सानोमा हामी तिलाहारी गाउँ खुब जान्थ्यौं। गाउँबाट अलि पर पहरामुनी तीन तले घर थियो, डिल्लीराज बुढाको। एकजना छोरा पनि थिए, घनराज नाम गरेका। पहरामाथी चिउरीका बुटा, अलि पर पुलामी गाउँ नजिकै अमला, बयर र लप्सी फल्दथे।
हामी डिल्लीराज बाजेलाई मनले नभय पनि मुखले चिप्लोघस्न बाजे भनेर सम्बोधन गर्थ्यौं। च्युरी पाक्ने बेला, अमला खाने बेलामा त बुढालाई गाउँबाट मुला चोरेर लगिदिन्थ्यौं। कहिले काही खुट्टै पनि ढोगी दिन्थ्यौं।
हामी ती डिल्लीराज बाजेलाई मनले नभए पनि मुखले लरक्क पारेर बाजे भन्दथ्यो। चिउरी पाक्ने बेला अमला खाने बेला त बुढालाई गाउँबाट मुला चोरेर लगिदिन्थौं। कहिलेकाहीँ बुढाको खुट्टामा ढोगिदिन्थ्यौं। खुट्टामा ढोग्दा बुढाको खुट्टामा गोबर गन्हाएको हुन्थ्यो।
खुट्टामा ढोग गरियो भने बुढाले एक-दुई माना बढी नै चिउरी दिन्थे। त्यही लोभमा पनि ढोगिदिने गर्दथ्यौं। बोल्नमा अति छुच्चा डिल्लीराज बुढा, तर मनका चाहिँ सफा थिए।
बुढा जति बाहिर खुसी थिए, त्यति पीडामा पनि रहेछन्। एक दिन घनराज कता गएछ। बुढाले चर्को स्वरमा ‘ओ घने कहाँ छस् घर आइज’ भनेर चिच्चाउँदैथिए। हामी टुप्लुकै घर पुग्यौं। बुढाले हाम्रो घने टोकाएलाई देखेनौं? भने। हामीले देखिनौं भन्यौं।
तर, आज बुढाले किन टोकाए भने मन मनै गड्यो। घर आयौं।
आज हाम्रा बा खुसी थिए। बालाई सोध्यौं, बा त्यो घनेलाई किन टोकाए भनेको भन्यौं। बाले पहिल्यै गाली गर्नुभो- तिमीहरूले उसलाई कहिल्यै टोकाए नभन्नू भन्नु भो।
गाउँमा तङ्ग्राए बाजे थिए। बाग्लुङको तम्राङ्गबाट आएको हुनाले तङ्ग्राए बाजे भन्दथ्यौं।
हामीले तङ्ग्राए बाजेलाई सोध्यौं।
घनराजलाई उनका बाले टोकाए भने किन हो र भन्यौं?
