प्यालेस्टिनी विद्रोही समूह हमाससँगको वार्ता भंग भएपछि इसराइलले इजिप्टसँग सिमाना जोडिएको गजाको दक्षिणी भाग राफाबाट हट्न दसौँ हजार प्यालेस्टिनीलाई उर्दी जारी गरेको छ।
गत अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलाको जबाफमा इसराइलले गजामा सेना पठाएर विध्वंश मच्चाएको छ।
इसराइली कारबाहीमा हमासका लडाकूमात्रै नभएर महिला र बालबालिकासहित दसौँ हजार गैरसैनिक प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने विस्थापित भएकाहरूले खान समेत पाइरहेका छैनन्।
गजाका अन्य भाग इसराइली आक्रमणले ध्वस्त भएपछि त्यहाँका धेरै प्यालेस्टिनी समेत अहिले राफामा छन्। उसै पनि धेरै घना बस्ती भएको गजाका लगभग २० लाख बासिन्दामध्ये करिब १४ लाख अहिले राफामा कोच्चिएर बसेको मानिन्छ।
सर्वसाधारणसँगै अन्यत्रबाट हमास लडाकू समेत भागेर राफामा पुगेका छन्। अक्टोबर ७ को आक्रमणका प्रमुख योजनाकार र गजाका हमास प्रमुख याह्या सिन्वर पनि अहिले राफामुनि कतै सुरूङमा लुकेको इसराइलको ठम्याइ छ।
हमासलाई ध्वस्त नपारी आफू सुरक्षित नरहने ठान्ने इसराइलले हप्तौंदेखि राफामा पनि सेना पठाएरै आक्रमण गर्न खोजिरहेको छ। तर अमेरिका लगायत पश्चिमा राष्ट्र र इजिप्ट लगायत खाडी मुलुकले राफामा आक्रमण नगर्न इसराइललाई निरन्तर दबाब दिइरहेका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने हमाससँगको वार्ता सफल भए पनि नभए पनि राफामा आक्रमण गरिछाड्ने भनिरहेका थिए।
इसराइल-हमासको युद्धविराम गराउन इजिप्टको राजधानी कायरोमा भइरहेको पछिल्लो वार्ता आइतबार भंग भएपछि भने इसराइलले राफामा आक्रमण गर्ने तयारीका लागि दसौं हजार प्यालेस्टिनीलाई राफाको पूर्वी भागबाट हट्न उर्दी जारी गरेको मानिन्छ।
आइतबार इसराइल-गजाको केरेम शलोम सिमानामा हमासले आक्रमण गरेर तीन इसराइली सेना मारेका कारण पनि इसराइलले पछिल्लो कदम चालेको हुन सक्छ।
द न्यु योर्क टाइम्सका अनुसार युद्धविराम अस्थायी गर्ने कि स्थायी गर्ने भन्नेमा कुरा नमिलेका कारण वार्ता विफल भएको हो।
इसराइल नोभेम्बरको अन्त्यमा भएको जस्तो अस्थायी युद्धविराम गर्न चाहन्थ्यो भने हमासको माग चाहिँ स्थायी युद्धविराम र सम्पूर्ण गजाबाट इसराइली सेना फिर्ता हुनुपर्ने भन्ने थियो।
गजामा हमासको नियन्त्रण रहिरहे उसले फेरि इसराइलमाथि आक्रमण गर्ने ठानेर इसराइलले हमासलाई ध्वस्त नपारूञ्जेल गजाबाट सेना फिर्ता गर्न नमानेको हो।
उता हमासका एक वार्ताकारले भने इसराइल जसरी पनि राफामा आक्रमण गर्ने योजना बनाएर बसेकाले वार्ता विफल भएको बताएका छन्।
अप्रिल १३ मा तीन सयभन्दा बढी ड्रोन र मिसाइलले आक्रमण गरेको इरानमाथि इसराइललाई ठूलो हमला गर्नबाट रोकेर अमेरिकाले इरान-इसराइल युद्ध टारे पनि राफामा आक्रमण गर्नबाट भने रोक्न सक्दैन भन्ने विश्लेषकहरू ठान्छन्।
अमेरिकी हतियार प्रयोग गरेर इसराइलले महिला र बालबालिकासहित दसौं हजार गैरसैनिक प्यालेस्टिनी मारेका कारण अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नै पार्टीभित्र दबाबमा छन्। उता अमेरिकाभरि कलेजहरूमा प्यालेस्टाइनको समर्थन र इसराइलको विरोधमा प्रदर्शन भइरहेको छ।
