युक्रेनले रूसको कुर्स्क क्षेत्रमा सफलता हात पारेपछि प्रहार गर्ने ठाउँहरूको सूची बनाएर रूसको अझै भित्र अमेरिकी हतियार प्रयोग गर्न अमेरिकाको अनुमति माग्ने भएको छ।
युक्रेनले रूसभित्र पसेर करिब १२५० वर्ग किलोमिटर भूमि र दर्जनौं गाउँ कब्जा गरेको दाबी गरेको छ।
दोस्रो विश्वयुद्धपछि कुनै राष्ट्रले रूसी भूमि कब्जा गरेको यो पहिलो पटक हो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरू गरेका थिए। त्यसयता स्थानीय रूसी विद्रोहीको सहयोगमा रूसका केही बस्तीमा युक्रेनले एक-दुई पटक छापामार शैलीमा हमला गराएको थियो।
यसपटक भने युक्रेनी सेना आफै रूसभित्र पसेर भूमि कब्जा गरेको हो। उसले सयौं रूसी सैनिकलाई बन्दी बनाएको छ। युक्रेनको आक्रमणकै कारण सो क्षेत्रका झन्डै दुई लाख नागरिक विस्थापित भएका छन्।
यो सफलतापछि रूसको अझै भित्र आक्रमण गर्न युक्रेनले अनुमति मागिरहेको छ।
चाँडै नै युक्रेनी रक्षामन्त्री रूस्तम उमेरोभ र राष्ट्रपति भोलोदिमिर जेलेन्सकीका वरिष्ठ सल्लाहकार आन्द्रइ यरमाक प्रहार गर्ने ठाउँहरूको सूचीसहित अमेरिका जान लागेको अमेरिकी अनलाइन पत्रिका पोलिटिकोले लेखेको छ।
युक्रेनले यसअघि पनि रूसभित्र आक्रमण गर्न अनुमतिका लागि केही सम्भावित ठाउँहरूको बारेमा अमेरिकालाई अवगत गराए पनि यस पटकको सूची विस्तृत भएको पोलिटिकोले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मे महिनाको अन्त्यमा मात्रै अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका थिए। अमेरिकाले हतियार दिँदा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र प्रयोग नगर्ने सर्त राखेर दिने गर्थ्यो। सो अनुमति पाउनुअघि त्यसै अनुसार रूसले कब्जा गरेको आफ्नो भूमिभित्र मात्रै युक्रेनले रूसी सेनामाथि आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्थ्यो। अमेरिकाले मे महिनामा अनुमति दिँदा पनि खार्किभ वरिपरि जम्मा भएर आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्तमा दिएको थियो।
तर यसपटक भने युक्रेनी सेना अगस्ट ६ मा रूससँगको उत्तर पूर्वी सीमा पार गरेर कुर्स्क क्षेत्रमा रूसी भूमि कब्जा गरेको छ। अमेरिकालाई जानकारी समेत नदिई योजना बनाइएको यो आक्रमणका क्रममा युक्रेनले अमेरिकी हतियार समेत प्रयोग गरेको थियो।
युक्रेनले रूसी भूमि कब्जा गर्दा समेत अमेरिकीले डर माने जस्तो रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग नगरेको देखाउँदै युक्रेनले अझै धेरै भित्र प्रहार गर्न अनुमति मागिरहेको छ।
त्यसैका लागि युक्रेनी टोली लामो दुरीको निशाना बनाउन मिल्ने रूसी ठाउँहरूको सूची नै बोकेर अमेरिका जान लागेको हो।
अमेरिकाले भने मे महिनाको अन्त्यमा रूसभित्र प्रहार गर्ने अनुमति दिएलगत्तै नै रूसले आफ्ना लडाकु विमान र आधुनिक हतियारको भण्डारस्थल युक्रेनसँग भएका हतियारको पहुँच भन्दा धेरै टाढा सारिसकेको औंल्याउँदै आएको छ। अझ भित्र प्रहार गर्ने अनुमति दिए पनि खासै फरक नपर्ने उसले तर्क गर्दै आएको छ।
तर पनि युक्रेनले भने आफूसँग भएका अमेरिकी हतियारले भ्याउने गरी रूसभित्रका विभिन्न ठाउँहरूमा प्रहार गर्ने अनुमति मागिरहेको छ। साथै अझै लामो दुरीसम्म प्रहार गर्नसक्ने अमेरिकी हतियार पनि दिन अमेरिकालाई आग्रह गरिरहेको छ।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्सकीले युक्रेनले रूसको कुर्स्क क्षेत्रमा आफ्नो 'विजय योजना' अनुरूप हमला गरेको बताएका छन्।
मंगलबार एउटा कार्यक्रममा बोल्दै उनले सो योजना अर्को महिना बाइडेनसामु प्रस्तुत गर्ने भनेका छन्।युद्धको सम्वेदनशील योजनाबारे उनले नखुलाए पनि सो योजनाको सफलता बाइडेनमाथि निर्भर हुने औंल्याएका छन्। साथै सो योजना अनुसार अमेरिकाले युक्रेनलाई हतियार दिन्छ कि दिंदैन र योजना कार्यन्वयन गर्ने अनुमति दिन्छ कि दिंदैन भन्ने कुराले पनि सफलता मिल्छ कि मिल्दैन भन्ने निर्धारण गर्ने बताएका छन्।
अमेरिकामा बनेको एफ-१६ लडाकू विमान जुलाईको अन्त्यमा मात्रै युक्रेनको हात लागेको छ। हालसम्म युक्रेनले यो विमान आक्रमणका लगि प्रयोग भने गरेको छैन।केही दिन अघि रूसले युक्रेनमा व्यापक बमबारी गर्दा यी विमान रक्षात्मक प्रयोजनका लागि भने प्रयोग भएका थिए।
जेलेन्सकीले भनेको 'विजय योजना' मा यी विमान रूसभित्र हमला गर्न समेत प्रयोग गरिने अनुमान गर्न सकिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)