जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न उम्मेदवारी दिएका छन्।
आगामी अक्टोबरमा अक्सफोर्डमा पढेका विद्यार्थी र कर्मचारीले भोट हाल्ने निर्वाचनमा भाग लिन ७१ वर्षीय इमरानले आवेदन दिएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ।
उम्मेदवारीका लागि आवेदन दिने अन्तिम दिन आइतबार सकिएको छ। तर अक्सफोर्डले को-को उम्मेदवार भए भनेर जानकारी अक्टोबरमा मात्रै दिने भनेको छ।
तर इमरानका सल्लाहकार सैयद जुल्फी बुखारीले उनले उम्मेदवारीका लागि आवेदन दिएको पुष्टि गरेका छन्।
शताब्दियौं देखि अक्सफोर्डको कुलपतिको निर्वाचनका लागि उम्मेदवार र मतदाता अक्सफोर्डको औपचारिक पोशाकमा विश्वविद्यालयमै उपस्थित हुनुपर्थ्यो। तर नयाँ नियमले उम्मेदवारी दिन र भोट हाल्न अनलाइनबाटै मिल्ने बनाएकाले अक्सफोर्डमा पढेका इमरानले जेलमा बसेर पनि उम्मेदवारी दिन पाएका हुन्।
कार्यकारी पद नभए पनि अक्सफोर्डका कुलपतिले उपकुलपति चयन गर्ने समितिको अध्यक्षता गर्छन्। नियमन गर्ने र चन्दा उठाउने लगायत काममा संलग्न हुन्छन्। हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण गरेका बेलाका अन्तिम गभर्नर क्रिस प्याटन हाल अक्सफोर्डका कुलपति छन्। अक्सफोर्डको अभिलेख अनुसार सन् २००३ देखि सो पदमा रहेका प्याटन १५९औं कुलपति हुन्। इमरान अहिले राजनीतिक प्रतिशोधका लागि राज्यद्वारा लगाइएका विभिन्न मुद्दामा सजाय पाएर जेलमा छन्।
सन् १९५२ मा सम्भ्रान्त पाकिस्तानी परिवारमा जन्मिएका इमरान बेलायतको अक्सफोर्डमा पढेका हुन्। अक्सफोर्डमा भर्ना हुनुअघि नै उनले पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमबाट खेल्न थालिसकेका थिए। सन् १९७० र ८० को दशकमा विश्वका उत्कृष्ट फास्ट बलर मध्येका एक इमरानलाई धेरैले क्रिकेट इतिहासकै ५ सर्वोत्कृष्ट अलराउण्डरमध्ये एक मान्छन्।
लामो कपाल र अग्लो जिउडाल भएका इमरान खेलसँगै रूपका कारणले पनि त्यताबेला लोकप्रिय थिए। संसारभरि उनका महिला प्रंशसक धेरै थिए। बेलायत पढेका पाकिस्तानी भएकाले भारतीय उपमहाद्विप र बेलायत-अष्ट्रेलिया दुबैतिरका महिला उनका प्रशंसक थिए। धेरै महिलासँगको सम्बन्धका कारण प्लेबोयको छवि बनाएका इमरानलाई बलिउड सुन्दरी जिनत अमान र रेखा देखि लिएर हलिउडका गोल्डी हन र एलिजाबेथ हर्लीसँग पनि जोडिन्थ्यो।
लामो समयसम्म पाकिस्तानका कप्तान रहेका इमरानले आफ्नो नेतृत्वमा पाकिस्तानलाई सन् १९९२ को विश्वकप जिताएर सफलताको शिखर चुमे। पाकिस्तानी समर्थक अहिले पनि इमरानको कप्तानीकै कारण एकदिवसीय विश्वकप जितेको मान्छन्।
खेल जीवनको उत्तरार्द्धमा रहेका इमरानको बलिङ त्यतिबेला खस्किसकेको थियो। तर पनि इङ्गल्याण्ड विरूद्धको फाइनल खेलमा अन्तिम विकेट लिएर उनले पाकिस्तानलाई विश्व च्याम्पियन बनाए। चीर प्रतिद्वन्द्वी भारतले १९८३ मा विश्वकप जितेको एक दशक पनि नबित्दै पाकिस्तानलाई पहिलो विश्वकप जिताएर उनी पाकिस्तानीहरूमाझ अमर भए।
