भेनेजुएलाको राष्ट्रपतीय निर्वाचन हालका राष्ट्रपति निकोलास मादुरो र विपक्षीका साझा उम्मेदवार एडमुण्डो गोन्जालेज दुवैले जितेको दाबी गरेपछि त्यहाँ तनाव बढेको छ।
अन्तर्राष्ट्रिय मत सर्वेक्षकहरूले विपक्षी गोन्जालेज विजयी हुने भनेका थिए। तर मादुरोको समाजवादी पार्टीका सदस्यको नेतृत्वमा रहेको निर्वाचन गर्ने निकायले ६१ वर्षीय मादुरो निर्वाचित भएको घोषणा गर्यो।
चुनावको नतिजा घोषणा गर्न ६ घण्टा ढिलो गर्दै सो निकायले मादुरोलाई विजयी घोषणा गरेको थियो। उसका अनुसार मादुरोले ५१ प्रतिशत मत प्राप्त गरे भने गोन्जालेजले केवल ४४ प्रतिशत भोट पाए।
निर्वाचन गर्ने निकायले ढिलाइका लागि 'आतंककारी' लाई दोष दिए पनि विपक्षीले धाँधली गर्न ढिलो गरेको आरोप लगाउँदै आफ्नो उम्मेदवार विजयी भएको दाबी गरेका छन्।
मादुरोले धाँधली गरेको भन्दै विपक्षीहरूले विरोध प्रदर्शन सुरू गरिसकेका छन्। सरकारले हिंसात्मक दमन गरेर विरोधलाई मत्थर पार्न खोज्यो भने आर्थिक संकट भोगिरहेको भेनेजुएला थप मुस्किलमा पर्नेछ।
सबैभन्दा लोकप्रिय विपक्षी नेता मारिया कोरिना माचादोसँग हार्ने डरले मादुरो सरकारले उनलाई चुनाव लड्न रोकेको थियो। त्यसपछि ७४ वर्षीय पूर्वकूटनीतिज्ञ गोन्जालेजका पछाडि सबै विपक्षी गोलबद्ध भएका थिए।
गोन्जालेजले जितेको दाबी गर्दै विपक्षीले आफूसँग चुनावमा धाँधली भएको प्रमाण समेत भएको दाबी गरेका छन्।
भेनेजुएलाका हरेक मतदान केन्द्रले त्यहाँको नतिजा कागजमा छाप्छन्। देशैभरिका मतदान केन्द्रले त्यस्तो नतिजा निर्वाचन गर्ने निकायलाई विद्युतीय माध्यमबाट पठाउँछन् र सो निकायले तिनै नतिजाहरूलाई जोडेर निर्वाचन परिणाम घोषणा गर्छ।
मतदान केन्द्रले छापेको नतिजा विपक्षीलाई पनि प्रमाणित गर्न उपलब्ध गराउनुपर्छ। तर यसपटकको निर्वाचनमा करिब ४० प्रतिशत मतदान केन्द्रले मात्रै त्यस्तो नतिजा सार्वजनिक गरेका छन्।
विपक्षी नेतृ माचादोले आफ्ना कार्यकर्ताले करिब ७३ प्रतिशत मतदान केन्द्रबाट नतिजा हात पारेको र त्यसका आधारमा गोन्जालेजले मादुरोभन्दा लगभग ३५ लाख बढी मत प्राप्त गरेको दाबी गरेकी छिन्। आफूहरूसँग कागजमा छापेका ती नतिजाको ठेली रहेको दाबी गर्दै उनले विपक्षी समर्थकलाई विजय उत्सवमा सहभागी हुन आह्वान गरेकी छिन्।
मादुरोलाई निर्वाचित घोषणा गरेलगत्तै भेनेजुएलाजस्तै तानाशाही व्यवस्था भएका चीन, इरान, रूस र सिरिया जस्ता देशले उनलाई बधाई दिएका छन्। तर अमेरिका लगायत पश्चिमा देश र युरोपेली संघ अनि संयुक्त राष्ट्र संघले गम्भीर चिन्ता व्यक्त गर्दै नतिजामा पूर्ण पारदर्शिताको माग गरेका छन्।
