कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ११ जना नेपालीको मृत्यु भएको छ।
कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यका अनुसार यो संख्या शनिबारसम्मको हो।
विशाक्त मदिरा सेवनका कारण ४० जना नेपाली बिरामी परेर अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको उनले बताए।
बिरामीमध्ये केही गम्भीर अवस्थामा र कतिपय सामान्य अवस्थामा उपचाररत छन्।
कुवेतमा मदिरा सेवन अवैध मानिन्छ। नेपालीहरूले विशाक्त मदिरा सेवन कसरी गरे भन्नेबारे समान्य अवस्था भएकाहरूसँग सोधपुछ गरेर बुझ्दा साथीभाइबाट मदिरा प्राप्त गरेको बताएको श्रम सहचारी आचार्यले जानकारी दिए।
‘दुःखद् घटना भएको छ। हामीले यसबारे सोधपुछ गर्दा साथीभाई सर्कलबाट मदिरा प्राप्त गरेको बताउनु भएको छ। दूतावासले यसबारेमा सचेतना पनि गराइरहेको छ,’ उनले सेतोपाटीसँग भने।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथानोल मिसाएको मादक पदार्थ सेवनका कारण १६० जना आप्रवासी बिरामी भएका थिए। उनीहरूमध्ये २० जनाभन्दा धेरै आप्रवासीहरूको मृत्यु भएको छ।