पश्चिमा राष्ट्रहरूको समूह जी७ रूसको केन्द्रीय बैंकले पश्चिमा देशमा राखेको ३ सय अर्ब डलर भन्दा धेरै सम्पत्ति प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिन सहमत भएको छ।
इटालीमा भइरहेको जी७ समूहको शिखर सम्मेलनमा सहभागी सरकार प्रमुखहरू रूसको सम्पत्ति प्रयोग गरी युक्रेनलाई ऋण सहायता दिन बिहीबार सहमत भएका हुन्।
जी७ समूह र युरोपियन युनियनका राष्ट्रहरूले रूसले राखेको करिब ३२५ अर्ब डलरको सम्पत्ति उसले युक्रेनमा आक्रमण गरेपछि रोकेर राखेका छन्। सोही रोकिएको रूसी सम्पत्ति प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिन जी७ समूह र युरोपियन युनियन सहमत भएका छन्।
ऋणका लागि एउटा संयन्त्र बनाइने छ जसमा धेरै ऋणदाताले लगानी गर्ने छन्। तर त्यो ऋण युक्रेनले नभएर रोकेर राखिएको रूसी सम्पत्तिबाट हुने आम्दानीले तिरिने छ।
सो ऋणका भरपाइ भएन भने के हुन्छ भन्ने लगायत कुरामा सहमति हुन भने बाँकी छ। सबै ५० अर्ब डलर एकैचोटी युक्रेनलाई नदिएर धेरैवटा किस्तामा दिइनेछ र पहिलो किस्ता पनि यो वर्षको अन्त्यतिर मात्रै दिइनेछ।
कतिपय राष्ट्रले रोकिएको सबै रूसी सम्पत्ति तुरून्तै युक्रेनलाई हस्तान्तरण गर्नु पर्ने भने पनि अन्तर्राष्ट्रिय मुद्रा कोष र युरोपेली केन्द्रीय बैंकले त्यसो गरे अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमाथि संसारको विश्वास गुम्न सक्ने भन्दै रोकेकाले ऋणको माध्यमबाट सहायता दिन सहमति भएको हो।
रूसले भने आफ्नो सम्पत्तिबाट भएको आम्दानी खोस्ने पश्चिमा राष्ट्रको निर्णयलाई आपराधिक भनेर भ्रर्त्सना गरेको छ।
जी७ समूहको शिखर सम्मेलनकै अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले १० वर्षे दुईपक्षीय रक्षा सहमति पनि गरेका छन्। बाइडेनले सो सहमतिले हतियार, गोप्य सूचना र प्रविधि अमेरिकाले लगातार दीर्घकालसम्म युक्रेनलाई दिने सुनिश्चित गरेको बताएका छन्।
जी७ समूहको सहमति र अमेरिका-युक्रेनको रक्षा सहमतिले युद्धलाई लामो समयसम्म तन्काएर पश्चिमा राष्ट्रहरूलाई थकाउन नसकिने भनेर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन्देश दिएको पनि बताएका छन्।
‘तिमीले हामीलाई विभाजित गर्न सक्दैनौं। अनि हामीहरू यो युद्धमा युक्रेन हावी नभइन्जेलसम्म युक्रेनसँगै हुनेछौं,’ बाइडेनले भनेका थिए।
रूसको केन्द्रीय बैंकले पश्चिमा देशमा राखेको ३ सय अर्ब डलर भन्दा धेरै सम्पत्ति जफत गरी युक्रेनलाई सहयोग गर्नेबारे अमरिकी सरकारले आफ्नो गठबन्धन राष्ट्रहरूसँग गत वर्षको अन्त्यतिर छलफल थालेको थियो।
युक्रेनको युद्धमा दिइएको आर्थिक सहायता घट्दै गएको बेला रूसको सम्पत्ति जफत गर्नेबारे छलफल सुरू भएको थियो।
अहिलेसम्म युक्रेनले लगभग ३०० सय अर्ब डलरको सैन्य र आर्थिक सहायता पाइसकेको छ। अमेरिकाले धेरै सैन्य सहयोग गरेको छ भने युरोपेली देशले आर्थिक सहायता गरेका छन्।
तर युक्रेनलाई युद्ध लड्न र युद्धपश्चात पुनर्निर्माणका लागि धेरै रकम चाहिने भएकाले युक्रेनमाथि आक्रमण गरे बापत रूसलाई सजाय दिन उसको सम्पत्तिबाट युक्रेनलाई सहायता दिन लागिएको हो।
फेब्रुअरी २०२२ मा युक्रेनमाथि रूसले आक्रमण गरेदेखि नै पश्चिमा देशमा राखिएको रूसी केन्द्रीय बैंकको सम्पत्ति रोकिएको थियो।
त्यो सम्पत्ति जफत गर्नु अमेरिकी र अन्तर्राष्ट्रिय कानून प्रतिकुल हुने र यसले अन्य देशले पनि अमेरिकामा सम्पत्ति नराख्ने खतरा बढ्ने त्यहाँका अधिकारीहरूले बताउँदै आएका थिए। उनीहरूले अमेरिकाले कुनैपनि बेला सम्पत्ति जफत गर्न सक्छन् भन्ने भयले अन्य देशका नागरिकहरूले अमेरिकामा सम्पत्ती नै नराख्ने सम्भावना रहनाले सम्पत्ति जफत गर्न नहुने सुझाव दिएका थिए।
गर्नै परे अमेरिकी संसदबाट अथवा कुनै अन्तराष्ट्रिय संस्थामार्फत कानुन बनाएर मात्र गर्नुपर्ने उनीहरूको जिकिर थियो।
यसरी पश्चिमा देशमा राखिएको रूसी सम्पत्तिमध्ये लगभग ५ अर्ब मात्रै अमेरिकी संस्थाहरूको हातमा छन्।
तर रूसी सम्पत्तिको ठूलो हिस्सा अमेरिका र युरोपमा अमेरिकी डलरमा राखिएको छ। आफ्नो मुद्रामा लेनदेन गरिने सम्पत्तिको अमेरिकाले निगरानी र त्यसलाई रोक्का गर्न सक्छ।
रूसमा रहेका अमेरिका लगायतका पश्चिमा कम्पनीहरूको सम्पत्ति कौडीको भाउमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन निकटका व्यक्तिले जबर्जस्ती किनेको वा जफत गरेका कारणले पनि पश्चिमा देशहरूले रूसी केन्द्रीय बैंकको सम्पत्ति प्रयोग गरी युक्रेनलाई सहयोग गर्ने कदम चालेका हुनसक्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)