इसराइलले गजाको सबैभन्दा ठूलो अस्पतालमा एक जना इसराइली बन्धकको शव भेटिएको दाबी गरेको छ।
हमासले कमाण्ड सेन्टर बनाएको दाबी गर्दै इसराइली डिफेन्स फोर्स (आइडिएफ) बुधबारदेखि गजाको अल-सिफा अस्पतालमा प्रवेश गरेको थियो।
सिएनएनका अनुसार आइडिएफले बिहीबार अस्पताल नजिकैको संरचनामा इसराइलबाट बन्धक बनाएर गजा पुर्याइएकी ६५ वर्षीया यहुदित वेइसको शव भेटिएको दाबी गरेको छ। उनको शव इसराइल फर्काइसकिएको आइडिएफले बताएको छ।
आइडिएफले उक्त महिलाको कहिले र कसरी हत्या भयो भन्ने बारेमा भने केही खुलाएको छैन। उनीहरूले शवको पहिचान भएको र यसबारे उनको परिवारलाई जानकारी दिइसकिएको बताएका छन्।
आइडिएफका प्रवक्ता ड्यानियल हगेरीले टेलिभिजन ब्रिफिङमार्फत वेइसलाई हमासले मारेको बताएका छन्। ‘हामीले उहाँलाई समयमा उद्धार गर्न सकेनौं। दुर्भाग्यवश उहाँ आतंककारीबाट मारिनुभयो,’ प्रवक्ता हगेरीको भनाइ उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।
आइडिएफले बन्धक बनाइएकाहरुको खोजी गरी उनीहरूलाई चाँडै घर पठाउनु आफ्नो प्रमुख दायित्व रहेको बताएको छ।
इसराइलमा गत अक्टोबर ७ मा हमासले आक्रमण गरी त्यहाँबाट २ सय भन्दा बढी नागरिकहरूलाई बन्धक बनाएर गजा पुर्याएको थियो। हमासको आक्रमणबाट १ हजार २ सयको मृत्यु भएको बताइएको छ।
गजामा मृत भेटिएकी यहुदित वेइसका श्रीमान् श्लुमिक वेइस पनि अक्टोबर ७ को आक्रमणमा मारिएका थिए। उनीहरूका ५ सन्तान रहेको आइडिएफले जनाएको छ।
आइडिएफले यहुदित मृत भेटिएको अल-सिफा अस्पतालनजिकको उक्त संरचना हमासको कमान्ड सेन्टर रहेको पनि बताएको छ। त्यहाँबाट एके-४७ राइफल र आरपिजी लगायतका सैन्य उपकरणहरू बरामद भएको उसले बताएको छ।
आइडिएफले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा तस्बिरहरू सार्वजनिक गर्दै अस्पताल परिसरको मुनि हमासको अपरेशनल टनेल रहेको दाबी पनि गरेको छ।
हमास र अस्पतालले भने इसराइली सैनिकको उक्त दाबी खण्डन गर्दै आइरहेको छ।
अस्पतालमा हमासको कमाण्ड सेन्टर रहेको दाबी पुष्टि गर्न इसराइललाई अन्तर्राष्ट्रिय दबाव छ।
उसले आफ्नो दाबी पुष्टि गर्न नसके अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको गम्भीर उल्लंघन गरेको ठहर्न सक्छ।