फुआद शुक्रलाई फोन गरेर सातौं तलामा पठाएर इसराइलले हत्या गरेको द वाल स्ट्रिट जर्नलले खुलासा गरेको छ।
लेबननको राजधानी बेरूतमा एउटा आवासीय भवनको सातौं तलामा हवाई आक्रमण गरेर जुलाई ३० मा इसराइलले शुक्रको हत्या गरेको थियो। गोलन हाइट्समा जुलाई २७ मा १२ केटाकेटीहरूको ज्यान जाने गरी भएको रकेट हमलाको बदला लिन इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको बताएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले नेपालका १० जना र केही विदेशीका साथै १२ सय इसराइलीको ज्यान जाने गरी इसराइलमा आक्रमण गरेको थियो। त्यसपछि हमासको समर्थनमा हिजबुल्लाहले लगातार इसराइलमा रकेट प्रहार गरिरहेको छ।
जुलाई २७ को हमला हिजबुल्लाहले गरेको आरोप इसराइलले लगाए पनि हिजबुल्लाहले भने केटाकेटीहरू खेलिरहेको मैदानमा आफूले आक्रमण नगरेको दाबी गरेको थियो। तर पनि हिजबुल्लाहले लेबननबाट लगातार इसराइलमा प्रहार गरिरहने भएकाले र सो दिन पनि हमला गरेकाले लेबननसँग सीमा जोडिएको सो क्षेत्रमा पनि उसैले भूलवश आक्रमण गरेको मानिन्छ। केटाकेटी त्यो पनि यहुदी नभएर ड्रुज समुदायका भएकाले उसले सो घटनाको जिम्मेवारी नलिएको मानिन्छ।
ड्रुज धर्म शिया समुदायबाट छुट्टिएको हाँगा हो। शिया मुस्लिम समुदायको हिजबुल्लाहले ड्रुज समुदायका केटाकेटीको हत्या गरेको स्वीकार्न गाह्रो भएकाले उसले जिम्मेवारी नलिएको मानिन्छ। ड्रुज समुदायका मानिस लेबननमा समेत बस्ने भएकाले पनि हिजबुल्लाहलाई सो घटनाले अप्ठ्यारो परेको थियो।
सन् १९६७ को युद्ध जितेर इसराइलले सिरियाबाट गोलन हाइट्स लिएको थियो। त्यहाँ पहिल्यैदेखि बसिरहेका ड्रुज समुदायलाई इसराइलले नागरिकता दिएको छ। उनीहरू इसराइली सेनामा समेत छन् र अरब-प्यालेस्टिनीहरू जस्तो इसराइल विरोधी छैनन्।
अरब-प्यालेस्टिनी र इसाई अल्पसंख्यक समुदायलाई समेत चरम विभेद गरेका कारण आलोचना खेप्ने इसराइललाई भने ड्रुज समुदायका केटाकेटीको हत्याले बदला लिने झन् राम्रो बहाना मिल्यो। यहुदी मात्रै नभएर आफ्नो देशमा रहेका अल्पसंख्यकमाथि प्रहार भए पनि इसराइलले सहँदैन भनेर सन्देश दिन पायो। इसराइलले सो घटनाको बदला लिने डरले हिजबुल्लाहले आफ्ना कमान्डरहरूलाई छरिएर बस्न र मोबाइल फोन प्रयोग नगर्न उर्दी जारी गरेको थियो।
ड्रुज समुदायका केटाकेटीको हत्याको बदला तीन दिनपछि हिजबुल्लाहका सर्वोच्च नेता हसन नसरल्लाहसँग ज्यादै निकट मानिने शुक्रको हत्या गरेर इसराइलले लियो। शुक्रको शोक सभामा बोल्दै नसरल्लाहले घटनाको केही घण्टा अघिसम्म पनि आफू उनीसँग सम्पर्कमा रहेको बताए।
हिजबुल्लाह संगठन नबनीकनै सन् १९८२ मा इसराइलले लेबननमा आक्रमण गर्दा शुक्रले अरू शिया लडाकुहरूसँग इसराइलविरुद्ध लडेका थिए। सन् १९८५ मा हिजबुल्लाह गठन भएदेखि नै उनी सो संगठनका वरिष्ठ सैन्य अधिकारी थिए।
सन् १९८३ मा बेरूतमा रहेको अमेरिकी सेनाको ब्यारेकमा २४१ सैनिकको ज्यान जाने गरी भएको बम आक्रमणको योजना बनाउन उनको संलग्नता भएको अमेरिका ठान्छ। उनलाई सन् १९८५ मा अमेरिकाको ट्रान्स वर्ल्ड एयरलाइन्सको जहाज एथेन्सबाट उडेपछि भएको अपहरणको समेत योजनाकार मानिन्छ। इसराइलसँगको पटक-पटकको युद्ध, इसराइलमाथि हमला र इरानबाट हिजबुल्लाहका लागि रकेट र आधुनिक मिसाइलसहित हतियार जोहो गर्न उनले प्रमुख भूमिका खेलेका थिए। सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूहहरू परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ।
