बाग्लुङकी कमला (नाम परिवर्तन) ११ वर्ष अघि पर्वतका प्रकाश (नाम परिवर्तन) सँग बिवाह बन्धनमा बाधिईन्। उनीहरूको एक सन्तान पनि भयो। सन्तान भएसँगै जिम्मेवारी बढ्यो। त्यसपछि यो दम्पत्तिले विदेश जाने सल्लाह गरे।
पोर्चुगल जान पाए चाँडै कार्ड बन्ने र परिवार पनि लान पाउने बारे थोर बहुत जानकारी पाएका उनीहरूले युरोप जाने निर्णय गरेछन्।
नभन्दै २०६८ सालमा प्रकाश पोर्चुगल आइपुगे। आएको केही वर्षसम्म परिवारमा राम्रै सम्बन्ध थियो। दैनिकजसो कुरा हुन्थ्यो। तर २०७२-२०७३ सालबाट पोर्चुगलमा भएका श्रीमानको फोन पातलिदै गयो। व्यवहारमा परिवर्तन आउँदै गयो।
कहिले काहीँ फोन हुँदा पनि सम्बन्ध विच्छेद गरेर छुट्टा छुट्टै बस्ने भनेर प्रकाशले अड्डी लिन थाले।
विचरी कमला के गरून्। सँगै मर्ने र सँगै बाँच्ने कसम खाएर बिहे गरेका श्रीमानको मन कसरी परिवर्तन भयो उनले बुझ्न सकेकी छैनन्। बुझुन् पनि कसरी?, आफ्नै भए भरका गरगहना बेचेर सर सापट गरेर उज्वल भविश्यका लागि विदेश पठाएको लोग्नेले मन कसरी टुट्यो उनी छक्क परेकी छन्।
कमलाले नेपालबाट बुझ्दा थाहा भयो उनी पोर्चुगलमा अकै केटीसँग प्रेममा परेका रहेछन्। एक-कान, दुई-कान-मैदानहुँदै यस विषयमा सबैले थाहा पाए। यता केटाको पासपोर्ट पनि आयो। प्रेमिका लिएर ऊ पोर्चुगलबाट अन्य देश पलायन भयो। ऊता
नेपालमा श्रीमतीलाई फोन गरेर भन्न थाले, ‘म छोरीलाई यतै ल्याउँछु। त जे सुकै गर!’
यस्तै तेह्रथुमकी सम्झना (नाम परिवर्तन) ले ५ नुवाकोटका अर्जुनसँग बिहे गरिन्। बिहे गरेको १८ महिनामा श्रीमान विदेश उडे। विदेस पुगेको १/२ वर्षसम्म उनीहरूको सम्बन्ध राम्रै थियो। तर एक्कासी सम्झनाका पतिको व्यवहार परिवर्तन भयो। कुरा बुझ्दै जाँदा आफ्ना श्रीमान त पोर्चुगलमा अर्की केटीसँग बस्न पो थालेको रहेछन्। उनी छाँगाबाट खसेजस्तै भइन्।
यस्तै माग्दीकी आचार्य थरकी एक महिलाको पीडा माथिको भन्दा फरक छैन। नेतासँग फोटो खिच्ने। बारम्बार विदेश गइरहने आफ्ना श्रीमान विगत १० वर्ष देखि पोर्चुगलमा भएकोमा श्रीमति दंग थिइन्। सामाजिक सञ्जालमा खासै नदेखिए पनि श्रीमानले बेला बेला फोन गर्थे। घर आउँथे। छोरीलाई माया गर्थे।
तर एक दिन आफ्ना श्रीमानले पोर्चुगलमा बिहे गरेर दुई सन्तान पनि भइसकेको खबर पाइन्। छाँगाबाट खसेजस्तै भइन्। हाल +२ पढ्ने छोरी र श्रीमतीले नेपालमा यता-उता हार-गुहार गरे। अन्त्यमा केही घर-खेत छोरीको नाममा गराईदिने र केही सम्पत्ति दिने सर्तमा कुरा मिलाए।
त्यस्तै गण्डकी प्रदेशकै एक जिल्लाको दम्पतीमा पनि एक जना विदेश जाने सल्लाह भयो। आफूभन्दा श्रीमती विदेश जाने रहर भएकाले श्रीमानले श्रीमतीलाई विदेस पठाए। पोर्चुगलमा श्रीमतिले राम्रै काम पाइन्। पैसा कमाउन थालिन्। ५-६ वर्षसम्म उनीहरूको सम्बन्ध सुमधुर रह्यो। यता श्रीमतीले रातो पासपोर्ट हात पारेपछि नेपाल गएर विभिन्न वाहनामा आफ्नो श्रीमानलाई डिभोर्स दिईन्। त्यती माया गर्ने श्रीमतीले एक्कासी डिभोर्स माग्दा श्रीमानलाई आफूले के गल्ती गरेँ भन्ने कुनै भेउ पाएनन्।
यी माथिका त केही प्रतिनिधि घटना मात्र हुन्।
नेपालबाट बढ्दो विदेश पलायन र सेटलमेन्टको नाममा सम्वन्धमा दरार आएका घटना थुप्रै छन्।
अझ लिभीङ टुगेदर त विदेसका नेपालीमाझ बढ्दै गएको सम्बन्ध हो। नेपालमा छोरा छोरी, श्रीमती छोडेर विदेस आएकाहरू अनि नेपालमा श्रीमान, छोरा, छोरी छोडेर आएकादेखि भर्खर २०/२२ वर्षे युवायुवतीसमेत लिभीङ टुगेदरमा बस्ने गरेका छन्।
भुगोल छुटेसँगै सम्बन्ध टुटाउनेको बढ्दो विकृती छ। पोर्चुगलमा मात्र नभई विदेश जाने अझ युरोप, अमेरिका र अस्ट्रेलीय गएका नेपालीमा यो समस्या बढी हुन्छ।
आफ्ना परिवारप्रति जिम्मेवार भएर काम गर्ने अनि विदेशमा आएर पनि परिवारप्रति विश्वास घात नगरेकाले परिवारलाई सुखद् भविस्यतर्फ लम्काएका पनि धेरै छन्। तर आज भोलि भुगोल छुटेसँगै संवन्ध टुटाउनेहरु दिनानुदिन बढ्दै छन्।
आगामी दिनमा आफ्नो परिवार, परम्परा र जिम्मेवारी विर्सेर भुगोल छुटेसँगै सम्बन्ध टुटाउने प्रवृत्ति हाम्रो समाज र देशमा विकराल समस्याको रूपमा नआउला भन्न सकिदैन। बेलैमा सचेत होऊँ।