अर्कोतर्फ हमासको सैन्य क्षमता बाँकी रहेसम्म इसराइललाई खतरा नटर्ने भन्ने अमेरिकी सरकार पनि ठान्छ। त्यसैले अमेरिकाले पछिल्ला हप्तामा राफामा हमास लक्षित मात्रै हमला गर्नू र सेना पठाएर आक्रमण नगर्नू भनेर इसराइललाई सम्झाइरहेको छ। आक्रमण गर्नु नै परे त्यहाँका सर्वसाधारणलाई सुरक्षित रहने ठाउँ उपलब्ध गराएर मात्र आक्रमण सुरू गर्न अमेरिकाले भनिरहेको छ।
इजिप्टले आफ्नो देशमा विस्थापित प्यालेस्टिनीलाई शरण नदिने भएकाले र गजाका अन्य भाग इसराइलले ध्वस्त पारिसकेकाले राफाका करिब १४ लाख मानिसलाई सुरक्षित रूपमा सार्न कठिन हुनेछ। उनीहरूलाई नसारिकनै इसराइलले सेना पठाएर राफामा आक्रमण गर्ने हो भने अहिलेसम्म भएको भन्दा धेरै सर्वसाधारण मारिन सक्ने खतरा रहन्छ।
अमेरिकाले सर्वसाधारणलाई सुरक्षित रहने ठाउँ उपलब्ध नगराई आक्रमण नगर्नू भनेकाले इसराइलले अहिले आफूले प्यालेस्टिनी राख्न बनाएको मुवासी भन्ने मानवीय क्षेत्रमा जान पूर्वी राफाका एक लाख प्यालेस्टिनीलाई उर्दी जारी गरेको छ। त्यहाँ उनीहरूलाई खाने-बस्ने प्रबन्ध मिलाइने बताएको छ। अहिलेलाई सीमित दायराको मात्रै ‘सैन्य कारबाही’ गर्ने भनेको छ।
गजालाई वर्षौंदेखि नाकाबन्दी लगाएर लगभग जेलजस्तै बनाउन सहयोग गरेको इजिप्टले भने इसराइललाई राफामा आक्रमण नगर्न भनिरहेको छ। त्यहाँ ठूलो आक्रमण भए नरसंहारबाट बच्न सीमा पार गर्न खोज्ने प्यालेस्टिनीलाई रोक्न नसकिने भनेर इजिप्टले बुझेको छ। त्यसैले गजा-इजिप्ट सीमाछेउ इसराइलले आक्रमण गरे वा त्यहाँका प्यालेस्टिनीलाई इजिप्टतिर लखेटे इसराइलसँगको चार दशक पुरानो शान्ति सन्धि टुट्ने चेतावनी दिएको छ।
तर इसराइली प्रधानमन्त्री नेतान्याहु भने राफामा आक्रमण गर्न दृढ देखिन्छन्।
दोस्रो विश्वयुद्धमा नाजी जर्मनीले यहुदीको नरसंहार गरेको स्मृतिमा इसराइलमा आयोजना गरिएको एउटा कार्यक्रममा आइतबार बोल्दै उनले आत्मरक्षाका लागि आक्रमण गर्नु आफ्नो अधिकार भएको जिकिर गरेका थिए।
इसराइलले गजामा नरसंहार गरिरहेको कुरा अस्वीकार गर्दै इसराइल एक्लै उभिन परे पनि उभिने तर आक्रमण नरोक्ने बताएका थिए।
'इसराइललाई एक्लै उभिन बाध्य पारिए इसराइल एक्लै उभिनेछ। तर हामीलाई थाहा छ हामी एक्लै छैनौं। संसारभरिका अनगिन्ती राम्रा मान्छेले हाम्रो जायज उद्देश्यको समर्थन गर्छन्,' उनले भनेका थिए।
उनको भाषणको २४ घण्टा पनि नबित्दै इसराइलले राफाबाट हट्न दसौं हजार प्यालेस्टिनीलाई उर्दी जारी गरेको हो।
द वासिङ्टन पोस्टका अनुसार आइतबार इसराइली रक्षा मन्त्री योआभ गलान्टले अमेरिकी समकक्षी लोएड अस्टिनलाई फोन गरेर राफामा सैन्य कारबाहीको कुनै विकल्प नभएको बताएका थिए। राफाको गजा-इजिप्ट सीमा छेवैबाट आक्रमण गरेर हमासले आइतबारमात्रै आफ्ना तीन सैनिक मारेको भन्दै गलान्टले राफामा आक्रमण गर्ने जानकारी दिएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)