केही वर्ष पहिला काठमाडौंमा एक २९/३० वर्षीय युवासँग भेट भो।
अति भद्र देखिने उनीसँग परिचय गर्न मन लाग्यो। हाम्रो परिचयपछि उनले भने ‘मेरो नाम जायश्वर शर्मा फलानो मन्त्रालय मा सुब्बा पदमा कार्यरत छु।’
जब उनले परिचय दिए। मलाई ढुङ्गा खोज्दा देवता मिले झैं भो। मैले कुरा काटेँ।
‘ओहो! सुब्बासाप हुनुहुँदो रहेछ। मेरो सानो काम थियो त्यहाँ मलाई सहयोग गर्नुपर्यो बरू म केही सहयोग गरौंला’, मैले भने ।
‘सर यस्ता कुरा मसँग नगर्नुहोस् म तपाईलाई सहयोग गर्ने छु मलाई यो वापत केही चाहिँदैन सर म त्यस्तो कर्मचारी होइन’, उनले भने।
भोलिपल्ट सुब्बासापले मन्त्रालयमा बोलाए। सिंहदरबारको गेटमा आएर फोन गरेँ।
उनले त्यहाँ(गेटपासमा) फोन गरिदिए म सरासर सिंहदरबारभित्र छिरेँ।
उनले भने, ‘तपाईंको यो व्यक्तिगत काम होइन यो समाजको लागि काम हो।त्यसैले म तपाईंलाई सहयोग गर्छु। सधैंभरि लिन आउन सक्दिनँ त्यसैले पास बनाइदिन्छु।’
उनले तीन महिनाको लागि पास बनाइदिए।
एकदिन कुरा गर्दै मैले भने, ‘सुब्बासाप जाऊ पोर्चुगल।’
‘नाइ म नजाने। देशमै केही गर्ने हो। अब अर्को वर्ष अधिकृत लड़्ने हो नाम निकाल्छु। २ छोरी, श्रीमती छन् उनीहरूलाई पढाउँछु। जेनतेन यहीँ केही गर्छु तर विदेश जान्नँ’, उनले भने।
केहीदिनको बसाइँपछि म विदेशतिर लागेँ।
विदेश जानुअघि केही उपहार दिँदा पनि उनले लिन मानेनन्।
उनले भने, ‘म तपाईंसँग कुनै कुराको अपेक्षा गरेर सहयोग गरेको होइन मलाई केही चाहिँदैन।’
उनले यसो भनिरहँदा मैले भने, ‘सुब्बासाप तपाईं यदि घुमघामको लागि युरोप आउनु भयो भने जसरी नि पोर्चुगल आउनु होला नि।’ ‘हुन्छ’, उनले टाउको हल्लाउँदै भने।
म विदेश गएपछि सुरूका २/४ महिना हेलो/ हाइ भयो पछि क्रमश: पातलियो।
केही दिन अगाडि पोर्चुगलको राजधानी लिजवनको मार्टेमुनिज पार्कमा हिँड्दै थिएँ।
होटल मुन्डेल अगाडि रूखको छहारीमुनि एक जना नेपाली देखेँ अग्लो कदको ति नेपालीलाई चिने जस्तै लाग्यो। नजिकै गएँ २ जना नै हेराहेर गर्यौं। मैले झ्याप भने, ‘सुब्बासाप’
उनी अक्मकिए अनि पछि उनले पनि चिने।
लामो गफ भयो मैले सोधें, ‘कति भयो आएको सुब्बासाप?’
‘४५ दिन भयो’, उनले भने।
‘अनि किन खबर नगर्नु भएको त मलाई ?’, मैले प्रश्न गरेँ।
‘खै सर मैले सम्झेको त हुँ। यहाँ आएर सबै जनासँग संगत गर्दा थाहा भयो परदेशमा आफ्नो भन्ने कोही हुँदोरहेनछ’, उनले भने।
‘सुब्बासाप तपाईंले भनेको त ठीक हो तर तपाईंले मलाई गुन लगाउनु भएको छ नि। हो म त्यो गुन तिर्न भए पनि सहयोग गर्छु। बरू भन्नुस् अधिकृत हुने विदेश जाँदै नजाने अड्डी कस्नु भएको थियो कसरी आउनु भयो तर?’, मैले सोधेँ।
उनले बेलीविस्तार लगाए।
पढाइमा तगडा नै थिएँ। एसएलसी पनि राम्रो अंक ल्याएर पास गरे + २ र स्नातक सरासर पास गरेँ। लोक सेवामा लडेको सरकारी जागिर पनि सुरू गरेँ नासुबाट।
जागिर काठमाडौंमा तलब २५ हजार थियो। (अहिले ४७०० बढेर २९ हजारको हाराहारी छ)।
जागिर सुब्बाको छ मेरै तहका साथीहरू एयरर्पोटमा छन्। मन्त्रालयमा मन्त्रीको आसेपासे छन्। जुन दलको मन्त्री आए। रंग फेर्न जानिहाल्छन्।
कमाइ राम्रो छ घर घडेरी जोडेका छन् तर म न कुनै दल न कुनै चाकडी न कुनै युनियन म कतै पनि लागिनँ।
