रूस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरून्तै सैन्य सहायता पठाउने सम्झौता गरेका छन्।
उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शीतयुद्धकालीन आपसी रक्षा सन्धिलाई ब्युँताउने खालको सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सन् १९६१ मा तत्कालीन सोभियत संघ र उत्तर कोरियाले गरेको सो आपसी रक्षा सम्झौता १९९० मा सोभियत संघले दक्षिण कोरियासँग दौत्य सम्बन्ध स्थापना गरेपछि निष्क्रिय भएको थियो।
'यदि दुईमध्ये कुनै एक देशमाथि हमला भयो वा युद्धमा होमियो भने संयुक्त राष्ट्र संघको बडापत्रको धारा ५१ अनुसार अर्को देशले आफ्ना सबै उपलब्ध उपाय प्रयोग गरी तुरून्तै सैन्य र अरू खालको सहयोग गर्नेछ,' पुटिन र किमले हस्ताक्षर गरेको सम्झौताको धारा ४ ले भन्छ।
संयुक्त राष्ट्र संघको वडापत्रको धारा ५१ ले कुनै पनि सदस्य राष्ट्रलाई एकल वा सामूहिक रूपमा आत्मरक्षाको कार्य गर्ने अधिकार दिन्छ।
पुटिनले युक्रेनमाथिको आक्रमणलाई अहिलेसम्म युद्ध नभनेर विशेष सैनिक कारबाही मात्रै भनेकाले सम्झौता भए पनि अहिले नै युक्रेनसँग लड्न उत्तर कोरियाले सेना पठाउँदैन भन्ने बुझ्नुपर्ने हुन्छ।
अमेरिका लगायत पश्चिमा राष्ट्रले दुवै देशलाई आर्थिक नाकाबन्दी लगाएर अप्ठयारो पारेको बेला दुई नेताले आपसी सम्बन्ध झन् मजबुत बनाउन सो सम्झौता गरेका छन्।
दुवै देशले अर्को राष्ट्रको स्वार्थमा आघात पुग्ने खालको सम्झौता तेस्रो देशसँग नगर्ने र आफ्नो भूमि एक-अर्काका विरूद्ध प्रयोग हुन नदिने वाचा पनि गरेका छन्।
किमले रूस भ्रमण गरेको नौ महिनापछि पुटिनले उत्तर कोरिया भ्रमण गरेका थिए। त्यसअघि सन् २०१९ अप्रिलमा पनि किमले रूस भ्रमण गरेका थिए।
पुटिन भने २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा आएका थिए। सन् २००० मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएलगत्तै उनी उत्तर कोरिया गएका थिए। त्यति बेला त्यहाँ किमका बुवा किम जोङ इलको शासन थियो।
उत्तर कोरिया तत्कालीन सोभियत संघकै कारण बनेको थियो। तर कुनै सोभियत सरकार प्रमुखले उत्तर कोरिया भ्रमण गरेका थिएनन्।
कोरिया कब्जा गरेको जापानले दोस्रो विश्वयुद्धको अन्त्यमा आत्मसमर्पण गरेपछि कोरिया विभाजन भएको थियो। उत्तरपट्टिको भाग सोभियत संघको नियन्त्रणमा थियो भने दक्षिण अमेरिकाको। किमका हजुरबुवा किम इल सुङले एकीकरण गरेर कम्युनिस्ट कोरिया बनाउन सोभियत संघकै भरमा सन् १९५० मा दक्षिण कोरियामा आक्रमण गरेका थिए।
सोभियत संघले उत्तर कोरियालाई हतियार मात्रै दियो। केही पाइलट सहितका लडाकु विमानले युद्धमा भाग लिए। तर सोभियत संघले प्रत्यक्ष रूपमा सो युद्ध लडेन।
दक्षिण कोरियाका लागि भने अमेरिकाले सेना पठाएरै लड्यो। युद्धका क्रममा अमेरिकी सेना उत्तर कोरियाभित्र छिरेर कम्युनिस्ट चीनकै सीमाछेउ पुगेको थियो। त्यसपछि चीन पनि उत्तर कोरियाको पक्षमा युद्ध मैदानमा ओर्लिएको थियो।
सन् १९५३ मा अमेरिका, उत्तर कोरिया र चीनबीच युद्धविराम भयो। दक्षिण कोरियाले भने युद्धविराममा हस्ताक्षर नगरेकाले प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धमै छन्।
दोस्रो विश्वयुद्धपछि अमेरिका बराबरको महाशक्ति बनेको सोभियत संघका लागि उत्तर कोरिया आफूमा आश्रित सानो कम्युनिस्ट राष्ट्र मात्रै थियो।
सोभियत संघको विखण्डनपछि पनि उत्तर कोरिया भ्रमण गर्ने पहिलो रूसी राष्ट्रपति पुटिन नै भएका थिए।
राष्ट्रपति हुनेबित्तिकै उनले भ्रमण गरे पनि रूसका लागि उत्तर कोरियाको हैसियत आफ्नो सहयोगको अपेक्षा गर्ने गरिब, तानाशाही राष्ट्रभन्दा धेरै थिएन। उत्तर कोरियाले आणविक हतियार बनाउन लाग्दा अमेरिकाले धेरै पटक आर्थिक नाकाबन्दी लगाएको थियो। त्यसरी नाकाबन्दी लगाउँदा रूसले पनि साथ दिएको थियो।
तर पुटिनले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि भने बिस्तारै रूस र उत्तर कोरिया नजिकिँदै गएका छन्।
रूसले युक्रेन आक्रमण गरेपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले उत्तर कोरियामा लगाए जस्तै आर्थिक नाकाबन्दी रूसमा पनि लगाएका छन्।
अमेरिका लगायत पश्चिमा राष्ट्रले हतियार दिएर युक्रेनलाई सहयोग गरेका कारण युद्ध लम्बिँदै गएपछि रूसको शीतयुद्धकालीन हतियारको भण्डार रित्तिँदै गएको छ। त्यसैले पुटिनले इरान र उत्तर कोरियाबाट हतियार र गोलाबारूद किनिरहेका छन्। रूसले उत्तर कोरियालाई खाद्यान्न र तेल दिइरहेको छ। पछिल्लो समय किमले रूसबाट अत्याधुनिक हतियार प्रविधि पनि पाउने आशा गर्न थालेका छन्।
बुधबारको सम्झौतामा रूसले उत्तर कोरियालाई हतियार-प्रविधि उपलब्ध गराउनेबारे भने केही उल्लेख छैन। तर त्यसबारे पुटिनले बुधबार बोल्दै संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई हतियार-प्रविधि दिन लगाएको प्रतिबन्ध पुनर्विचार गर्ने बेला भएको भनेका छन्। आफ्नो रक्षा क्षमता बढाउन आवश्यक उपाय अवलम्बन गर्ने अधिकार प्योङयाङलाई भएको उनले बताएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)