गजाको दक्षिणी सहर राफामा इसराइली सैन्य कारबाहीले सहायता वितरणमा बाधा पुर्याएपछि गजा पट्टीमा फेरि भोकमरीको खतरा उत्पन्न भएको छ भनेर संयुक्त राष्ट्र संघ समर्थित विज्ञहरूको समूहले मंगलबार सचेत गराएको छ।
करिब पाँच लाख प्यालेस्टिनीहरू भोकमरीको संघारमा पुगेको उनीहरूले जानकारी दिएका छन्।
संयुक्त राष्ट्र संघको पहलमा खाद्य सुरक्षा विज्ञहरूले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) को विश्लेषण गर्छन्। उनीहरूले गजामा गरेको पछिल्लो आइपिसी विश्लेषण अनुसार सम्पूर्ण गजा पट्टीका प्यालेस्टिनीहरू आगामी महिनाहरूमा अनिकालको सम्भावित जोखिममा छन्। उनीहरूले युद्ध जारी रहुञ्जेल र मानवीय सहायतामा रोक लागुञ्जेल अनिकालको उच्च जोखिम रहने बताएका छन्।
आइपिसी प्रतिवेदनका अनुसार गजाका आधाभन्दा बढी घरपरिवारले खानाको लागि कपडा साटेका छन् भने एक तिहाइले बेच्नका लागि फोहोरको थुप्रोबाट वस्तुहरू उठाउने गरेका छन्। सर्वेक्षणमा परेका २० प्रतिशतभन्दा बढी मानिसहरूले पूरै दिन र रात नखाई नै बिताएका छन्।
वर्षौंदेखि इसराइल र इजिप्टले मिलेर गजामा लगाएको नाकाबन्दीका कारण पछिल्लो द्वन्द्व सुरू हुनुभन्दा अघिदेखि नै धेरैजसो गजावासीहरू अन्तर्राष्ट्रिय सहायतामा भर परेका थिए। आइपिसीका अनुसार आठ महिनाको युद्ध अनि इसराइलले सहायता वितरणमा सुरक्षाको कारण देखाई पुर्याएको बाधाका कारण लगभग पाँच लाख गजावासीहरू भोकमरीको संघारमा पुगेका छन्।
यसअघिको आइपिसी रिपोर्टले गजाका उत्तरी क्षेत्रहरूमा मे महिनासम्म भोकमरी हुने भविष्यवाणी गरेको थियो। मार्च र अप्रिलभरि सहायता वितरणमा उल्लेखनीय वृद्धि भएकाले अस्थायी रूपमा स्थितिमा सुधार आए पनि इसराइलले राफामा सैन्य कारबाही थालेपछि स्थिति फेरि बिग्रिएको आइपिसीले जनाएको छ।
मे महिनाको सुरूमा इसराइलले इजिप्टसँग सिमाना जोडिएको गजाको दक्षिणी भाग राफामा सैन्य कारबाही थालेको थियो।
गत अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलाको जबाफमा इसराइलले गजामा सेना पठाएर गजाका अन्य भाग ध्वस्त पारेपछि त्यहाँका धेरै प्यालेस्टिनी समेत राफामा शरण लिन पुगेका थिए। उसै पनि धेरै घना बस्ती भएको गजाका लगभग २० लाख बासिन्दामध्ये करिब १४ लाख राफामा कोच्चिएर बसेको बेलामा इसराइलले सैन्य कारबाही गरेको थियो।
अमेरिका लगायत पश्चिमा राष्ट्र र इजिप्ट लगायत खाडी मुलुकले राफामा आक्रमण नगर्न इसराइललाई निरन्तर दबाब दिइरहे पनि नसुनिकन इसराइलले राफामा सैन्य कारबाही सुरू गरेको थियो।
त्यसपछि इजिप्टसँगको सीमाबाट आउने सहायतामा बाधा भएपछि भोकमरीको खतरा भएको आइपिसीले जनाएको छ।
संयुक्त राष्ट्र संघको पहलमा खाद्य सुरक्षा विज्ञहरूले अनिकाल लागेको आधिकारिक रूपमा निर्धारण गर्न प्राविधिक प्रक्रियाबाट आइपिसी विश्लेषण गर्छन्।
खाद्य सुरक्षा विज्ञहरूले तीन वटा मापदण्डका आधारमा अनिकाल लागेको निर्धारण गर्छन्। अनिकाल लाग्न कम्तीमा २० प्रतिशत घरपरिवारले खाद्यान्नको चरम अभावको सामना गरेको हुनुपर्छ। कम्तीमा ३० प्रतिशत बालबालिका चरम कुपोषणबाट पीडित हुनुपर्छ। भोकमरी वा कुपोषणसँग सम्बन्धित रोगका कारण हरेक दिन १०,००० मानिसमध्ये कम्तीमा दुई वयस्क वा चार बालबालिकाको मृत्यु हुनुपर्छ।
यी मापदण्डका आधारमा गरिएको पछिल्लो आइपिसी विश्लेषण अनुसार राफामा इसराइलले सैन्य कारबाही गरेपछि सम्पूर्ण गजाका प्यालेस्टिनीहरू आगामी महिनाहरूमा अनिकालको जोखिममा छन्।
सन् २००४ बाट सुरू गरिएको आइपिसी विश्लेषण अनुसार अहिलेसम्म सन् २०११ मा सोमालियामा र सन् २०१७ मा दक्षिण सुडानमा मात्रै अनिकाल घोषणा भएको छ।
गत अक्टोबर ७ मा हमासले गरेको आतंककारी हमलाको जबाफमा इसराइलले गजामा सेना पठाएर विध्वंश मच्चाएको छ।
इसराइली कारबाहीमा हमासका लडाकु मात्र नभएर महिला र बालबालिकासहित दसौं हजार गैरसैनिक प्यालेस्टिनीको मृत्यु भइसकेको छ। विस्थापित भएकाहरूले खानसमेत पाइरहेका छैनन्। त्यही कारण अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले युद्ध अपराधमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)