गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वभरका नेपालीहरूको साझा संस्था हो, तर पछिल्ला वर्षहरूमा यो संस्था नेपालकै दलगत राजनीतिले ग्रसित बन्दै गएको देखिन्छ।
यस्तै अवस्था रहिरहने हो भने भविष्यमा पनि एनआरएनएभित्र नेपालको राजनीतिक प्रभावमा चलिरहन्छ अनि यो संस्थाको दीर्घकालीन अस्तित्व र सान्दर्भिकता कम हुँदै जान्छ।
जहिलेसम्म यो संस्था परराष्ट्र मन्त्रालयमा दर्ता भएर यसको मातहत रहिरहन्छ त्यो बेलासम्म स्वतन्त्र हुन सक्दैन। यो गुनासो मात्र होइन संस्था खुम्चिँदै गएको संकेत हो।
नेपाली राजनीतिमा जस्तै एनआरएनएमा पनि गुटबन्दी र पदको दुरूपयोग जस्ता प्रवृत्तिहरूले जरा गाड्न थालेका छन्। जसले गर्दा एनआरएनएलाई न प्रवासमा राम्रो नजरले हेरिन्छ न नेपालमै। यस्तो अवस्थामा नयाँ पुस्ताको सहभागिता केवल सपना मात्र बन्न जान्छ।
म आफै नेपालबाट १२ वर्षको उमेर हुँदा बेल्जियम आएको हो। यता आएको पनि त्यतिकै वर्ष भइसकेको छ। म जस्ता धेरै युवा छन्, जो नेपालमै जन्मिएर हुर्किए, तर अहिले काम, अध्ययन, वा बसोबासका लागि विदेशमा छन्।
म जस्ता तमाम युवाहरूले पनि नेपालमा व्याप्त भ्रष्टाचार, गुटबन्दी र असक्षम नेतृत्व देखिसकेकाले राजनीतिक पार्टी वा नेताप्रतिको विश्वास गुमाइसकेका छन्। उनीहरू देशलाई माया गर्छन्, तर दलगत राजनीतिको चक्करमा फस्न चाहँदैनन्।
अबको पुस्ता जो विदेशमै जन्मेका वा हुर्किरहेका छन्, नेपालको राजनीतिको सन्दर्भ, दलगत संरचना वा नेताहरूको नामसम्म चिन्दैनन्। तिनको प्राथमिकता भनेको आफ्नो अध्ययन, करियर, अनि बसोबास गरिराखेको मुलुकसँग सहकार्य हो। यस्ता युवालाई नेपाली राजनीति वा दलसँग बाँध्ने कुनै पनि प्रयास असफल हुनेछ। यदि कसैले नयाँ पुस्तालाई नेपाली समुदायसँग जोड्न चाहन्छ भने, त्यसको एक मात्र प्रभावकारी माध्यम भनेको नेपाली भाषा, संस्कृति, र परम्परागत मूल्यहरू हुन्। यसले नै उनीहरूलाई आफ्नो मौलिक पहिचान सम्झाउनेछ।
सांस्कृतिक कार्यक्रम, भाषा कक्षा, लोकगीत/नृत्य, खाना लगायतले भावनात्मक रूपमा नयाँ पुस्तालाई नेपालसँग जोड्न सक्छ। राजनीति होइन, पहिचानले भावनात्मक सम्बन्ध बनाउँछ।
एनआरएनएजस्तो संस्था राजनीतिक घेराभित्र सीमित भएर चल्न थाल्यो भने, नयाँ पुस्ताको सहभागिता निराशाजनक मात्र होइन, पूर्णतः अनुपस्थित हुनेछ। यदि हामी साँच्चिकै यो संस्थालाई भावी पुस्ताका लागि पनि छोड्न चाहान्छौं भने नेतृत्वले राजनीतिभन्दा बाहिर हेर्न सक्नु पर्छ।
नेपाली भाषा, संस्कृति र मूल्यमान्यतामार्फत मात्रै हामी नयाँ पुस्तासँग सम्बन्ध गाँस्न सक्छौं। त्यस्तो गर्न सकिएन भने यो संस्था केवल दाइ,भाउजू, बा, र क्रान्तिकारी भन्नेहरूकै वरिपरि घुमिरहन्छ। यस्तो भयो भने संस्था बिघटनको बाटोमा जान्छ।
एनआरएनएलाई साँच्चिकै भविष्यमुखी बनाउने हो भने नेतृत्वले राजनीतिक प्रभावभन्दा माथि उठेर सबै पुस्तालाई समेट्ने समावेशी, पारदर्शी र सांस्कृतिक अभियानलाई प्राथमिकता दिनु आवश्यक छ।
अहिलेका गतिविधि हेर्यो भने यसलाई पूर्णतया राजनीतिक दलको भातृ संगठन जस्तो बनाउन खोजिएको छ। जति पनि विवादहरू देखिएका छन् त्यसको कारक नेपालकै दलहरू हुन्। अनि राजनीतिक दलसँग नजिक रहन खोज्ने हाम्रा अग्रजहरूको पनि उत्तिकै दोष छ। किनकि उनीहरू नेपालका राजनीतिक दलको फेरो समातेर नेतृत्वमा पुग्न चाहन्छन्।
राजनीतिक पहुँच बनाइयो भने नेपाल गएको बेला अथवा नेपालमा केही व्यवसाय गर्न सहज हुन्छ भन्ने सोच एनआरएनएका नेताहरूमा हाबी छ।
त्यस्तै विदेशमा आएको बेला आफ्ना कार्यकर्ताहरूले उनीहरूका आवश्यकता पूरा गर्दिन्छन् भन्ने सोच राजनीतिक दलका नेताहरूमा छ। अहिले जति पनि हस्तक्षेप भइरहेको छ यो एउटा पक्षले चाहेर मात्र भएको होइन। यसका लागि नेपालका राजनीतिक दलहरू जति दोषी छन्। एनआरएनए अभियान्ताको पनि उत्तिकै दोष छ।
त्यसैले एउटा यस्तो प्रणालीको विकास गर्न जरूरी छ,जसले कुनै खाले हस्तक्षेप ल्याउन नसकोस्।
एनआरएनएको नेतृत्वमा पुग्नका लागि गैरआवासीय नेपालीको मन जित्न सक्नुपर्छ। राजनीतिक दलका नेताहरूको मन जितेर हुँदैन भन्ने मानसिकता त्याग्नुपर्छ। जहिलेसम्म दलका नेताहरूको हस्तक्षेप हामीले निम्त्याउँछौं त्यहिलेसम्म एनआरएनएको हालत अहिलेको जस्तो हुन्छ।यसको लागि नेपालका दलहरुले भन्दा पनि एनआरएनका अभियानताको प्रतिबद्धता जरूरी छ।
एनआरएनएमा राजनीतिलाई प्रमुखता दिन थालियो भने, नयाँ पुस्ताको सहभागिता घट्दै जान्छ र यो संस्था केही निश्चित समूहको प्रतिनिधित्वमा मात्र सीमित हुन सक्छ।
(लेखक शर्मा गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव हुन्)