पहिलै संन्यास लिएर फर्केका इमरान ४० वर्षको उमेरमा विश्वकप उचालेपछि चाहिं क्रिकेटबाट बिदा भए। क्रिकेटबाट बिदा भएपछि उनी सामाजिक काममा लागे। क्यान्सरबाट बितेकी आफ्नी आमाको नाममा क्यान्सर अस्पताल बनाउन होमिए। विश्वकपको सम्पूर्ण पुरस्कार राशी अस्पतालका लागि दिएका उनले आफ्नो लोकप्रियताको उपयोग गर्दै देशभित्र र बाहिर चन्दा उठाए।
सन् १९९४ मा उनले त्यो अस्पतालको उद्घाटन गरे। अस्पताल बनाउने मिसन सकेपछि उनले १९९६ मा पाकिस्तान तेहरिक-इ- इन्साफ पार्टी खोलेर रजनीति गर्न थाले। क्रिकेटमा खेलजत्तिकै अब्बल नेतृत्वका लागि जानिने इमरान राजनीतिमा आउनु स्वाभाविकै थियो। अक्सफोर्डमा सँगै पढेकी बेनेजिर भुट्टो इमरान खेल मैदानमा हुँदै प्रधानमन्त्री भइसकेकी थिइन्।
‘परिवारको विरासतकै भरमा त बेनेजिर प्रधानमन्त्री बनिन् भने यत्रो लोकप्रिय म कसो नबनुँला’ भन्ने इमरानलाई लागेको हुनुपर्छ। पार्टीहरूमा रमाइलो गर्ने, प्लेबोयको छवि बनाएका र बेलायती धनाढ्यकी छोरी बिहे गरेका इमरान राजनीतिमा परम्परावादी मुस्लिमका रूपमा देखिए। भर्खरै छिमेकी अफगानिस्तानमा शासनमा आएका कट्टरपन्थी तालिवानसँग तुलना गर्दै कतिले उनलाई दाह्री बेगरका तालिवानसमेत भन्थे।
क्रिकेटमा नेतृत्व क्षमताका लागि जानिने इमरानको राजनीतिमा सुरूवात भने राम्रो भएन। विश्वकप जिताउने कप्तानलाई देशको नेतृत्व दिन पाकिस्तानी जनताले मानेनन्। एक दशकजस्तो त उनको पार्टी झन्डै अस्तित्वविहीन रह्यो। उनको नामका कारण मात्रै बाँच्यो। भुट्टो परिवारको पाकिस्तान पिपुल्स पार्टी र नवाज शरिफको पाकिस्तान मुस्लिम लिग (नवाज) लाई हराएर उनको पार्टीले सरकार बनाउनु अकल्पनीय जस्तै थियो। सन् २००८मा निर्वाचनमा भाग नलिएका इमरानको पार्टीको आकार त्यसपछि बढ्न थाल्यो।
पुराना दुई पार्टीप्रति बितृष्णाले उनको पार्टीमा आकर्षण बढ्दै गयो। त्यही समयमा इमरान पनि पाकिस्तानी सेनासँग नजिकिँदै गए। सेनाको साथले २०१३ पछि उनको पार्टी दुई ठूला पार्टीको विकल्पका रूपमा तेस्रो शक्ति बन्यो। सेनाकै आशिर्वादले २०१८ को चुनाव जितेर इमरान पाकिस्तानको प्रधानमन्त्री भए। त्यही सेनासँग बिग्रिएको सम्बन्ध र भूराजनीतिको भूमरीले इमरानले पूरा कार्यकाल चलाउन पाएनन्। अप्रिल २०२२मा उनी सत्ताबाट बाहिरिनु पर्यो। विभिन्न आरोप लगाएर उनलाई २०२३ मे ९मा गिरफ्तार गरियो।
इस्लामावाद उच्च अदालतले तीन दिन पछि उनको गरिफ्तारीलाई गैरकानुनी भन्दै रिहा गर्न आदेश दियो। तर २०२३ अगस्टमा उनलाई फेरि गिरफ्तार गरियो। त्यसपछि उनी रिहा भएका छैनन् र हाल विभिन्न मुद्दामा सजाय पाएर जेलमा छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)