सिरियामा बसर अल असदको सरकारलाई पनि सैन्य सहायता दिने इरानले आफूले परिचालन गरेका विभिन्न समूहलाई 'एक्सिस अफ रेजिस्टेन्स' (प्रतिरोधको अक्ष) भन्छ।
हिजबुल्लाहका सर्वोच्च नेता हसन नसरल्लाह सार्वजनिक कार्यक्रममा धेरै देखिने भए पनि शुक्र खासै देखिँदैनथे। बाहिर गए सुरक्षा खतरा हुने ठानेर उनी हिजबुल्लाहको कार्यलय रहेको भवनमै बस्थे। दोस्रो तलामा कार्यालय थियो भने सातौं तला उनले आवासको रूपमा प्रयोग गर्थे। हिजबुल्लाहले पछिल्ला वर्षमा शक्तिशाली हतियारहरू जोहो गर्न थालेपछि इसराइलले हिजबुल्लाहका वरिष्ठ नेताहरूलाई लेबननमा मार्न छोडेको थियो।
अक्टोबर ७ मा हमासले इसराइलमा हमला गरेपछि चाहिँ इसराइलले लेबननमा हिजबुल्लाहका लडाकु र इरानी सैनिक अधिकारीलाई समेत निशानामा पार्न थालेको थियो। ड्रुज समुदायका केटाकेटीको हत्यापछि भने उसले हिजबुल्लाहको सर्वोच्च सैन्य कमान्डरकै बेरूतमा हत्या गरेको छ।
उनको हत्या हुनुअघि साँझमा शुक्रलाई हिजबुल्लाहको आन्तरिक सञ्चार प्रणालीमा पाँच तलामाथि निवासमा जानू भनेर फोन आएको भनी द वाल स्ट्रिट जर्नल पत्रिकाले लेखेको छ। उनी माथि गएपछि ७ बजेतिर सो तलामा हवाई हमला भयो। शुक्र, उनकी पत्नी र दुई अरू महिला र दुई बच्चाहरूको सो हमलामा मृत्यु भयो। इसराइलले तुरून्तै शुक्रलाई मारेको दाबी गरे पनि हिजबुल्लाहले पुष्टि गरेन।
हिजबुल्लाह त्यसै दिन आफ्ना वरिष्ठ सैन्य कमान्डरहरूलाई लुक्नू भनेर उर्दी जारी गरेकाले उनी त्यो भवनमा त्यति बेला थिएनन् कि भनेर समेत अड्कल काटियो। विस्फोटमा उछिट्टिएर नजिकैको भवनमा पुगेको उनको शव भेटिएपछि मात्रै हिजबुल्लाहले उनको हत्या भएको पुष्टि गर्यो। कार्यालय रहेको दोस्रो तलामा भन्दा सातौं तलामा हवाई हमला गर्न सजिलो भएकाले उनलाई फोन गरेर माथि जान भनिएको भनेर हिजबुल्लाह अधिकारीलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले लेखेको छ। उनलाई कसले र कसरी फोन गरेर माथि जान भन्यो भन्नेबारे हिजबुल्लाह र इरान दुवैले छानबिन गरिरहेको भनेर ती हिजबुल्लाह अधिकारीले जनाएका छन्।
शुक्रको हत्या भएको केही घण्टापछि इसराइलले हमासका शीर्ष नेता इस्माइल हनियेको पनि हत्या गरेको थियो। हमासको राजनीतिक विभागका प्रमुख ६१ वर्षीय हनियेको जुलाई ३१ मा इरानको राजधानी तेहरानमा हत्या भएको थियो। इरानी राष्ट्रपति पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन हनिये तेहरान पुगेका थिए। सोही दिन उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई पनि भेटेका थिए। हनियेको हत्या गर्न करिब दुई महिनाअघि इरानको गेस्ट हाउस पुर्याइएको बम इसराइलले रिमोट कन्ट्रोलबाट विस्फोट गराएको भनेर द न्युयोर्क टाइम्सले खुलासा गरेको छ।
तेहरानमा इस्लामिक रिभोल्युसनरी गार्ड्सको गेस्ट हाउसमा हनियेको र बेरूतमा हिजबुल्लाहको कार्यलयमा शुक्रलाई फोन गरेर माथि जान भनेर हत्या गरेर इसराइलले शत्रुको माझ समेत आफ्ना एजेन्टहरू रहेको भनेर देखाएको छ।
आफ्ना राष्ट्रपतिको शपथ ग्रहणमा आएका विशिष्ट पाहुनामध्येका एक हनियेको हत्या भएपछि जवाफमा इरानले इसराइलमाथि हमला गर्ने अपेक्षा गरिएको छ। हनियेको हत्या भएको केही घण्टा मात्र अघि आफ्ना सर्वोच्च सैन्य कमान्डर शुक्रको हत्या भएकाले हिजबुल्लाहले पनि इसराइलसँग बदला लिन खोजिरहेको छ। इरान र हिजबुल्लाहले एकै पटक इसराइलमाथि आक्रमण गरे इरान र इसराइलको युद्ध नै हुन सक्ने खतरा छ। सो खतरा बुझेर अमेरिकाले भने इसराइल र हमासको युद्धविराम गराएर इरान र हिजबुल्लाहको जबाफी कारबाही रोक्न खोजिरहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)