सरकारले दिएको तलबबाहेक मैले कहिल्यै कहीबाट आर्थिक लाभ लिइनँ।
२५ हजार तलबले मैले ७५ सय डेरा भाडा तिर्नु पर्छ। एक छोरी युरोकिड्समा छ अर्को एउटा बोर्डिङमा। २ छोरीको खर्च ८ हजार। बहिनीको बिहे गरियो ८ लाख ऋण छ। महिनाको व्याज मात्र १२ हजार तिर्नु पर्छ। खाना यता उता मसलन्द खर्च ६ हजारभन्दा माथि।
केही महिना अगाडि श्रीमतीको पथरीको अपरेसन गर्दा ३० हजार लाग्यो। गाउँ घरबाट आउनेहरू पनि सरकारी जागिरे छ। प्रगति गरेको छ भन्छन्। केही सहयोग गर्दैन छुच्चो भयो भन्छन्।
उता दिदी बहिनीले दाइले भाउजुको कुरा सुनेर हामीलाई सहयोग गरेन भन्छन्।
अनि अफिस गयो तोक आदेश आउँछ। नेता उच्च पदस्थ कर्मचारीको फोन। नगरौं आफू अफ्ठ्यारोमा परिने गरौं कुनै न कुनै दिन अख़्तियारको फन्दामा परिने डर।
मैले धेरै काम नेताको सोर्सफोर्समा गरिनँ। इमान्दारितामा काम गरेँ। इमान्दारिता काम गरे वापत म समाज, परिवारमा माया होइन घृणाको पात्र बनेँ। किन कि म घूस खान्न तलबले मात्र सबैलाई रिझाउन सकिनँ।
एक दिन एउटा सत्तापक्षका नेताले यो काम गरिदिनु पर्यो भने मैले यसो हेरे यो त कालान्तरमा फसिने काम हो मैले गरिनँ।
त्यसको एक महिनापछि मलाई दुर्गममा सरूवा गरियो त्यो पनि हुलाक कार्यालयमा।
श्रीमतीलाई काठमाडौं छोडेर म कार्यक्षेत्र गएँ।
केही महिनापछि बढुवाको लिस्ट आयो। मलाई थाहा थियो म अधिकृत पक्का हुन्छु। तर भइनँ। म भन्दा जुनियर घुस, चाकडी र चापलुसी गर्नेहरू अधिकृत भए।
एकपटक मैले कार्यक्षेत्रमा राजनीतिक हाबी देखाउने मित्रलाई गाली गरेको तिनै मित्र राजनीतिक पहुँचको आधारमा अधिकृत भएछन्। अब उनी यही म कार्यरत अफिसको अधिकृत हुने भए। इमान्दारपूर्वक नेपालमा केही गर्छुभन्दा जतासुकैबाट बन्धनमा पर्न थालेँ।
एकदिन श्रीमतीसँग विदेश जाने सल्लाह गरेँ। त्यही अनुरूप आज म यहाँ छु।
आएको ४५ दिन भो पोर्चुगलमा। नेपालबाट हरेक तह तप्काको मान्छेहरू र उमेरले १९ देखि ४९ सम्मका पनि कार्ड बनाउन नै आएको रहेछन्।
‘युरोप आउनुस् सहयोग गरौंला भन्नु भएको थियो कि गफै मात्र हो? लौ सहयोग गर्नुहोस्’, उनले हाँस्दै भने।
मेलै साथीको सहयोगमा उनलाई बस्न र कामको व्यवस्था मिलाइ दिएँ।
अहिले ओरन्ते भन्ने ठाउँको चाइनिज रेस्टुरेन्टमा भाँडा माझ्ने काम गर्छन्।
आज सुब्बासापसँग भेट भो।
उनले आम्दानी राम्रै भएको, शारीरिक काम गाह्रो भए पनि मानसिक तनाव व्यहोर्नु नपरेको बताए।
उनले भने, ‘कृपया मलाई सुब्बासाप भनेर नबोलाउनु। मेरो अनुरोध छ।’
केही दिन अघि युरोपमा छछल्किएका लेक्चरका आँसु अनि ४० कटेसी रमाउला शीर्षक भएका लेख सेतोपाटीमा पढेका रहेछन्। हाँस्दै भने, ‘फेरि सुब्बासापको छछल्किएका आँसु नलेख्नू है।’
‘सुब्बासापलाई पोर्चुगलमा भेट्दा यो लेखौं है,’मैले हाँस्दै भने।
उनले प्रतिक्रिया जनाए। आफ्नो झोलाबाट एउटा पोको निकालेर दिए (मस्यौरा र सिन्की) मसँग यो छ यो मेरो उपहार प्रेमपूर्वक खानु होला म लागेँ आज बैक एकाउन्ट खोल्नु छ भन्दै उनी लागे।
..म एकछिन घोत्लिरहेँ।
के अब इमान्दार कर्तव्यनिष्ठ नागरिक कर्मचारी व्यापारी जनतालाई,नेपालमा ठाउँ नभएकै हो?
सुब्बासापलाई पोर्चुगलमा भेट्दा यस्तै प्रश्न उब्जिरहे।