विदेशिने रहर कमैलाई हुन्छ। तर नेपालीका लागि यो बाध्यता बनिसकेको छ। कोही विदेश आएर सोचेभन्दा बढी प्रगति गर्छन् त कोही निरास भएर फर्केका छन्। कोही लाख लिएर फर्किन्छन् भने कोही बाकसमा लास भएर फर्किन्छन्।
पछिल्लो केही वर्षदेखि युरोपको पोर्चुगल नेपालीका लागि रोजाईको देश भएको छ। यहाँ कमाईँभन्दा पनि युरोपमा बसोबास गर्न सहज हुने कार्ड बन्ने र कार्ड बनेको ५ र ६ वर्षमा पासपोर्ट पाइने तथा अन्य युरोपेली मुलुकमा स्थायी बसोबासका लागि सहज हुने हुँदा नेपाली मात्र होइन, हामी जस्ता कम विकशित मुलुकका नागरिक पनि पोर्चुगल आउन रुचाउँछन्।
पछिल्लो तथ्याङ्क अनुसार तीस हजारभन्दा बढी नेपाली पोर्चुगलमा छन्।
यहीँ नेपालीको भीडमा रूकुम टक्सेराका २५ वर्षीय मिलन बुढा एक हुन्।
आजभन्दा ७ वर्षअघि जर्मनहुँदै पोर्चुगल आएका मिलन नेपालमा उसु खेलाडी थिए। तत्कालीन नेकपा माओवादीको जनसांस्कृतिक विभागमा भएकी आफ्नी आमासँग मिलन २/३ वर्ष उनको पछिपछि हिँडे। आफू सानै भएकाले लडाकु नभए पनि उनी आमासँग धेरै सांस्कृतिक कार्यक्रममा सँगै हिँडे।
त्यसपछि उसु खेल्न थालेका मिलन खेलकै क्रममा जर्मनी आए। त्यहीँबाट पोर्चुगल छिरे।
सन् २०१४ तिर पोर्चुगलमा कार्ड बनाउन गाह्रो थियो। संयोगवस उनले काम गर्ने पहिलो दिननै पोर्चुगलको आप्रवासी हेर्ने विभाग SEF बाट कव्ट्रोल पर्यो र आएको ६ महिनामै टिआर कार्ड बन्यो।
कार्ड त बन्यो तर काम छैन। विदेश आइसकेपछि ठग्न पनि मिलेन, चोर्न पनि भएन। त्यसैले उनी जस्तोसुकै काम गर्ने निधोमा पुगे। कामको खोजीकै क्रममा उनी खेती गर्ने एउटा सामान्य फर्मको सम्पर्कमा पुगे।
उनले एकपछि अर्को गर्दै थुप्रै कृषि फर्म चहारे। दु:ख पनि सामान्य मानिसभन्दा धेरै पाए। कामकै सिलसिलामा एकदिन उनलाई कम्पनीले राजधानी लिजवनदेखि २ घण्टाको दुरीमा पर्ने ‘सान्ता डे मातो’ को जंगलमा पिना टिप्न पठायो।
उनलाई सुरूमा कम्पनीको साहुले सल्लो जस्तै रूख देखाएर त्यसको सिरेटो टिप्नुपर्छ भन्दा आश्चर्य लागेको थियो। गाउँघरमा यस्ता सिरेटो त्यतिकै झरेर नस्ट भइरहेको देखेका उनी यहाँ भने त्यहीँ सिरेटो टिपेको पैसा दिन्छु भन्दा अचम्ममा परे। त्यहीँ पनि पापी पेटको सवाल थियो। उनी तुरून्त राजी भए।
मालिकले जंगलबाट सिरेटो संकलन गरेबापत उनलाई लिजवनदेखि केही टाढा ‘सान्ता डे मातो’ मा डेराको व्यवस्था गरिदिएका थिए। अहिले उनी ‘सान्ता डि माटो’ को वरिपरिको जंगलमा दिनहुँ चहार्ने गर्छन्। र, नेपालको सल्लो जस्तै देखिने अग्ला अग्ला रूख चढेर फल (सिरेटो) झार्ने र टिप्ने काम गर्छन्। उनले आफूसँगै अरू केही साथीलाई पनि जंगल बोलाए। उनीसँगै यतिबेला यो काममा रूकुमका तपस वुढा म्याग्दीका तिलक पुन, गोपाल गुरूङलगायत १४० जना नेपाली कामदार सक्रिय छन्। ७/८ जना नेपाली त सुपर्भाईजर नै भएका छन्।
क-कसले यहाँ काम गर्न पाउँछन्?
