मेक्सिकोमा बिहिबार मध्य राततिर शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ । भूकम्प ८ म्याग्निच्यूडको मापन गरिएको पनि बताइएको छ ।
विदेशी सञ्चार माध्यमका अनुसार प्रशान्त महासागरको तटीय क्षेत्रमा गएको भूकम्पका कारण सयौं किलोमिटर टाढा मेक्सिको सिटीका भवनहरू हल्लिएका थिए।
मेक्सिको सिटीका प्रत्यक्षदर्शीहरूले झण्डै एक मिनेटसम्म भूकम्पले हल्लाएको र मानिसहरू दौडेर सडकमा निस्किएको बताएका छन्।
प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मेक्सिकोको नागरिक सुरक्षा निकायले सन् १९८० को दशकयताकै सबैभन्दा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको जनाएको छ।
अहिलेसम्म धनजनको क्षतिको कुनै पनि विवरण प्राप्त भने भइसकेको छैन।
सुनामीको खतरा, सामुद्रिक क्षेत्र वरपर सतर्कता यसैबीच उक्त भूकम्पका कारण सुनामी आउनसक्ने चेतावानी दिइएकोले समुद्री क्षेत्रहरूमा सतर्कता अपनाइएको छ ।
समुद्री सतहका बस्तीहरू खाली गर्ने क्रम सुरू भएको छ । भूकम्प शक्तिशाली भएकोले सामुद्रिक किनारवरिपरी निकै नै खतरा रहेको सूचना सार्वजनिक रुपमा जारी गरिएको छ ।
भूकम्पको समयमा समुद्रको छाल नियमितभन्दा कम्तीमा पनि तीन मिटरसम्म परसम्म पुगेको थियो । आगामी १२ घण्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरूले जनाएका छन् । भूकम्पपछि दुई हजार किलोमिटर टाढा इक्वेडरमा रहेको एउटा टापुसहित आठ वटा देशमा सुनामीको चेतावनी दिइएको छ। (रासस/एएफपी)