मुख्य कुरा, वामपन्थी दलले नेतृत्व गरेको भेनेजुएलाका दुई ठूला छिमेकी ब्राजिल र कोलम्बियाले निर्वाचन परिणामको स्वतन्त्र पुष्टि हुनुपर्ने भन्दै कागजी नतिजा सार्वजनिक हुनुपर्ने माग गरेका छन्। वामपन्थी राष्ट्रपति भएको अर्को दक्षिण अमेरिकी देश चिलीले पनि त्यस्तै माग गरेको छ।
ब्राजिल, कोलम्बिया र मेक्सिकोले चाँडै संयुक्त रूपमा विज्ञप्ति निकाल्दै कागजी नतिजा सार्वजनिक हुनुपर्ने माग गर्नेछन् भनेर समाचारहरू प्रकाशित भएका छन्।
निर्वाचन परिणामको अनुमोदन नगर्ने सात दक्षिण अमेरिकी देशका कूटनीतिज्ञलाई मादुरो सरकारले देशनिकाला गरेको घोषणा गरिसकेको छ।
यसरी अमेरिका लगायत पश्चिमा देशले मात्रै नभएर वामपन्थी दलको सरकार भएका छिमेकी देशले पनि निर्वाचन परिणामको विरोध गरेकाले मादुरोलाई वैधताको संकट पर्नेछ। त्यस्तै अमेरिका लगायत पश्चिमा देशले मात्रै नभएर छिमेकी देशहरूले पनि मत परिणाम स्वीकार नगरेकाले विपक्षीले लामो समयसम्म विरोध गर्नेछन्। त्यस्तो भएमा मादुरो शासनमा जर्जर भएको भेनेजुएलाका जनताले थप दु:ख बेहोर्नुपर्नेछ।
विश्वमा सबैभन्दा धेरै तेल भए पनि भेनेजुएलाका जनता पछिल्लो एक दशकदेखि चरम आर्थिक संकटसँग जुझिरहेका छन् र त्यसका कारण करिब एक चौथाइ जनता देश छोडेर पलायन भएका छन्।
त्यो संकट कुनै प्राकृतिक विपत्ति वा बाह्य हस्तक्षेपका कारण आएको होइन, सरकारले लिएको नीतिले निम्त्याएको हो। उसको नीतिका कारण अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीले पनि त्यसमा घिउ थपेको छ।
उत्तर आन्ध्र महासागरको छेउमा ब्राजिल र कोलम्बियासँग जोडिएको भेनेजुएला तेल निर्यात गरेरै कुनै समय दक्षिण अमेरिकाको सबैभन्दा धनी देश थियो।
नागरिकलाई चाहिने कुरा राज्यकोषबाट सित्तैमा बाँड्ने समाजवादी भेनेजुएलाको परिकल्पना ह्युगो चाभेजले गरेका हुन्।
सन् १९९२ मा सैनिक कू असफल भएपछि आत्मसमर्पण गरेका चाभेज सन् १९९८ को चुनावमा राष्ट्रपति निर्वाचित भए। राष्ट्रपति निर्वाचित भएका चाभेजले नयाँ संविधान लागू गरे। त्यससँगै उनले भेनेजुएलालाई समाजवादी राज्यका रूपमा रूपान्तरण गर्दै लगे। संयोगवश चाभेजले भेनेजुएलाको नेतृत्व सम्हालेसँगै कच्चा तेलको मूल्य बढ्न थाल्यो। तेलबाट हुने आम्दानी बढेसँगै चाभेजको मनोबल पनि उच्च भयो। उनले सुरूमा भूमि र सम्पत्ति वितरणको नयाँ कानुन ल्याए।
सात वर्षपछि चाभेजले भूमिसुधार घोषणा गरे। ठूला जमिन्दारको जमिन गरिबहरूलाई बाँडे।
