हमासका शीर्ष नेता इस्माइल हनियेको हत्या गर्न करिब दुई महिनाअघि इरानको गेस्ट हाउस पुर्याइएको बम बिस्फोट गराइएको भनेर द न्युयोर्क टाइम्सले खुलासा गरेको छ।
मंगलबार इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा उपस्थित भएको केही घण्टापछि हमासको राजनीतिक विभागका ६१ वर्षीय प्रमुख हनियेको हत्या भएको थियो। हमासले हनियेको हत्या इसराइलले गरेको आरोप लगाए पनि इसराइलले अहिलेसम्म त्यसको जिम्मेवारी लिएको छैन।
सन् २०२३ अक्टोबर ७ मा हमासले नेपालका १० र अरू केही विदेशीका साथै १२०० इसराइलीको ज्यान जाने गरी इसराइलमा आक्रमण गरेको थियो। त्यसपछि गजामा सैन्य कारबाही सुरू गरेको इसराइलले हमासलाई सिध्याउने घोषणा गरेको हुँदा इसराइलले नै हत्या गरेको मानिएको छ।
इरान र हमास दुवैले हत्याको पुष्टि गरे पनि कसरी भयो भन्नेबारे थप विवरण सार्वजनिक गरेका छैनन्।
हत्या भएको दिन द इकोनोमिस्टले मिसाइल प्रयोग गरेर हत्या गरिएको लेखेको थियो। कतिले अमेरिकामा निर्मित अत्याधुनिक एफ-३५ लडाकु विमानको प्रयोग भएको दाबी गरेका थिए। कतिले भने एफ-३५ लडाकु विमानले इरानले थाहा नपाई इरानभित्र छिरेर प्रहार गर्नु वा इरानबाहिरैबाट त्यति अचुक निशाना लगाउनु दुवै मुस्किल भएको भन्दै इरानभित्रैका आफ्ना एजेन्ट परिचालन गरेर इसराइलले ड्रोनको प्रयोग गरेको अनुमान लगाएका थिए।
टाइम्सले बिहीबार तीन इरानीसहित सात मध्यपूर्वका अधिकारीको हवाला दिँदै हनिये बसेको इस्लामिक रिभोल्युसनरी गार्ड्सको गेस्ट हाउसमा करिब दुई महिनाअघि बम लुकाएर राखिएको दाबी गरेको छ।
तेहरानको सम्पन्न मानिसहरू बस्ने इलाकामा रहेको नेशत भनिने रिभोल्युसनरी गार्ड्सको सो गेस्ट हाउस आफ्ना गोप्य भेलाहरू गर्न र हनियेजस्ता विशिष्ट विदेशी पाहुना राख्न प्रयोग गरिन्थ्यो।
शपथ ग्रहण समारोहमा सहभागी भएका हनियेले सो दिन इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई पनि भेटेका थिए। बासका लागि सो गेस्ट हाउस प्रयोग गरिरहेका हनिये कोठामा भित्र रहेको पक्का भएपछि रिमोट कन्ट्रोलको प्रयोगद्वारा बिस्फोट गराइएको इरानी अधिकारीको हवाला दिँदै टाइम्सले लेखेको छ। हनिये रहेको कक्ष र भवनको बाहिरी भित्ता बाहेक नजिकैका संरचनामा खासै क्षति नभएकाले मिसाइल प्रयोग नभएको पुष्टि हुन्छ भनेर टाइम्सले दाबी गरेको छ।
सोही गेस्ट हाउसमा रहेका हिजबुल्लाह, हुथीलगायत समूहका नेताहरूलाई भने केही पनि भएको थिएन।
बिहानको करिब दुई बजेतिर बिस्फोट भएपछि गेस्ट हाउसका कर्मचारीहरू बिस्फोट भएको स्थान पहिल्याउँदै हनियेको कोठामा पुगेका थिए। त्यहाँ रहेको चिकित्सकको टोलीले हनियेलाई तुरून्तै मृत घोषणा गरेको थियो।
उनीहरूले घटनाबारे रिभोल्युसनरी गार्ड्सको हमास, हिजबुल्लाह, हुथीजस्ता विदेशी लडाकु समूह परिचालन गर्ने कुद्स फोर्सका प्रमुखलाई खबर गरेका थिए। कुद्स फोर्सका प्रमुखले निदाइरहेका सर्वोच्च नेता खमेनीलाई उठाएर जानकारी गराएका थिए।
हनिये विगत केही वर्षदेखि कतारको राजधानी दोहामा बसिरहेका थिए। हमाससँग युद्धविराम गराउन मध्यस्थता गराउन कतारले भूमिका खेलिरहेकाले इसराइलले हनियेमाथि कतारमा हमला नगरेको मानिन्छ।
इरान भ्रमणमा गएको बेला हनिये सो गेस्ट हाउसमा पटक-पटक बस्ने गरेको टाइम्सले खुलाएको छ। इसराइलमा आतंककारी हमला गरिरहने इरानले चलाउने अन्य समूहका नेता पनि बस्ने सो गेस्ट हाउसमा हनियेलाई वा अरूलाई लक्षित गरेर त्यहाँ बम पुर्याइएको भए पनि हनियेको हत्या गर्नका लागि त्यसलाई बिस्फोट गराइएको हो।
हमासका शीर्ष नेता हनियेको हत्या भएको भोलिपल्टै इसराइलले हमासका सैन्य कमान्डर मोहम्मद देइफलाई १९ दिनअघि मारेको फेरि दाबी गरेको छ।
इसराइलले जुलाई १३ मा गजाको खान युनिस सहरबाहिर एउटा पर्खालले घेरिएको भवनमा हवाई आक्रमण गरेर देइफलाई मारेको दाबी गरेको थियो। अरू ९० जनाभन्दा धेरैको मृत्यु भएको त्यो आक्रमणमा पछि उसले हमासका अर्का सैन्य कमान्डर रफा सलामाको पनि मृत्यु भएको बताएको थियो।
बिहीबार उसले खुफिया विश्लेषणका आधारमा सो आक्रमणमा देइफ मारिएको पुष्टि भएको दाबी गरेको छ। हमासले भने देइफको निधनबारे आधिकारिक पुष्टि गरेको छैन।
इसराइलले लेबननको राजधानी बेरूतमा हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमान्डरको हवाई आक्रमणमा हत्या गरेको केही घण्टामै हनियेको हत्या भएको थियो। इसराइली नियन्त्रणमा रहेको गोलन हाइट्समा जुलाई २७ मा १२ केटाकेटीहरूको ज्यान जाने गरी भएको रकेट हमलाको बदला लिन इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको बताएको छ।
हमासका शीर्ष नेता हनियेको हत्या भएको भोलिपल्टै इसराइलले दोस्रो वरीयताका नेता र सैन्य कमान्डर देइफलाई पनि मारिसकेको दाबी गरेको छ।
देइफ र हनियेको ठाउँमा सन् २०१७ मा हमासको गजा प्रमुख बनेका याह्या सिन्वरले मिलेर हनियेलाई समेत जानकारी नदिई इसराइलमा अक्टोबर ७ मा हमला गर्ने योजना बनाएको मानिन्छ।
देइफको पनि हत्या भइसकेको हो भने हमासका दुवै शीर्ष नेता मारिएका छन्। त्यस्तै अक्टोबर ७ पछि हमासका शीर्ष ६ जनामध्ये सिन्वरसहित दुई जना मात्रै जीवित रहेको इसराइलको दाबी छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)