गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरू काठमाडौंमा भेला भएका छन्।
संस्थाभित्र देखिएको अन्योललाई निकास दिने उद्देश्यसहित एनआरएनएले आफ्ना पादाधिकारी, केन्द्रीय सदस्य र सबै शाखाका पदाधिकारी समेतलाई काठमाडौं बोलाएको हो। विश्वका ९० देशमा एनआरएनएको शाखा छन्।
काठमाडौंमा जम्मा भएका एनआरएनएका पदाधिकारी, शाखा अध्यक्ष सहितका अभियन्ताहरूले एनआरएनएका संस्थापकहरू, पूर्वअध्यक्षहरू, विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्रीहरू र प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ।
एनआरएनए एकताको पहलका लागि सबैलाई काठमाडौंमा बोलाइएको एनआरएनएका अध्यक्ष बद्री केसीले सेतापाटीलाई बताए।
‘अहिलेको अन्योललाई चिर्न जरुरी छ भनेर सबैलाई बोलाइएको हो। हामीले आन्तरिक छलफलदेखि सबै खालका भेटघाट गर्छौं,’ उनले भने, ‘अप्रिल महिनामा कुनै न कुनै निकास निकाल्ने हाम्रो प्रयास रहन्छ। यसकै लागि हामीले पूर्व अध्यहरूदेखि परराष्ट्र मन्त्री र प्रधानमन्त्रीसम्मलाई भेट्छौं। प्रमुख राजनीतिक दलका नेताहरूलाई समेत भेटेर हाम्रा कुरा राख्छांै।’