नेपालबाट पलायन भएको अवैधानिक नेटवर्किङ व्यवसाय गोल्ड क्वेष्ट र हर्वोले मलेसियामा आफ्नो सेवा विस्तार गरिरहेको छ। केही महिनादेखि मलेसियामा उनीहरुले आफ्ना सेवा विस्तार गरेको हो।
अहिलेसम्म उनीहरुले मलेसियामा ८ सय नेपाली कामदारलाई आफ्नो सदस्य बनाइ ठगी गरेको खुल्न आएको छ। हर्बो इन्टरनेसनल व्यवसाय नेपालबाट खारेज भइसकेको संस्था हो ।
हर्बोले नेपालबाट १ अर्ब ४१ करोड ठगी गरेको थियो । त्यसपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले २०६७ सालमा खारेज गरेको थियो । हर्बो इन्टरनेसनल बाहेक नेटवर्क मार्केटिङ क्रिस्टल भिजन इन्टरनेसनल, बेस्ट वल्र्ड बिजिनेस लिंक र रोबियस इन्टरनेसलनका नाममा दर्ता भएका थिए।
यी कम्पनी २०६६ माघ १७ मा जारी नेटवर्क मार्केटिङ कम्पनी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिकाका आधारमा दर्ता भएका थिए । युनिटी इन्टरनेसनलको ठगी काण्डलगत्तै मन्त्रालयले २०६७ जेठ ९ मा उक्त निर्देशिका खारेज गरेको थियो ।
त्यसलगत्तै विभागले उक्त निर्देशिकाका आधारमा दर्ता भएका सम्पूर्ण नेटवर्क मार्केटिङ कम्पनी खारेजीमा परेकाले सञ्चालन गर्न नगराउन पत्राचार गरेको थियो ।
त्यसबाट अर्बौंको लगानी जोखिममा परेको दाबीसहित करिब २ दर्जन नेटवर्क मार्केटिङ कम्पनीले सर्वोच्चमा उक्त निर्देशिका खारेज गर्न नहुने मागसहित आवेदन दिएका थिए ।
सर्वोच्चले २०६७ जेठ १६ गते निर्देशिका खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । तर सर्वोच्चले गत चैत १५ मा नेटवर्क मार्केटिङ निर्देशिका खारेज गर्ने सरकारको निर्णय सदर गरेपछि उक्त अन्तरिम आदेशका आधारमा सञ्चालित ती कम्पनीको वैधता समाप्त भएको थियो ।
बैधता समाप्त भएपनि भन्दै अहिले यी कम्पनी मलेसियामा सरेका हुन् । गोल्ड क्वेष्ट र हर्बोले नेपाली श्रमिक ठगेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र मलेसियास्थित नेपाली दूतावासमा उजुरी परेको छ।
सिआइबीले यस विषयमा अनुसन्धान सुरु गरेको छ। काम गर्न आएका नेपाली श्रमिकहरुसँग रकम असुलेर हर्बोका विभिन्न सामानहरु उनीहरुले बेचिरहेका छन् ।
अवैध नेटवर्किङ व्यवसाय संचालन गर्दै आएकाहरुमाथि यही २७ तारिखमा हुन लागेको एनआरएन मलेसियाको चुनाव प्रभावित गर्ने काम गरिरहेको आरोप छ । एनआरएन मलेसियाको सम्मेलनमा आफ्नो पक्षमा भोट तान्न अवैध नेटवर्किङ व्यवसायमा सम्लग्न भएकाहरुले पनि उमेद्वारी दिएका छन् ।
हर्वो नामक संस्थाले क्वालालाम्पुरको एक होटलमा विदेशी नागरिक ल्याइ, कसरी नेटवर्क विस्तार गर्ने तालिम यही हप्ता दिदैँछ। सहभागीहरुलाई दैनिक भत्तासमेत दिएर उनीहरुलाई एनआरएन सम्मेलनमा प्रयोग गर्न खोजिएको केही उमेद्वारहरुले बताएका छन् ।
एनआरएनको अधिवेशनमा ठूलो रकमको चलखेलसमेत भइरहेको मलेसियामा रहेका नेपालीहरुले बताएका छन् । हर्वो र गोल्ड क्वेष्ट व्यवसाय विस्तार गर्न नेटवर्किङ व्यवसायीहरुले एनआरउन मलेसियालाई नै प्रयोग गरिरहेका छन् । स्रोतका अनुसार एनआरएन मलेसियाका अध्यक्ष विश्व राईलाई नेटवर्किङ व्यवसायीहरुले प्रलोभनमा पारिरहेका छन् ।