७ वर्षअघि दुबई टर्की ग्रिस हुँदै पोल्यान्ड आए उनी।
रामचन्द्रले कमाएको पैसाको कुरा नगरौं बरु उनले पाएको हन्डर पैसाको भन्दा दोब्बर थियो।
पोल्यान्ड आएर १/२ वर्ष बसे उनी। ५ वर्ष अगाडि पोर्चुगल आए। खाली पासपोर्ट आएका रामचन्द्रको ३ वर्षमा पोर्चुगलको धारा १२३ अनुसार कार्ड बन्यो।
२ वर्षको रिन्यू गरेर घर जान्छु भनेका रामचन्द्रको वुबाको अकस्मात् निधन भयो। उनको कार्ड रिन्यू हुनुभन्दा १० दिन पहिला उनका बुवा बिते।
नेपाल जान चाहना हुँदाहुँदै उनी जान पाएनन्।
घर परिवारले पनि कि खडमासीकामा कि वर्ष दिनमा आउनू भनेर सुझाए।
मन भारी बनाउँदै उनी पोर्चुगल बसे। आफ्नो दैनिक कार्यमा व्यस्त भए।
गत मे/ जुनमा १० युरो हालेर एनआरएनए पोर्चुगलको कसले सदस्यता बनाइ दिएछन्। पछि सदस्यता बनाइदिनेलाई सोधी खोजी गरेर १० युरो दिएछन् पनि।
सबैको मिलन सार साथी हुन् रामचन्द्र।
उनी नेपाल जाने थाहा भएपछि उनको पनि नाम विश्व सम्मेलनको लागि प्रतिनिधि (डेलिगेट) को नाम लिस्टमा नाम लेखिदिए पोर्चुगलमा।
उनी नेपाल गए। घटस्थापनाको दिन थियो बुवाको वार्षिकी सके। दसैं पनि खल्लोगरी नै मनाए।
दसैंपछि एनआरएनएको रौनक छायो काठमाडौंमा, उनी पोखरा थिए।
एनआरएनएको चुनावभन्दा केही दिनअघि उनलाई फोन आयो, 'रामचन्द्र तिमी कहाँ छौ?'
'पोखरामा',जवाफ थियो उनको।
'काठमाडौं आऊ। जहाजको टिकट चाहिन्छ भने बुद्ध एयरको टिकट काटिदिन्छौं। बिहान पहिलो फ्लाइटमा आऊ', उताबाट फोनबाट कसैले भने।
'पर्दैन म आउँछु। आजकै रात्री बसमा। पैसा पर्दैन यार, २/४ पैसाको लागि इमान बेचेको छैन', उनी जवाफ फर्काउन्छन्।
भोलिपल्ट उनी काठमाडौं पुग्छन्।
एनआरएनएको विश्व सम्मेलन हुने स्थान र एनआरएनएको कार्यालयमा जान्छन्।
उनी जब एनआरएनएको कार्यालयमा पुग्छन् त्यहाँको बेथिति अनि त्यहाँ उपस्थित एनआरएनएको असभ्यता देख्दा उनी छक्क पर्छन्।
हायात होटलको बाहिर एक समूहतिर लम्कन्छन्, जहाँ पोर्चुगलबाट गएका एनआरएनएका प्रतिनिधि थिए।
३०० युरो तलब दिने साहुजीहरू मध्यरातमा कोठाबाट निकाल्ने, तलब नदिने, दादागिरी, गुन्डागिरी गर्नेहरू त्यहाँ देख्दा उनी अचम्मित हुन्छन्।
उनले त्यहाँ सोचेको भन्दा फरक माहोल पाउँछन्। अलि पर एक जनाले एक अध्यक्ष, अर्कोले अर्को अध्यक्षको पक्षमा दोहोरी गाए। जसरी आमनेसामने अर्काको (कनार्कुटी) काँधमा चढेर चुनाव प्रचारमा लागेको देख्न उनी अवाक् हुन्छन्।
