इसराइलले हिजबुल्लाहका वरिष्ठ नेता हशिम सफिइद्दिनलाई पनि मारिसकेको पुष्टि गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै इसराइलले सेप्टेम्बर २७ मा हसन नसरल्लाह मारिएपछि प्रमुख हुने ठानिएका सफिइद्दिनलाई तीन हप्ता अघिको हमलामा मारिसकेको बताएको छ।
नसरल्लाहलाई मार्न भन्दा ठूलो विस्फोट गराएको सो हमलामा सफिइद्दिन, सो समूहको गुप्तचर शाखाका प्रमुख अलि हुसेन हजिमा लगायत २५ जना हिजबुल्लाह नेता र लडाकूहरू मारिएको दाबी गरिएको छ।
सफिइद्दिनलाई पनि इसराइलले मारेपछि अब सार्वजनिक रूपमा देखिने हिजबुल्लाहका जीवित नेताहरूमा उपमहासचिव नइम कासिम सबैभन्दा वरिष्ठ भएका छन्।
नसरल्लाहको हत्यापछि कासिम सो समूहको अनुहार भए पनि उनी नसरल्लाह र सफिइद्दिन जति लोकप्रिय छैनन्।
नसरल्लाह मारिएको बैठकमा कारणवश अनुपस्थित भएर जोगिएका वरिष्ठ नेता हशिम सफिइद्दिन नसरल्लाहका भाइ हुन्। उनीहरूका आमाहरू दिदी-बहिनी हुन्।
उनी हिजबुल्लाहका नयाँ प्रमुख हुने अपेक्षा गरिएको थियो। केही वर्ष अघि नै नसरल्लाहपछि उनी हिजबुल्लाहको प्रमुख हुने तय भएको मानिन्छ।
उनी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को विदेशी समूह (हमास, हिज्बुल्लाह, हुथी) परिचालन गर्ने कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानीसँग पनि नजिक थिए।
सुलेमानीको सन् २०२० जनवरीमा इराकको राजधानी बग्दादमा ड्रोन आक्रमण गरी अमेरिकाले हत्या गरेको थियो। सुलेमानीको हत्या भएको केही महिनापछि उनकी छोरीसँग सफिइद्दिनका छोराको विवाह भएको थियो।
अक्टोबर ३ को इसराइली हमलापछि सफिइद्दिन हिजबुल्लाहको सम्पर्कमा नआएको समाचारहरू आएका थिए। हमला भएको ठाउँमा हिजबुल्लाहले उद्धारकर्मी पठाउन नसकेकाले उनको मृत्यु पुष्टि भएको थिएन।
इसराइलले सफिइद्दिनलाई मारिसकेको बताए पनि उनको मृत्यु भएको कुनै प्रमाण भने पेस गरेको छैन। हिजबुल्लाहले पनि उनको मृत्युको पुष्टि अहिलेसम्म गरेको छैन।
जुलाई २७ मा हिजबुल्लाहको रकेट हमलामा परेर 'भूलवश' इसराइलको गोलन हाइट्समा १२ केटाकेटीको ज्यान गएपछि इसराइलले त्यसको बदला लिन जुलाई ३० मा हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो।
पछिल्ला केही हप्तामा भने इसराइलले हिजबुल्लाह माथिको प्रहार झन् तीव्र पारेको छ। हिजबुल्लाह सदस्यले बोकेका पेजर एकैपटक विस्फोट गराउँदै इसराइलले पछिल्लो शृंखला सेप्टेम्बर १७ मा सुरू गरेको थियो।
अमेरिकी अनलाइन 'एक्सियस' का अनुसार इसराइलले पेजर विस्फोट त्यति बेला गर्न चाहेको थिएन।
आफूले पेजरमा विस्फोटक पदार्थ लुकाएको हिजबुल्लाहले थाहा पाउन सक्ने ठानेर त्यत्रो मेहनत खेर नजाओस् भनेर मात्रै इसराइलले विस्फोट त्यसै दिन गराएको भनिन्छ।
विस्फोट गराउने भएपछि भने हिजबुल्लाहले त्यसको जबाफ दिन नसकोस् भनेर रन्थनिएको बेलामा लगातार प्रहार गर्न थाल्यो। हिजबुल्लाह सदस्यले बोकेका पेजर विस्फोट गराउँदै गर्दा नै इसराइलले लेबननको सीमातर्फ ठूलो संख्यामा सैनिक परिचालन गरेको थियो।
रक्षा अधिकारीहरूले युद्धको अबको केन्द्रविन्दु गजा नभएर लेबननसँगको सीमा हुने बताएका थिए। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले समेत हिजबुल्लाहको लगातार हमलाका कारण लेबननसँगको सीमा क्षेत्रबाट विस्थापित ६० हजारभन्दा बढी इसराइली नागरिकलाई घर फर्किने वातावरण बनाउनु उनको प्रमुख उद्देश्य भएको बताएका थिए।
इसराइलले त्यसको भोलिपल्ट हिजबुल्लाह सदस्यले बोकेका वाकीटकी त्यसरी नै विस्फोट गरायो। पेजर र वाकीटकी विस्फोट गराएर हिजबुल्लाहको सञ्चार प्रणाली तहसनहस पारेको मौका छोपेर इसराइलले लगातार प्रहार गर्यो। पेजर विस्फोट गराएको तीन दिनपछि बेरूतको एक घरमा बैठक गरिरहँदा मिसाइल आक्रमण गरेर हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल र अहमद वाहबीलाई मार्यो।
सञ्चार प्रणाली इसराइलले ह्याक गरेको ठानेर बैठक गरिरहेका हिजबुल्लाहको स्पेसल फोर्स राडवान युनिटका ती कमान्डरहरू मारिएका थिए। त्यसपछि इसराइलले हिजबुल्लाहभित्र व्यापक घुसपैठ गरेकाले बैठकहरू पनि सुरक्षित हुन छाडे।
अकिल र वाहबी मारिएको एक सातापछि सेप्टेम्बर २७ मा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र बाँकी रहेका कैयौं वरिष्ठ नेता र कमान्डर पनि त्यसरी नै बैठक गरिरहँदा इसराइली हमलामा मारिए। इसराइली सैन्य कारबाहीका कारण लाखौं लेबननी नागरिक विस्थापित र घरबारविहीन भएका छन्।
इसराइली सैन्य कारबाहीका कारण लेबननमा आएको मानवीय संकट रोक्नका लागि इसराइल र उसको मुख्य समर्थक अमेरिकामाथि व्यापक दवाब छ। हमासले गत वर्ष अक्टोबर ७ मा इसराइलमाथि गरेको हमलाको प्रमुख योजनाकार याह्या सिन्वरलाई गत बुधबार राति मारेको भनेर बिहीबार इसराइलले बताएको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)