गैर आवासीय नेपालीको साझा संस्था अनि सबै विदेशमा बस्ने नेपालीलाई समेट्ने भन्ने उद्धेश्यले गैरआवासीय नेपाली संघ ( एनआरएन) को गठन गर्नुभयो,केही अग्रजहरूले।
तर उहाँहरूले एनआरएनलाई एउटा शक्तिको र आफ्नो जुंगा लडाइँको लागि प्रयोग हुने संस्थामा परिणत गर्नुभयो।
विदेशमा हुने नेपालीको लागि र विदेशमा रहने नेपालीको हक अधिकार अनि समस्यामा परेकालाई सहयोग परामर्श दिएर मन जित्नुपर्नेमा एनआरएनका पदाधिकारीले विदेशीमा बस्ने नेपालीको समस्या समाधान भन्दा पनि एनआरएनमा गइसकेपछि बढी भाषण र सम्मानमै आफ्नो समय बताउन रुचाउने, अनि एनआरएनको कार्यसमितिमा राम्रो भन्दा हाम्रो अनि असल भन्दा दलगत उम्मेदवार जाने र चुनिने प्रवृत्तिले एनआरएनमा तृष्णा भन्दा बढी वितृष्णा छ।
यसको सानो उदाहरण,पोर्चुगलमा झन्डै ३० हजार नेपाली छन्।
एनआरएनको सदस्यमात्र २२ सय बने त्यो पनि आफूखुसी होइन। कति त जबरजस्ती पनि बनेका छन्।
ओइ म चुनावमा उठ्छु तँ जसरी नि सदस्य बन् मलाई भोट हाल्नको लागि भनेर सदस्य बनाउने र बन्ने धेरै छन्।
भोट १ हजार ४ सय ७२ मात्र खसे।
कतारमा झन्डै १ लाख नेपाली छन् त्यहाँ ४३/४४ सय मात्र सदस्य बने भने चुनावमा ३ हजार ४ सय २० ले भोट हालेका छन्।
जापानमा ९० हजार नेपाली छन् तर त्यहाँ ५ सय ५० भोट ल्याएर एनआरएनको अध्यक्ष जितेका छन्।
उता बेलायतमा डेढ लाख नेपाली छन्। एनआरएनका केन्द्रीय उपाध्यक्ष पनि बेलायत छन्। त्यहाँ पनि १२ हजार नेपालीमात्र एनआरएन सदस्य छन्।
जर्मनमा पनि एनआरएन केन्द्रीय उपाध्यक्ष छन्। त्यहाँ पनि एनआरएनको सदस्य संख्या न्यून छ।
समग्र हेर्दा एनआरएनले विदेशमा रहेका नेपालीमध्ये १० प्रतिशतलाई पनि एनआरएनमा आबद्ध गर्न सकेको छैन। एनआरएनका पदाधिकारीको आचरण राजनीतिक र पैसावालाको बोलवालमा भर परेको छ। एनआरएनमा पैसा नहुनेहरूको पहुँच हुँदैन। राजनीतिक र पहुँचवालामात्र एनआरएनमा आबद्ध हुँदा एनआरएनले विदेशमा हुने नेपालीको हितमा काम गर्न सकेको छैन।
एनआरएनमा वितृष्णा बढ्नुको केही कारण
धनीको मात्र संस्था
एनआरएनको केन्द्रमा जित्न होइन उम्मेदवारी दिनको लागिमात्र पनि चर्को मूल्य तिर्नुपर्छ।
त्यसको लागि विदेशमा काम गर्दै समाज सेवा गर्छु भन्नेले यो संस्थामा जान कहिल्यै पाउँदैनन्। आउँदो अक्टोबरमा काठमाडौंमा एनआरएनको केन्द्रीय अधिवेशन हुँदैछ। यहाँ अध्यक्षको लागि उम्मेदवार दर्ता शुल्क १० लाख रुपैयाँ वा १० हजार डलर।
उपाध्यक्ष महासचिवको लागि ६ लाख वा ६ हजार डलर।
सचिव तथा कोषाध्यक्षको लागि ५ लाख रुपैयाँ वा ५ हजार डलर।
सहकोषाध्यक्षको लागि चार लाख रुपैयाँ वा ४ हजार डलर।
महिला तथा युवा संयोजक र क्षेत्रीय संयोजकको लागि ३ लाख ५० हजार रुपैयाँ वा ३५०० डलर