युरोपको जर्मन र युकेबाट गएका एनआरएनएका अध्यक्ष प्रत्यासीहरू नै सभ्यता बिर्सेर बिहार-मोतीहारीपुरको कुनै गाउँ पञ्चायतको चुनाव प्रचार स्टाइलमा नाराबाजी गरिरहेका देख्छन्।
कोही एनआरएनएहरू चाहिँ एयरपोर्टमा लफडा गरेर प्रहरीको फन्दामा छन्। कोही अघिल्लो रातमा एनआरएनएका उम्मेदवारले खुवाएको रक्सीले ह्याङ भएर टोलाएर बसेको छन्।
एनआरएनमा प्रतिनिधि भएर आएका आधाभन्दा बढीलाई उम्मेदवारहरूले पैसा हालेर ल्याएका छन् भने मतदाता नामावलीको लागि २०/२० हजार प्राय: उम्मेदवारले नै हालिदिएका छन्।
झोला बोकेर छेऊमा पोर्चुगल प्रतिनिधि आउनु भो अनि भन्नु भो '२० हजार लिनुस्, भोट फलानोलाई हाल्नुस् तर रसिद दिनुस्।'
जब उनीहरूले यसो भने रामचन्द्रले भने, 'म पोर्चुगलमा परिश्रम गर्छु। तपाईंहरू जति नकमाएको हौंला। गरिब छु, तर २-४ पैसाको लागि इमान गुमाएको छैन। मलाई पैसा पर्दैन।'
यति भन्दै उनी बाहिर निस्किए।
उनले सोचेका एनआरएनएका पात्र र तिनको प्रवृत्ति सोचेभन्दा आकाश पाताल थियो।
उनी एनआरएनप्रति र तिनीहरूको व्यवहारप्रति घृणा जाग्यो हायातबाट ट्याक्सी लिएर बागबजारमा गए।
बागबजारको भित्री गल्लीमा राधेश्यामको चिया पसल थियो।
राधे श्यामले हाँस्दै भने, 'लौ आए एनआरएनए।'
रामचन्द्रले भने, 'म हायातको एनआरएनए होइन।'
अलि उता युवराज श्रेष्ठको मिनी सुपरमार्केट छ। रिचार्ज किन्न गए। उनले पनि हाँस्दै भने, 'लौ एनआरएनए पो आएछन्। फ्रिमा टिकट पाए मौकामा चौका हाने।'
रामचन्द्रले पुन: भने,'म हायातको एनआरएनए होइन।'
भोलिपल्ट मनमैजुमा ठाकुर कँडेलको म:म रेस्टुरेन्टमा गए।
त्यहाँ पनि हाँस्दै गिज्याउँदै भने, 'लौ एनआरएनए आए। फेरि एयरपोर्टको डेस्क फोरेझैं यहाँ पनि फोर्लान्। म:म चाँडै देऊ।'
उता रामचन्द्रले पुन: भने, 'म हायातको एनआरएनए होइन हो।'
रामचन्द्र अबदेखि आफू विदेशबाट आउँदा एनआरएनको सम्मेलनको बेला नेपाल नजाने सोचाइ बनाएका रहेछन्।
एनआरएनको नाममा संसारभरबाट गएका ०.१ प्रतिशतले अन्य ९९.९९% कै वेइज्जत गरेकोमा दुखी छन् उनी।
आज बिहान मैले फोन गरेँ। उनले सबै इतिवृत्तान्त भने।
मैले फेरि हाँसो गरेर भने, 'रामचन्द्र, मौका मै चौका हान्नु पर्ने १/२ लाख आउँथ्यो नि?'
रामचन्द्रले झोक्किँदै भने, 'दाइ म त्यो हायात होटलवाला एनआरएनए होइन। अनि २/४ पैसाको लागि इमान बेच्दिनँ।' यति भन्दै फोन राखे।
म पनि मनमनै सोचे जे गरे रामचन्द्रले ठीक गरे म पनि कसैलाई परिचय दिँदा अब उप्रान्त हायातवाला एनआरएन हैन भन्ने निर्णय गरेँ...