सन्जु सानै उमेरदेखि तेज दिमाख भएको युवा हुन्।
स्कुलमा हुँदा कक्षामा मात्र होईन अतिरिक्त क्रियाकलापमा पनि सन्जु प्रथम हुन्थे। निम्न वर्गीय परिवारमा जन्मिएका सन्जुको बाबु आमाले गाउँघरमा चामल, मकै खरिद गरि बजारमा अलि महंगोमा बेचेर हुन्छ, या निमेक पर्म गरेर छोरालाई पढ्नमा कुनै कमी गराएनन्।
छोराको सफलता नै उनीहरूको आराम गर्ने चौतारी थियो। सन्जुले पनि मिहिनेत गरेर पढे। एसएलसी पनि ८० प्रतिशतभ्दा बढी अंक ल्याएर पास भए। १०+२ सदरमुकामबाट पढेका उनले स्नातक पोखराको पीएन क्याम्पसबाट गरे।
आफूले पढेको स्कुलमा एक जना राहत शिक्षकको आवेदन मागेको थियो। सन्जुले पनि आवेदन दिए। तर त्यहाँ सन्जुको केही लागेन। स्कुलमा सञ्चालक समिति अध्यक्षका भान्जा पर्नेलाई भित्रभित्रै मिलाइयो।
त्यसपछि सन्जुले विद्युत प्राधिकणमा खुलेकोमा आवेदन दिए। लिखित परीक्षा पास गरे। अन्तर्वार्तामा उनी वैकल्पिकमा परे। बरू छिमेकी नेताको मुस्किलले आईए पास गरेको छोराले पहिलो नम्बरमा नाम निकाल्यो।
किनकि, छिमेकी अहिलेको सत्ताधारी पार्टीका नेता हुन्। ऊर्जा मन्त्रालयमा पनि उनकै पार्टी नेता मन्त्री छन्। भनसुनमा उसले जागीर पायो तर एक गरिव र श्रम गरेर खाने परिवारको लगनशीर र प्रतिभावान युवाले जागिर पाएनन्।
अब सन्जुलाई गाउँ, घर बस्न मन लागेन।
सोच्यो, काठमाडौं गएर केही सानोतिनो जागिर गरेर पढ्छु। यस्तै सोच बनाएर घर सल्लाह गर्यो। बाबु आमाले पनि २ वटा खसी बेचेर ३० हजार रूपैयाँ दिएर छोरालाईलाई काठमाडौं पठाए।
काठमाडौंमा सन्जुलाई साथीले कोठा खोज्न सहयोग गरे। मंसीर ७ गते काठमाडौं पुगेको सन्जुले १० गते कोठा पायो तर घरबेटीले १ गते देखि कै भाडा लिने सर्तमा महिनाको ४५ सय रूपैयाँमा उनलाई कोठा भाडामा दिए।
त्यसपछि सन्जु जागीरको लागि हिड्यो। ठमेलका रेस्टुरेन्ट देखि बागबजारका सबै कन्सल्टेन्सी अनि असनका पसल देखि एअरपोर्ट अगाडिका सबै ट्राभलमा आफ्नो बायोडाटा दियो।
ठमेलको एउटा भेजीटेरीयन रेस्टुरेन्टले मंसिर २० बाट काममा बोलायो। अनि सर्त राख्यो १० दिन ट्रायल कामको विना तलव, त्यसपछि मासिक १० हजार।
त्यहीँ पनि उसले स्वीकार्यो। उता घरबेटीकोमा मंसीर १० मा जादा १ गते देखिकै भाडा तिर्नुपर्ने फेरि यता काममा २० गतेबाट जाँदा पनि १० दिन विना तलव गर्नुपर्ने।
सन्जुले सोच्यो, काठमाडौं पढे लेखेको र इमान्दारको लागि होइन रहेछ।
तै पनि सन्जुले काम गर्न थाल्यो। उनले मिहेनतका साथ काम गरेकाले साहुले पनि मन पराए। कहिलेकाहीँ साहुले सुन्दरीहरू ल्याउँथे उनीहरूको फोटो खिचेर आफ्नो रेस्टुरेन्टको फेसवुक पेजमा हाल्थे, अनि खाना खुवाउँथे र जानेबेलामा ८/१० हजार दिएर पठाउँथे। तर सन्जुलाई तलव दिन पनि एक दम गाह्रो गर्थे। कहिले ५०० कहिले १००० दिन्थे।
अब सन्जु सोच्न थाल्यो, ‘के मलाई पुरूष भएकैले साहुले पैसा नदिएकाको हुन् त?, एकै छिन आएर बसेर फोटो खिचेकै भरमा सित्तैमा खाना खुवाएर उल्टै ८/१० हजार पैसा दिने साहु अनि दोहोरी र क्लवमा गए ८/१० हजार टिप्स पनि साहुले मलाई काम गरेको तलव दिन गाह्रो किन?’
