नमरी स्वर्ग देखिँदैन भने झैं हामी आफूले नभोगेसम्म, नदेखेसम्म कसैको विश्वास कमै गर्छौं।
अझ विदेशमा त्यसमाथि पनि युरोप, अमेरिका, जापान, अस्ट्रेलियाको बारे त हामी नेपालमा हुँदा सोच्छौं- त्यहाँ पैसा कमाउन सजिलो छ भनेर।
काम सजिलै पाइन्छ, कमाइ सजिलै हुन्छ। छिर्न मात्र पाउँ न त्यसपछि त के नहोला र! भन्ने मानसिकतामा हामीमा हुन्छ।
त्यस्तै, मानसिकता लिएर एक जना मित्र केही वर्ष दुबईमा बसेर केही कमाएर नेपाल फर्के। पोखरामा सानो व्यवसाय चलाए। घर भाडा तिरेर बच्चा पढाएर महिनाको ३०/३५ हजार बैंकमा जम्मा गर्थे।
रत्ने भनेपछि नचिन्ने कमै हुन्थे। चोकमै उनको व्यवसाय थियो। तर मान्छेको स्वभाव आफूसँग भएकोले उसलाई कहिल्यै पुग्दैन।
आफ्नो व्यवसाय राम्रै चले पनि उनलाई युरोप जाने हुटहुटी चल्यो।
युरोपको पीडा भोगेका साथीहरूले सम्झाउँदा उल्टै उनी ती साथीहरूलाई ईर्ष्याले त्यस्तो भनेको भन्ठान्थे। जति सम्झाउँदा पनि उसलाई युरोपको भूतले छोडेन।
अन्तत: ९ लाख एजेन्टलाई बुझाएर उनी वर्किङ भिसामा (डि भिषा ) मा पोल्यान्ड आए।
वार्सा( पोल्यान्डको राजधानी ) बाट ३ घन्टा टाढा। टर्कीको मासु बनाउने कम्पनीमा काम गर्न थाले। राति ३ बजे उठेर गाडीमा उनी काममा लागि जान्थे।
ठूला ठूला टर्की चराको मासु तयार गर्ने सो ठाउँ प्राय: सबै एसियनले टर्कीको भित्री भाग सफा गर्नुपर्ने थियो। काममात्र गरेर के गर्नु घन्टाको ३ युरोभन्दा पनि थोरै तलब दिन्थे। त्यसमाथि कामको तनाव। कार्ड बन्ने त कनै नाम निशानै थिएन।
सहरको न कुनै रमझम देख्न पाइने न नै घुमघाम। उनी सहरबाट धेरै टाढा श्रम शिविरमा बस्थे। खानामा एक ठूलो कपको सुप त्यो बाहेक केही छैन।
एकदिन साह्रै झोंक चल्यो। झोंकमै उनले एजेन्टलाई फोन गरे।
‘मलाई ४ लाखमात्र भए नि फिर्ता दिनू म फर्किन्छु’, एजेन्टले के मान्थ्यो सिधै जवाफ दियो ‘असंभव’।
उनमा निराशा छायो। के गर्ने के नगर्ने सोच्नै सकेनन्। अन्तमा पोर्चुगल जाने निधो गरे।
त्यही अनुरूप केही नेपालीसँगै उनी पनि जर्मनी हुँदै पोर्चुगल आए। जति पनि पोल्यान्डमा आएकोहरू प्राय: पोर्चुगल मै आउँछन्।
प्राय: पोर्चुगलका चोक फिनान्स अफिस, सोसियल अफिसमा नेपालीहरू देखिन्छन्। पोर्चुगलको लारेन्न्जाइरस फिनास् अफिसमा लामो लाइन थियो।
मोटो मोटो अधवैंसे एक जना नेपाली फोन गर्दै रहेछन्, ‘हेलो! हेलो! म पोर्चुगलमा।’
हामी नजिकै गयौं उनीसँग परिचय भयो। उनको कथा पनि रत्ने दाइको जस्तै।
उनले भने, ‘कति सपना बोकेर युरोप आइयो। बल्ल फिनान्सा भन्ने भरियो। सोसियल रे, काम कन्ट्रायक रे, सेफ इन्ट्री रे, केके हो ४० काटेको म ४० काटेसी रमाउँला होइन चालिस काटेसी हन्डर खाउँला जस्तै भयो।’
रत्ने दाइको फोन आयो।
श्रीमतीले के के गुनासो गरिन्। अनि आफ्नो इच्छा बताइन्।
‘तिज आयो। एक महिनाको तलब पठाइदिनू। म तिज मनाउँछु।’
बिचरा रत्ने दाइले मलिन स्वरमा भने, ‘बूढी हाम्रो सपना सायद सपना मै सीमित होला जस्तो छ। बाँकी कुरा म नेटको सिम हालेपछि इमोमा फोन गर्छु।’
यति भन्दै फोन काटे अनि हामीसँग हाँसो र पीडा मिश्रित भावमा भने, ‘भाइ पोल्यान्डले पोलेको यो सपना। कहिले पलाउँला र फलाउँला।’
म नाजवाफ भएँ।
उनलाई सान्त्वना दिँदै भने, ‘दाजु नआत्तिनुस्, सबै ठीक हुन्छ।’
दाजु मेट्रो चढे म बस।
अनि आजभोलि सोच्छु, दाजुले त्यसै भनेका होइनन् यी शब्द…
***पोल्यान्डले पोलेको सपना ***