२०७० सालको असौज तिर काठमाडौँबाट रात्री बसमा पोखरा हानियो। अलि-अलि पानी परेको थियो, रातको ११ बजे तिर ड्राइभरले खाना खान बस रोके। मुग्लिनमा बसबाट झरियो। एउटा टेबलमा हामी बस्यौँ, नजिकै अर्कोमा २/४ जना नेपाली बसेको थिए।
कुरा गर्दै गर्दा एउटाले सोध्यो, ‘तिमी कहाँ बस्दछौ?’
उसले भन्यो, ‘म पनि नेपालीको लागी मुग्लिन जस्तैमा बस्दछु।’ उसले भनेपछि सबै गलल हाँसे। उ फेरि भन्यो, ‘म मुग्लिन मै बस्दछु के।’
‘त्यो भनेको कहाँ हो?’ अर्कोले सोध्यो अनि उसले भन्यो ‘म पोर्चुगल बस्दछु।’
म बडो चाख मानेर सुनेँ। अर्को साल कन्फर्म आफू पोर्चुगल जाने कुरा थिएो। मेरो, अनि म अझै नजिक गएँ, उसको कुरा सुनेँ। मलाई त्यति बेला उसको कुरा बेतुकको लागेको थिएो। मैले सोचेँ, हैट कति गफ लगाउन सकेको होला। कहाँ पोर्चुगललाई मुग्लिन भनेको होला।
तैपनि चिनजान गरौँ, यसो काम पो लाईहाल्दछ कि भनेर चिनजान गरियो। अन्तमा उसले भन्यो, ‘लौ भाइ, नेपालको मुग्लिनमा परिचय भयो, युरोपको मुग्लिनमा भेट हौला’ भन्दै उनी अर्को गाडीमा चितवन तिर लागे। हामी त्यही गाडीमा पोखरा तिर हिड्यौँ। बाटोसँगै कुरा पनि फरक भए,
प्रसंग फरक भो तर तिनले किन पोर्चुगललाई नेपालीको मुग्लिन भने, त्यो मनमा रहिरह्यो।
समय बित्यो, अर्को वर्ष म पनि पोर्चुगल आएँ। तर पनि यी दाजुले किन मुग्लिन भने? त्यो प्रश्नको उत्तर खोज्दै थिएँ। कहिलेकाहीँका शब्द अनि कुनै क्षण बडो अविस्मरणीय हुन्छन्। मलाई ती दाजैसँग गफिएको त्यो मुग्लिनको १५ मिनेट अविस्मरणीय लाग्यो। परिचय त गरियो, नाम झ्याप्प भुलिएछ।
पोर्चुगल आएर पनि ती दाजैलाई नसम्झेको होइन, नखोजेको होइन तर भेटिएनन्। जब अकस्मात संसारमा कोरोनाले ग्रस्त बनायो, पोर्चुगलमा पनि स्वास्थ्य संकटकाल लगायो। प्रायः सबै भित्र नै बसे। जब कोरोनाको संक्रमित न्यून भयो, अनि मान्छे पनि यसो पार्क समुन्द्रीक किनार तिर हिड्न थाले।
हामी पनि एक साँझ पार्क तिर डुल्दै थियौँ। ३/४ जना नेपाली पनि त्यही पार्कमा गफिदै थिए। दुई जना ११/ १३ जतिका बालबालिका १ दम्पत्ति। हामी पनि यसो नजिकै गएौँ, जब उहाँको बोलीको स्टाइल र शैली, थेगो सुनेँ, मलाई मुग्लिनको याद आयो। मैले सम्झाएँ।
उहाँले पनि झट्ट सम्झेर धाप मार्दै भने, ‘हैट्! हामी नेपालको मुग्लिनमा भात खाँदा भेटेको। युरोपको हाम्रो लागि मुग्लिन, पोर्चुगलमा हावा खाँदा भेटियो’ भन्दै हास्नु भयो। म पनि ह मा ह गर्दै हाँसे।
गफगाफ भयो। उनले भने, ‘मेरो त रातो आईसक्यो (रातो पासपोर्ट)। यूके गएर पनि एनआई भरेँ, अब डेनमार्क गएर सिपीआर भर्दछु। पैसाको लागि त डेनमार्क ठिक हो तर बच्चाको भविष्यको लागि यूके जाने निधो गरेँ।’
उनले एकै स्वरमा भने। मुग्लिनमा भेटेको दाजुको लामो कपाल, जुरेली स्टाइलले कोरेकोमा अहिले त तालुमा एक रौ पनि रहेनछ। दाजुले फेरि आफैले भने, ‘पोर्चुगलले खायो हजुर। यहाँको काम, कागज पत्र, परिवार बोलाउ, छोराछोरी बोलाउ, यता यो गर उता उ गर, स्ट्रेसले मेरो त सबै कपाल गयो’ उनेले भने।
मैले पनि छाते टोपी खोलेर देखाएँ। उनले भने ‘लौ सुरु भएछ। अब यो मुग्लिन छोड्ने बेलासम्म सबै झर्दछ,’ हाहाहाह... गर्दै भने।
मैले आज उनीसँग किन के कारणले यो मुग्लिन भयो भनेर प्रष्ट पार्न भनेँ। उनले भन्न सुरु गरे।