बाजेले भने - ऊ जन्मेको केही क्षणमै उसको आमाको देहबसान भयो, त्यसैले उसलाई उसको बाले टोकाए भनेको हुन्।
हामीले बल्ल थाहा पायौं, घनराज त टुहुरो रहेछ। अब घनराजलाई माया गर्नु पर्दछ भन्ने भाव आयो।
गाउँमा डिल्लीराज बुढालाई बिहे गर्न धेरैको दबाब थियो। तर, डिल्ली बाजेले बिहे गरेनन्। उनले आफ्नो देहाबसान भयकी
श्रीमतीकै नाममा जीवन बिताउने र छोरोलाई ठूलो मान्छे बनाउने कसम खाएका थिए।
हुन पनि घनराज पढाइमा अब्बल। सानैमा डोको बुन्ने, नाम्लो-दाम्लो बुन्ने र गाउँमा बेच्ने गर्दथ्यो।
गाउँमा हामीलाई गाली गर्दा छोरो हुनु घनराज जस्तो हुनु भन्थे।
बेलाबखत हामी डिल्ली बाजेकोमा चिउरी, बयर, लप्सी, अमला खान गइरहन्थ्यौं। उमेरमा काकाजस्ता देखे पनि सबैले डिल्लीबाजे भनेर नै बोलाउँथे। उनी पनि मख्ख हुन्थे। पीडा त भित्र होला तर बाहिर सधैं हासीखुसी रहन्थे।
समय बित्दै गयो। हामी पनि स्कुले शिक्षाको बिट मार्दै सँगै एसएलसी दियौं। एसएली पास भएपछि हामी सहरतिर लाग्यौं।
घनराज चाहिँ गाउँबाटै क्याम्पस पढ्न जाने, बेलुकी चौतारोमा साना-साना भाइबहिनीलाई ट्युसन पढाउने गर्दथ्यो। ऊ अनुशासित थियो। जेहेन्दार अनि व्यावहारिक पनि थियो। गाउँमा सबैसँग मिलेर बस्ने गर्दथ्यो।
गाउँमा केटाकेटी धेरै थिए। घनराजले अब ट्युसन पढाउन थाल्यो। पढ्दै-पढाउँदै।
हामी सहर पस्यौं। अब भेट पातलिन थाल्यो। सहरमा आएपछि विदेशको रहर जाग्यो। विदेश आयौं। अब डिल्ली बाजे घनराजसँग भेट त के कहिलेकाहीँ सम्झनको लागि पनि सपनामा देख्नुपर्ने स्थिति आयो।
समय बित्दै गयो। पृथ्वी गोलो छ। गोलो पृथ्वीमा रहेका हामी समय र परिस्थितिको दास हौं। कहिले कहाँ, कहिले कता पत्तै नहुने। यसै क्रममा केही दिन पहिले शनिबार पोर्चुगलको लिजवनमा कोरोनाको कारण दिउँसो १ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु लगाइँदै थियो।
सामान किन्न पिङ्दोदोष मार्केटमा गएको थियौं। त्यतिबेला हाम्रो गाउँ टोलको भाषामा ‘च’ लयार गफ गरेको सुनियो- ऊ आइच्च रे म नि आम्चु अनी ल्याम्नी हो, यस्तै यस्तै।
म पनि छक्क परेँ। केही नजिकै गएर नेपाली हो भनेर बोलाउँदा हामीबीच हेराहेर भो। तँ घने- उसले भन्यो। तँ ठाकुरे।
‘हैन सपना कि बिपना?,’ घनेले भन्यो।
‘१७ वर्षपछि भेट भो तर यो सपना होइन। बिपना हो के लौ जाम हिँड्।’
हामी बाहिर आयौं। सरासर म बस्ने लिजवनको कटेरो/ टहरोमा आयौं।
मैले सोधें- घने तँ बुढा बाबुलाई छोडेर किन आइस्? हैन ती बाबुको श्राप लाग्दैन। तँ सबै सिप सिकेको मान्छे। किन आउनु परेको?
घनेले लामो सास फेर्दै भन्यो- बालाई सोधेर नै सहमतिमा आएको। बाले नै जा भनेर।
उसको कुरा सुने मलाई पत्यार लागेन। किन कि विदेश जाने होइन, देशमा नै केही गर्नु पर्दछ भन्ने डिल्ली बाजेले किन पठाएछन्? भनेर प्रतिप्रश्न गरें।
घनराज अलि आक्रोशसहित भन्न थाल्यो- सुन्छस् म किन आएँ?