पोर्चुगलमा कार्ड (टिआर) भएका युवा युवतीले यो काम गर्न पाउँछन्। काम अति गाह्रो भएकाले महिलाले भुईँमा झारिएको फल टिप्ने काम पाउँछन्। काम बिहान ८ बजेदेखि सुरू भएर साँझ ५ बजे सकिन्छ। दिउँसो १२ बजे १ घन्टाका लागि खाना खाने ब्रेक हुन्छ।
बेलुका साढे चार बजे सबै मिलेर नसकिएको काम गर्छन्। र ट्याक्टरमा टिपेको फल लोड गरेर बेलुका ५ बजे घर फर्कन्छन्।
बस्ने ठाउँबाट नजिकमा १५ मिनेटदेखि टाढामा २ घन्टासम्म अर्थात गाडीमा कम्तिमा २० देखि १३० किमीसम्म यात्रा गरेर यो काम गर्नुपर्छ। त्यहाँसम्म लाने र ल्याउने गाडी साहुले व्यवस्था गरिदिएको हुन्छ।
के छ सेवा सुविधा?
यहाँ रूखमा चढेर फल झार्नेले दैनिक ६० युरो पाउँछन् भने भुईँमा टिप्नेले ४० युरो पाउँछन्। काम गरेको तलव १५/१५ दिनमा पाउने मिलले बताए। उनका अनुसार काम गर्ने कर्मचारीलाई खाने बस्ने, काममा लैजाने र ल्याउने सबै जिम्मा साहुकै हुन्छ। पछिल्लो समय महिनाको ५० युरो कोठाभाडा भाडा तिर्नुपर्ने हुन्छ। बिमा साहुले नै गरिदिएको हुन्छ।
पोर्चुगलको यार्सागुम्वा
यो पोर्चुगलकै गाह्रो मध्येको एउटा काम हो। यसका लागि धेरै जोखिम मोल्नुपर्छ। अग्ला अग्ला रूखमा चढेर टिप्नुपर्ने हुन्छ।
‘हाम्रो सल्लोको सिरेटो जस्तै देखिने यो फल नेपालको यार्सागुम्बा जस्तै महंगो छ। हामीले त नबुझ्ने नेपाली दाजुभाइलाई पोर्चुगलको यार्सा टिप्ने काम गर्छौ भन्छौं’, मिलनले भने, ‘यो अति पोषणयुक्त महंगो फल हो।’
के हो यो फल र रूख?
नेपालको डाँडापाखामा त्यतिकै खेर गइरहेको जाबो सिरेटो जस्तो कुरा आफ्नो देशमा टिप्न पोर्चुगलको कृषिसम्बन्धि काम गर्ने कम्पनीले किन यति धेरै सुविधा र खर्च गरिरहेको छ? आश्चर्य लाग्नु स्वभाविक हो।
नेपालको ठ्याक्कै सल्लो जस्तै हुने यो रूख पोर्चुगलका कासकाईस, सेसिम्रा मन्तेजे सान्ता राईलगायत प्रायः सवै जंगलमा पाईन्छ। यसलाई पोर्चुगीज भाषामा ‘पिन्हेइरो मान्सो’ भनिन्छ।
स्थानीय एजेन्टले सरकारबाट यसको फल टिप्ने ठेक्का लिन्छन्। यो ठेक्का सम्झौता डिसेम्बरबाट मार्चको अन्तिममसम्म हुन्छ। तर अप्रील १५ सम्म छिटफुट बाँकी रहेका फल टिप्ने गरिन्छ।
यो रूखमा फल्ने फलको नाम हो, ‘पिन्हा’। जसलाई रुखबाट झारेपछि फुटाएर यसको बिया निकाल्ने काम गरिन्छ। यो अत्यन्त पौस्टिक हुन्छ। यसको थोक मुल्य नै यसको थोकमुल्य नै प्रतिकिलो १५० देखि २०० युरोसम्म पर्छ। बजार मूल्य त्यो भन्दा धेरै छ। यसलाई पोर्चुगिज भाषामा ‘पिन्हाओ’ भनिन्छ। पोर्चुगलमा यसको अत्याधिक माग छ। बेलायत र अरेवियन मुलुकतिर यसको निर्यात हुन्छ।
मिलनका अनुसार साहुले ठेक्का लिएको सवै जंगल चहारेर उनीहरू फल टिप्ने गर्छन्। ‘कहिले काहीँ बस्ने ठाउँबाट भ्यानमा मात्र २ घण्टाको यात्रा तय गरिरहेका हुन्छौं। हाम्रो काम सेमीग्रा, कासकाईस र सान्ता डे मातोको वरिपरिका जंगलबाट फल टिप्नु हा,’ उनले सेतोपाटीसँग भने, ‘हामी नेपालीको काम प्राय रूखबाट फल झार्ने हुन्छ।’