क्षेत्रीय उपसंयोजक क्षेत्रीय महिला तथा युवा संयोजकको लागि दुई लाख पचास हजार रुपैयाँ वा २५०० डलर
र प्रत्यक देशबाट जाने आइसीसी सदस्यको लागि एक लाख रुपैयाँ वा एक हजार डलर लाग्छ।
त्यसकारण पनि एनआरएनमा पैसा हुने मात्र चुनाव लड्न सक्छन्। यी कारणले पनि एनआरएनप्रति तृष्णा भन्दा वितृष्णा पैदा भएको छ।
महँगो मतदान
एनआरएनको केन्द्रीय अधिवेशनमा त्यसै भोट हाल्न पाइँदैन। गत २०१७ मा एक मतदाताले मतदाता नामावली दर्ता गराएवापत २०० डलर तिर्नु पर्थ्यो यो अत्यन्त महँगो हो। हुन त त्यहाँ आफूलाई भोट हालिदिनेलाई त्यो रकम तिरिदिने उम्मेदवार हुन्छन् तर सरसर्ती हेर्दा भोट हाल्न २०० डलर अत्यन्त महँगो हो। त्यसकारण पनि एनआरएनमा वितृष्णा बढी छ।
पैसाको चलखेल
एनआरएन अध्यक्ष हुन यदि दुई जना उम्मेदवार भए भने त्यहाँ कमाउनेले कमाउने समय यही हो भन्ने गर्छन्। आफूसँग ५०/६० भोट भएको र आफूलाई यति लाख दिए ती भोट आउँछन् भन्ने भोटरहरु पनि त्यहाँ गएका हुन्छन् भने कतिलाई अध्यक्ष/ उपाध्यक्ष लगायतका उम्मेदवारले खर्च हालेर नै नेपाल लगेका हुन्छन्। एनआरएनको अध्यक्ष बन्नको लागि घोषित अघोषित रूपमा कम्तीमा १०-१५ करोड पनि खर्च गर्न पछि नपर्नेहरू नै अध्यक्ष हुन्छन्। यो पैसा कही सामाजिक काम र लोककल्याणकारी काममा नभए भोज भतेर खानपान, भोटर किनबेच लगायतको कुरामा हुने गर्छ।
(मेरो २०१७ को प्रत्यक्ष देखाइ अनुभव हो मेरो )
भद्दा देखासिकी
एनआरएनको चुनाव काठमाडौंको भव्य र महँगो होटलमा हुने गर्छ। तामझाम अत्यन्त हुन्छ। अरबको जेलमा भएका, कुवेतमा घरेलु शोषण, भएका केन्यामा नाच्न बाध्य भएका, यमनमा पीडित भएका, पोर्चुगलका रोडमा सडक छाप भएर हिँडेका, कतार, अरव, मलेसिया दलाल तस्करबाट पीडित भएका श्रम शोषण भएकाको त्यहाँ चर्चा परिचर्चा, कसरी समस्या समाधान गर्ने भन्ने कुनै चिन्तन मनन हुँदैन।
त्यहाँ त नेपालका राष्ट्रपति, प्रधानमन्त्री,मन्त्री लगायतका महत्वपूर्ण व्यक्तित्व आउँछन्, भाषण दिन्छन्,शुभकामना दिन्छन्। तर त्यहाँ विश्वभरबाट आएका एनआरएनका पदाधिकारी अत्यन्त कम हुन्छन् जो साँच्चै मन जितेर आएका हुन्छन्। तर पनि सबैले उनीहरूलाई स्वागत गर्छन्। केही थान फोटो खिच्छन्।
अक्टोबर १५-२० काठमाडौं एनआरएनमय हुनेछ।
धेरै पत्रपत्रिकामा बधाई र शुभकामनाको ओइरो लाग्नेछ। यसरी नै एनआरएन २०१९-२०२१ को केन्द्रीय कार्यसमिति चुनिने छ।
नेपालमा एनआरएनको चुनावमा तृष्णाभन्दा वितृष्णा बढी हुनेछ। किनकी केही बढी नै व्यापार हुनेछ, कसैलाई फाइदा पुग्नेछ। तर विदेशमा एनआरएनले सोचेजस्तो प्रभाव पार्न सकेको छैन यी यावत कारणले। त्यसैले सबै एनआरएन अभियान्ताले बेलैमा सोच्नु जरूरी छ ।