सन् २००७ मा ओरिनोको डेल्टाका तेलखानीहरू सरकारले नियन्त्रणमा लियो। त्यसपछि दुई अमेरिकी तेल कम्पनीलाई कब्जा गरेर तेल खानी राष्ट्रियकरण गर्यो।
बैंक अफ भेनेजुएला, तेल वितरक कम्पनी र पेट्रोल पम्प पनि सरकारले नै लियो।
तेलको भाउ झन् बढ्दै गएपछि समृद्ध भएको भेनेजुएलाले नजिकैको कम्युनिष्ट देश क्युबालाई सस्तोमा तेल दिन थाल्यो। त्यसको बदलामा क्युबाले भेनेजुएलाको स्वास्थ्य सेवामा सघायो। क्युबाको स्वास्थ्य सेवालाई संसारकै उत्कृष्टमध्ये मानिन्छ।
देशभित्र र बाहिर पनि धेरै खर्च गर्न थालेपछि चाभेज शासनकालको उत्तरार्द्धमा अर्थतन्त्रमा समस्या देखिन थाले। सन् २०११ मा वार्षिक मुद्रास्फीति २७ प्रतिशत पुगेपछि सरकारले अत्यावश्यक वस्तुमा मूल्य नियन्त्रण गर्यो।
सन् २०१२ मा तेस्रो पटक चुनावबाट राष्ट्रपति चुनिएका चाभेजले मृत्युअघि मादुरोलाई आफ्नो उत्तराधिकारी छाने।
सन् २०१३ मा मादुरो राष्ट्रपति बने। अर्को वर्षदेखि तेलको भाउ स्वात्तै घट्न थाल्यो। सन् २०१२ मा प्रति ब्यारेल ११० अमेरिकी डलर पुगेको तेलको भाउ सन् २०१६ मा आइपुग्दा ४० अमेरिकी डलरमा झर्यो।
लोकप्रिय चाभेजको उत्तराधिकारीका रूपमा रहेका मादुरोले तेलको भाउ घटे पनि समाजवादी राज्य बनाउन गरिएको खर्चलाई निरन्तरता दिइरहे।
अलोकप्रिय भएकाले मादुरोलाई शासन टिकाउन सैनिक समर्थन चाहिन्थ्यो। नागरिकलाई बाँड्ने सामानको जिम्मा पाएको सेनाको भ्रष्टाचारमा मादुरोले आँखा चिम्लिए। कुशासन र भ्रष्टाचारले देशको अर्थतन्त्र थिलथिलो हुँदा पनि मादुरोले क्युबालाई सस्तोमा तेल दिन छाडेनन्। किनभने देशविदेशमा व्यापक असन्तुष्टि र विरोध भइरहँदा मादुरोका लागि त्यो क्षेत्रमै क्युबा मात्र समर्थक थियो।
देशभित्रै र बाहिर पनि व्यापक विरोध भए पनि मादुरोले धाँधली गरेर सन् २०१८ को निर्वाचन जिते। त्यति बेला पनि लामो समयसम्म विरोध भएर भेनेजुएलामा तनाव भएको थियो।
सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि तेलको भाउ बढेका बेला भाउ घटाउन अमेरिकाले भेनेजुएलामाथि लगाएको प्रतिबन्ध केही खुकुलो बनाएको थियो। अमेरिकासँग विस्तारै सम्बन्ध सुधार गर्दै जाने र विपक्षी माथिको दमन कम गर्ने बाचा गरेपछि नाकाबन्दी खुकुलो बनाए पनि मादुरोले त्यो बाचा पूरा गरेनन्।
यसपटक फेरि धाँधली गरेर जितेपछि मादुरोले विपक्षीको दमन गरे भने अमेरिकाले झन् कडा नाकाबन्दी लगाउनेछ। एक दशकदेखि पिल्सिइरहेका जनताका दु:खका दिन झन् लम्बिनेछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)