‘हेर भाइ, अहिले को कुरा छुट्टै हो तर पहिला-पहिला तिमी मुग्लिन नआई सुखै थिएन। काठमाडौँ जान पनि मुग्लिन नै आउनु पर्दथ्यो। पोखराबाट होस् या पाल्पाबाट होस् अनि चितवनबाट होस् या दाङबाट होस्, गोर्खाबाट होस् या पर्वत बाग्लुङबाट होस्, हामी गाडी चढेपछि मुग्लिन आएर नै यत्रतत्र जाने गर्दछौँ।
मुग्लिन हुँदै जानु पर्दथ्यो। हो, अहिले फास्ट ट्रयाक् सिन्धुली खुर्कोट सडक आदि-आदि आए तर पहिला मुग्लिन नआई कतै पनि जान सकिदैनथ्यो। धादिङ बन्द, चितवन बन्द भयो भने सबै बन्द जस्तै हुन्थ्यो। हामी कहिले आफ्नो भोक मेटाउन मुग्लिन झर्दथ्यौँ, कहिले गाडी चेन्ज गर्न मुग्लिन झर्दथ्यौँ, कहिले ड्राइभरहरु आफूले पाउने कमिसनको लागि जबरजस्ती मुग्लिनमा खाना खानको लागि गाडी रोक्ददथे।
मुग्लिनमा जति पनि मान्छे ओहोर-दोहोर गर्दछन् तर त्यहाँ आधा घण्टा या एकाध घण्टाभन्दा रोकिदैनन्। उनीहरु आफ्नो गन्तव्यमा जान्छन्। हजारौँमा एका दुई त्यही बस्लान, कसैले मकै पोलेर बेच्लान, कसैले त्रीशुलीको माछा बेच्लान्, कोही कोही व्यापार गर्दछु भन्ने हरु मात्र मुग्लिनमा अडिएलान्। नत्र सबै जना मुग्लिनमा रोकिन्छन्, गाडी चाहिनेले अर्को गाडी लिन्छन्, तिर्खा लाग्नेले तिर्खा मेटाउदछन्, खाना खानेले भोक मेटाउदछन्, सौच गर्ने शौचालय जान्छन् अनि मुग्लिनबाट आफ्नो गन्तव्यमा लाग्दछन्।’
मैले सोधेँ ‘फेरि पोर्चुगल कसरी मुग्लिन् भयो त?’
उनले भने, ‘हेर मसँगै आएको साथीहरु यहाँ एक जना पनि छैनन्। हामी युरोपका विभिन्न देशमा आउदछौँ। कोही विद्यार्थी भिसामा, कोही भ्रमण भिसामा, कोही सभा समारोहमा, कोही नेताको पछि लागेर, कोही दलाललाई लगाएर युरोपका विभिन्न देशमा आउदछौँ।
त्यहाँ कोही शरणार्थी हुन खोज्दछौँ, कोही पिआर ग्रीन कार्ड लिन खोज्दछौँ। कोही वर्क पर्मिटमा बस्न चाहन्छौँ तर सबै तिर असफल भएपछि भयपछि अनि हामी सबै पोर्चुगलमा ठोकिन्छौँ। अनि हाम्रो यहाँ आएपछिको सोच कसरी कागज बनाउने? कसरी परिवार ल्याएर अनि पासपोर्ट पाएपछि कहिले अर्को देशम गएर कमाउने? भन्ने मात्र हुन्छ।
मसँगै आएको सबै साथी कोही नर्वे, कोही बेल्जियम, कोही यूके गए। युरोप आएका प्रायःजसो पोर्चुगल आउदछन्। यहाँ आएर ६/७ वर्ष मा पासपोर्ट लियपछि ९९% यहाँबाट पुनः अर्को देशमा जान्छन् नेपाली।
प्रायःको पोर्चुगल गन्तव्य पासपोर्ट पाउने, यहाँबाट अन्त जाने हुन्छ। यहाँ नआई सुखै पनि छैन, आएपछि पासपोर्ट पाएपछि कोही पनि बस्दैनन्। हो, त्यसैले यो युरोपमा मुग्लान् हो नेपालीको लागि’ उनले भने।
उनले जब भने, म यो कुरालाई नाई भन्न सक्ने आधार नै देखिनँ। २०१४ मा म आउदा यहाँ भेटेकाहरु आज यहाँ छैनन्। उनीहरु कहाँ-कहाँ पुगीसके। साँच्चै, पोर्चुगल हामी नेपालीको लागि मुग्लानको मुग्लिन नै हो। हामी यहाँ आउदछौँ, केही वर्ष बस्दछौँ, पासपोर्ट पाउदछौँ अनि यो विदेशबाट हामी अब सिदेश तर्फ जान्छौँ।
नेपालबाट विदेश अनि विदेशबाट पनि अर्को देश सिदेश जान्छौँ। दाजुसँग गफिएर घर फर्कियो तर नाम सोध्न त फेरि भुलेछु। जब घर आएँ, रातभरी सोचेँ ‘हो, उनले भनेको ठिक हो। हामी युरोपको मुग्लिन पोर्चुगलमा नै छौँ।’
अचेल मलाई कसैले सोध्यो भने, कहाँ हो बसाई भन्यो भने, म पनि त्यही भन्दछु ‘म युरोपको मुग्लिन पोर्चुगल बस्छु। आजका दिनसम्म खुसी नै छु।