थाइल्याण्डमा अदालतको आदेशबाट त्यहाँको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टी विघटन भएको छ।
बुधबार थाइल्याण्डको अदालतको संवैधानिक इजलासले मुभ फरवार्ड पार्टीलाई विघटन गर्ने फैसला सुनाएको हो।
मुभ फरवार्ड पार्टीले संविधान संसोधनका लागि राखेको प्रस्ताव संवैधानिक राजतन्त्रलाई उल्ट्याउने प्रयास रहेको ठहर गर्दै अदालतले विघटन गर्न आदेश दिएको हो।
अदालतले उक्त पार्टीका नेताहरूलाई १० वर्षसम्म कुनैपनि राजनीतिक गतिविधिमा समेत रोक लगाएको समाचार संस्था एशोसियटेड प्रेसले जनाएको छ।
मुभ फरवार्ड पार्टी सन् २०२३ को आमनिर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको थियो। यद्यपि सरकार बनाउन भने असमर्थ भएपछि उक्त पार्टी विपक्षमा बसेको थियो।
मुभ फरवार्ड पार्टीले संविधान र कानुनमा संसोधन आवश्यक रहेको भन्दै अभियान चलाएपछि त्यहाँको निर्वाचन आयोगले मुद्दासमेत दायर गरेको थियो।
आयोगले दायर गरेको मुद्दामा गत जनवरीमा त्यहाँको अदालते मुभ फरवार्ड पार्टीलाई त्यस्ता गतिविधि बन्द गर्न आदेश दिएको थियो।
थाइल्याण्ड संवैधानिक राजतन्त्र विरोधी गतिविधि गरे १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।