दुई महिना जसोतसो काम गरेर सन्जु त्यहाँबाट निस्कियो। त्यसपछि सन्जुलाई एक कन्सल्टेन्सीले बोलायो। महिना को १२ हजार तलव दिने सर्तमा उसले काम गर्यो। अफिसमा सबैसँग डिल उसैले गर्नुपर्ने भयो। अरूको पैसा बुझ्नुपर्ने, पोल्याण्ड, माल्टा, अस्ट्रेलिय जान चाहने विद्यार्थीका लागि भिसाको प्रक्रिया मिलाउनुपर्ने सबै काम उसैले गर्नुपर्ने तर साहुजी नदेखिने भए।
केही दिनपछि कन्सल्टेन्सीका मालिक १ करोड रूपैयाँ लिएर फरार भए। सबै पीडितले अफिमा आएर सन्जुलाईनै नै कराउन थाले। सन्जुलाई दलाल यहीँ हो भन्न थाले। प्रहरी आए। सन्जुलाई केरकार गर्यो। १/२ रात हिरासतमासमेत राख्यो।
सन्जुको मन बेचैन भयो। गाउँमा पावर, राजनीति, नातावाद र कृपावादबाट पीडित भयो। सहरमा सँगै पढेकी केटी आरूसी साथी स्कुटरमा हिड्छे किनकि, ऊ एउटा धनी मान्छेसँग लिभीङ टुगेदरमा छे रे। अध्यागमनमा काम गर्ने सरकारी अधवैसेले लिभीङ पार्टनर राखेको छ रे। चाहेको बेला पैसा दिने सपिङ गरिदिने स्कुटी किनीदिने गरेको छ।
यता एसएलसीसँगै दिएको अर्जुन फेल भयो मोटो खाईलाग्दो अर्जुन आज भोलि काठमाडौंमा पल्सर चढेर हिँड्छ। एक जना अधवैसेसँग प्रेममा छ रे। प्रसस्त धन सम्पत्ति भएकी। अधवैसेले उसको सबै चाहना र रहर पुरा गरिदिएको छे रे।
आज भोलि गाउँमा कुरा काट्न सुरू भएको छ। सन्जुले पढेर मात्र के गर्यो र बरू अर्जुन अनि पल्लो गाउँको आरूसीले त काठमाडौंमा प्रगति गरेको रहेछन्। तर सन्जु अल्छी रहेछ, पढेर पनि केही गरेन।
गाउँमा यस्ता कुरा सुन्दा अनि नेपाल सबैतिर देखेर हरेस खाएको सन्जुले हिजो बेलुकी फोन गरेर भन्यो, दाइ अझै पनि तिमी विदेस नआईजा भन्छौं।
म विदेस किन नजाउ दाइ म पनि आउछु नि पोर्चुगल।
सन्जुको यी माथीको भोगाई र वाध्यताले मैले पनि नाई भन्न सकिनँ। मनमनै त्यहीँ कुरा रातभरि गुन्जीरह्यो-दाइ अब पनि म किन नजाउँ विदेस?