्मेवारी आफ्नै काँधमा छ। नेपालबाट मगाउने कुनै उपाय नै छैन। यहीँ कहिले कोसँग कहिले को सँग सापटी गरेँ।’ आफूसँग भएको सुनको सिक्री र एउटा औंठी पनि साथीलाई राख्न दिएर उनले जसोतसो खर्च चलाए।
बल्ल बल्ल धेरै समय पछि उनले एउटा इन्डियन रेस्टुरेन्टमा काम पाए। तर फेरि पोर्चुगलमा कडा लकडाउन भयो। सन् २०२० पछि राम्रो हुन्छ कि, भनेको २०२१ को जनवरी दोस्रो सातादेखि पोर्चुगलमा कोरोना संक्रमित बढ्न थाले। कुनै दिन त १५/१६ हजार कोरोना संक्रमित भएपछि एम्वुलेन्सले बिरामी बोक्न भ्याएनन्। पोर्चुगलमा कोरोनाले पुनः उग्र रूप लियो। कडा लकडाउन भयो। अहिलेसम्म जारी छ।
नेपाल जाऔं भने कार्ड पनि भएको छैन, नत यहाँ बस्नका लागि कार्ड नै बनेको छ।
अघिल्लो साताको कुरा हो मदनलाई मध्य रातमा फोन आयो। उनी झसंग भए। छाँगाबाट खसेजस्तो भए। सपना हो कि विपना उनले सोच्नै सकेनन्। हृदयघात भएर उनको बुबाको मृत्यु भएछ। उनी डाको छोडेर रोए। छिमेकीले कुरै नबुझी डिस्ट्रव भयो भन्दै प्रहरीलाई खबर गरेछन्। प्रहरी आएपछि सम्झाएर गएछ।
अब उनी यहाँ बस्न चाहँदैनन्।
बाबुले किरीया गर्ने छोरो चाहिन्छ भनेर ३ दिदीपछि आफ्नी आमालाई बिहे गरेर ल्याएको र आफू जन्मिएको भन्दै उनले किरीया गर्ने छोरो चाहिन्छ भन्ने मेरो बुबाको सपना म पेल्न चाहान्नँ, अब नेपाल फर्कन्छु भन्ने सोचे। तर कहाँ भनेजसरी सजिलै नेपाल जान पाइन्छ र पहिला पिसीआर गर त्यो माथि यो बेला टिकट पनि पाइन्न्। नेपालबाट आमाको फोन आयो, ‘तँ नआईज नातिनातिनाको भविश्यका लागि भए पनि उतै बस।’
आमाको त्यो आदेश शिरोपरी गरे। परदेशको ठाउँमा उनले सकेजति बारे। गाउँमा भन्थे रे, ‘यसको बाउले किरीया गर्ने छोरोनै चाहिन्छ भनेर ३/३ दिदि बहिनी भएपछि पनि यसको आमालाई दोस्रो बिहे गरेका हुन्। हेर है, त चै मात्तिने होईन नि, बाबुलाई हेला नगरेस् भन्थे। उसको सपना पनि त्यहीँ थियो। बुबा आमालाई सुख दिने।
‘बाबुको चाहना र सपना पुरा गर्ने भन्दै युरोप आएँ तर पोर्चुगलले मेरो सबै सपना पेलिदियो’, उनले भने।
पोर्चुगलमा कोरोनाले कार्ड बन्न ढिलो भएको छ। कार्डका लागि इमेल त आयो। तर डेट खुलेको छैन। मदनको आशा छ कार्ड बनाएर बुबाको ६ महिने कार्जेमा पुग्ने । तर पोर्चुगलमा गत सातादेखि आप्रवासीलाई कार्ड/टिआर/पिआर दिने निकाय कोरोनका कारण बन्द छ।
एकातिर जागिर छैन। अर्कोतिर बाबु गुमाए, कार्डको टुङ्गो छैन। मदन बल्ल भन्छन्, ‘नमरी स्वर्ग देखिँदो रहेनछ। फेसबुक, इस्टा, टिकटकमा देखेजस्तो विदेश हुँदो रहेनछ।’
एक छाक खान लगाउन गाउँमै कुटोकोदाली गरेर पुगेकै थियो। परिवार पालिएकै थियो। विदेसमा पैसाको रूख छ भिसा लागे सबै हुन्छ भन्ने मानसिकताले आज आफ्नो सपना, इच्छा चाहना पेलिएको मदन ठान्छन्।
‘मेरो कर्तव्य र बुबाको सबै चाहना र सपना पोर्चुगलमा पेलिए,’ उनले भने, ‘रिलमा देखिएका फोटो, भिडियो रियल लाईफमा नहुँदोरहेछ। हप्ताको ६ दिन गरेको दुःख बिदाको दिनमा खिचेर राखेका फोटाले भ्रमित पार्दा रहेछन् तेसैले नबुझी विदेस नजाऔं बुझेर मात्र जाऔं।’
खरिवोटे मदनको सुझाव छ- ‘मेरो बुबाको इच्छा, चाहना र सपना पोर्चुगलमा पेलिएझैं कसैको पनि विदेशमा यसरी नपेलियोस्।’