उसले अब सुरू गर्यो।
हेर, तँलाई सबै थाहा छ हाम्रो विगत। तिमीहरु आयौ सहरतिर। म गाउँमै बसें। मेरो ध्यान डोको नाम्लोतिर भयो।
डोको बुन्ने, नाम्लो बुन्ने, स्कुले केटाकेटीलाई पढाउने यही नै भयो। आइए पास गरेपछि पढ्न पनि गइनँ।
उमेर पुगेसँगै बाले बिहे गर्ने कुरा निकाल्नु भयो।मेरो बिहे टोहोरे निउरे साइँलाकी छोरीसँग हुने कुरा भयो। मेरो चिना लगियो।
चिना हेराउँदा मिल्न पनि मिल्यो रे। अब बिहेको लगन निकाल्ने कुरा बाँकी रह्यो। तर, लगनभन्दा एक दिन पहिला चिना फिर्ता भयो।
खगराज ज्योतिषीको पिढींमा चिना आएछ। गाउँमा गाइँगुइँ भो मेरो त बराउनी भाँचिएछ। कारण म योग्य भयन रे।
ऊसको बिहे तगजाधरसँग हुने भएछ। एसएलसीसँगै दियौं। हामी पास भयौ। गजाधर फेल भयो। गाउँमा खराब केटाको उदाहरण दिँदा त्यही गजेको दिन्थे। तर, आज गजाधर लायक, हामी नालायक भयौं। कारण के भने गजाधर जापान छ। उसले बिहे गरेपछि श्रीमतीलाई ऊ तै लान्छ रे दाम कमाएको छ उसले। अब गाउँमा हामीलाई केटी पाइँदैनन्, किनकि हामीसँग योग्यता नै छैन। त्यो योग्यता विदेशको पिआर-टिआर।
त्यहाँ बिहे नभएपछि केही दिनपछि छिमौली गाउँको अजयनन्द कि छोरी ज्योतिसँग बिहेको कुरा गरेँ। उसलाई पनि अस्ट्रेलियन बस्ने केटालाई दिने भनेर भने।
गाउँमा मेरै कुरा गर्न थाले। लौ यसको त बिहे नै नहुने भयो! तर, बिहे त हुन्थ्यो। तैपनि आफूले चाहेको कुल घरानामा हुने देखिनँ।
एक दिन तिलाहारीको पाखोमा घाँस काट्न जाँदै थिएँ। खत्री टोलकी सम्झना पनि बाटोमा थिई।
बाटोमा हिँड्दै गर्दा मैले ठट्यौली पारामा भनें- सम्झना तिमी र मेरो जोडी मिल्दछ।
तर, उनले भनिन्- कहाँ तिमी डोके-नाम्लेसँग बिहे गर्ने? मेरो त ब्वाईफ्रेण्ड छ। ऊ पोल्यान्ड गएको छ। एक वर्षपछि आउँदछ अनि उसैसँग बिहे हुन्छ।
उसले यति भनेपछि मेरो मनमा अनेक कुरा खेल्न थाले।
हुन पनि हो पहिला वडाअध्यक्षले जातपातका कुरा गर्दथे। अहिले उनकै छोराले आफूभन्दा सानो जातको बिहे गर्दा पनि उनीहरू खुसी छन्। किनकि, उनको बुहारीको विदेशको कार्ड छ।
बिहे नभएर बसेकी ठूलीकान्छी जब डिभी परेर अमेरीका गई, अहिले जिम्वालको छोराले बिहे गर्ने भयो। पहिला तिनै जिम्वालले फलानीसँग बिहे गर्ने यो संसारमा, यो जुनीमा जन्मेको छैनन् भन्दथे। जब डिभी परो आखिरी जिम्वाल ले नै बुहारी बनाएँ।
उसले थप्यो- हेर, नेपालमा अहिलेको इमान्दार को, सोझो को, मेहनती कसैलाई चासो छैन। विदेश गएका छन्, विदेशको कागज पत्र बनेको छ भने केटाले केटी अनि केटीले केटा तु पाउँदछ। तर, हामीले पाउन् गाह्रो भयो। विवाह त दुई जनाबीच हुन्छ तर त्यहाँ विवाह स्वार्थ र कार्डको लागि भएको हुन्छ। यो प्राय:ले बुझ्दैनन्।