हेर्दा जति सजिलो देखिए पनि यो काम सोचे जस्तो सहज छैन। ‘काम गर्न सक्ने गर्छन्, नसक्ने १/२ दिन गरेर जान्छन्। हामीले यहाँ मेहनत गरेको छौं। सेवा सुविधा पनि पाएकै छौं।
नेपालमा यार्सा टिप्नेको दुःख जस्तो छ, टिपेपछि कमाई पनि त्यस्तै राम्रो हुन्छ।
‘हो यहाँ हामी जंगल चहार्छौ। पोर्चुगलको पौष्टिक आहार टिप्छौं काम गाह्रो भए पनि रमाईलो छ। तलव र सेवा सुविधामा हामी खुसी छौ,’ उनले भने, ‘तर यो सिजन मार्च अप्रीलमा सकिन्छ।’
मिलनलाई साहुले यो काम सकिएपछि वाईनको विर्को बनाउने काममा लगाउने भएको छ। ‘अर्को वर्ष फेरि यसरीनै जंगल चहार्ने अनि पोर्चुगीज यार्सा टिप्ने, कमाउने अनि जंगलमै रमाउने,’ २५ वर्षीय मिलनले हाँस्दै भने।
पोर्चुगल आएको सात वर्ष भइसक्दा पनि उनी नेपाल फर्किएका छैनन्। यहाको रातो पासपोर्टसमेत लिएका मिलन अविवाहित हुन्। अब उनको एउटै धोको छ- बुबा आमालाई पोर्चुगल ल्याउने। उनी वर्षको २० हजार युरो कमाउँछन्।
खेतीमा शीर उँचो राख्ने नेपाली खुसी छन्: पोर्चुगीज साहुजी
पोर्चुगलको खेतीमा नेपाली, बंगाली पाकिस्तानी विचैलीया छन्। तर मिलनहरू सिधै साहुँसँग काम गर्ने भएका सेवा र सुविधा राम्रो पाएका छन्।
यो काम अति जोखीम भएकाले साहुले सवैको जीवन बिमा र दुर्घटना बिमा गरेका हुन्छन्। यदि दुर्घटना भइहाल्यो भने पनि जबसम्म निको हुँदैन तबसम्मको सबै तलव औषधि उपचार कम्पनीले नै गरिदिन्छ।
‘यदि दुर्घटनाबाट अपांगनै भए पनि जिन्दगीभरिको तलब आउँछ। केही वर्ष अगाडि एक नेपालीको दुर्घटना भएको थियो। हेलिकप्टर आएर लग्यो, हाल सञ्चो भएर उनी रेस्टुरेन्टमा काम गर्छन्’, मिलनले सुनाए।
नेपालीको काम देखेर पोर्चुगिज मालिक दंग छन्,’ उनले भने, ‘नेपाली मोईतो वो तुदु नेपाली तर्वालोदोर सिङ्को स्त्रेला रे अर्थात नेपाली धेरै राम्रो छन्। मेरो नेपाली कामदार फाइभ स्टार छन्।’ पहिले रोमानीयन्, वुल्गेरीयन र युक्रेनीयन ले काम गरे पनि साहुले पछिल्लो समय नेपालीलाई विश्वास गर्न थालेका छन्। ‘केही वर्षयता उनीहरूलाई कम गर्दै नेपालीलाई बढी प्राथमिकता दिएको छु’, उनले हाँस्दै भने।
विदेसमा मिहेनतसाथ काम गर्नेका लागि प्रसस्तै अवसर छन्। चुनौती नभएका पनि होईनन्। अफ्ठ्यारा चुनौतिमा पहाडको यात्रा पुरागर्न मेहनत र लगनशिलता चाहिन्छ।
मेहनत गर्ने र अल्छी नगर्ने हो भने विदेश आएर कोही पनि नेपालीले रूनुपर्दैन। ‘मेहनत गर्नुपर्छ, मेहनत गर्ने र इमान्दार कही खाली बस्नुपर्दैन। मैले पासपोर्ट लिईसकेँ तै पनि म यहीँ बस्छु। म दुःख गर्छु अनि दुःख सगै सन्तुष्ट छु,’ मिलनले भने।
साच्चीनै मिहिनेत गर्नेलाई अवसर र मौकाले पनि साथ दिन्छ। पोर्चुगलको जंगलमा मिहिनेत गर्ने श्रमजीवी सवै नेपालीमा हार्दिक नमन।