घनराजले एकोहोरो भनिरहँदा मैले पुन: प्रश्न सोधें- तँ किन आइस त बाउलाई छोडेर? उसले भन्दै गयो।
गाउँमा सबै विदेश गए। म गाउँमा। गाउँघरमा केही पर्दा म सधैं सबैलाई सहयोग गर्ने तर कहिल्यै पनि ती गाउँले विदेशबाट आउँदा तँ गार्माँ छस् सबैलाई सहयोग भएको छ, धन्यवाद छ भनेर भन्न पनि भनेनन्।
यसो पनि लाग्यो - हिजो गाउँभरि असल देखिने म आज देशमा छु। गाउँमै केही गर्दछु भन्दा पनि यहाँ कुरा काट्ने बढी भेटें। कसैले भन्दछन्- छोरो भयपछि देश खाई शेष हुनुपर्दछ। किन जान्नस् विदेश भन्न थाले।
यसो गाउँघरमा पवित्र मनले भाउजू-बुहारीसँग बोले पनि लौ यसको बिहे भएको छैन। फलानो विदेश छ।फलानो कि स्वास्नीसँग उठवस गर्न खोजेको छ भनेर कुरा पनि काट्न थाले।
एक दिन साह्रै पीडाबोध भयो। अनि पीडा सबै बालाई भनें। बासँग सबै सल्लाह गरेँ। बाले पनि पिलपिल आँशु गर्दै स्वीकृति दिनुभो।
‘जा कार्ड बनाएर आइज’ भन्नुभो। एक जना फूपूको छोरो पोर्चुगल हुनुहुन्थो उहाँलाई कुरा गरेँ।
अनि ऊ आएको एजेन्टलाई ११ लाख दिएर प्रोसस गरेको ९ महिनामा म होल्यान्ड हुँदै पोर्चुगल आएँ।
खेतमा काम गरेको मान्छे यहाँको खेतीको काम गाह्रो भए पनि मैले गरेँ। खान त हन्डर खाएँ। आएको १८ महिनामै कार्ड बन्यो।
गाउँमा हल्ला छ रे मेरोबारे। अब त पहिला छोरी नदिने टोहोरे साइँलाले पनि आफ्नी २३ वर्षीय नर्स छोरी मलाई दिन पाए दिने भन्दछन् रे। लौ हेर यो कार्ड भनेको कति शक्तिशाली रहेछ।
उसले हाँस्दै भन्यो। म ३३ काटेको आइए पढेकोलाई १० वर्ष कान्छी अनि म भन्दा बढी पढेकी केटी पनि दिने भने। तर, यो मलाई होइन, मेरो कार्डलाई हो। अझै यति बेला मलाई पनि केटी दिने धेरै जना आउँदैछन् रे।
उमेर ३३ कट्यो। कार्ड पनि बन्यो। गाउँजस्तो, विदेश पक्कै छैन। तर, गाउँघरमा विदेश विदेशको पिआर भएकालाई हेर्ने नजर माथि छ। तर, यो गलत हो।
आफ्नो देशमा केही गर्ने र गर्न खोज्नेलाई कसैले हौसला दिँदैनन्। १० वटा बाख्रा किन्दछु एक लाख ऋण लेऊ भन्दा दिँदैनन्। तर, विदेश जान्छु युरोप-अमेरिका जान्छु भन्दा १०/१५ लाख दिन्छन्। घनराजले भन्यो। म पनि उसको कुरामा सहमत हुँदै सोचमग्न भएँ।
फेरि, मैले पुन: सोधें- के तँ साँच्चै डिल्ली बाजेलाई भनेर नै आएको होस् नि?
उसले फेरि भन्यो- सबै कुरा बालाई भंने अनि विदेश आएँ। हेर, कार्ड पनि बनाएँ। तलाई भेटेर मनको बह पोख्न पाउँदा म पनि आज औधी रमाएँ।
यति भन्दै घडी हेर्यो। लौ १२:३० भयो १ बजेबाट कर्फ्यु छ भन्दै बाटो लाग्यो।