एनआरएन कोरियाको छैठौ अधिबेशनको निर्वाचन ब्यवस्थापन फितलो भएपछि सास्ती पाएको भन्दै ब्यवस्थापन पक्षको आलोचना भएको छ।
उपस्थित पंजीकृत सदस्यहरुले ब्यवस्थापन पक्षले छिटो छरितो प्रबिधि नबनाउँदा आफूहरू मत दिनकै लागि घन्टौंसम्म लाइनमा उभिनु परेको गुनासो गरे। कतिपयले त मत नै नदिई फर्किनु परेको पनि गुनासो गरे।
कोरियाको उल्सानदेखि आएका एक जना सदस्यले एउटा लाइनमा २ घण्टा उभिएर मुस्किलले सदस्यता कार्ड हात पारेको भन्दै ‘अब फेरि भोट हाल्नको लागि अर्को २ घण्टा कुर्नुपर्ने जस्तो देखिन्छ बरू भोट नै नगरी फर्किन्छु’ सेतोपाटीसँगको कुराकानीमा बताए।
त्यस्तै मक्पो चौतारीका पूर्वअध्यक्ष समेत रहेका रोशन पौडेलको पनि आक्रोश उस्तै थियो ‘कमसेकम टाढाबाट आउनेलाई छिटो मत दिएर फर्किने ब्यवस्था मिलाउनुपर्ने थियो। आउँदा जाँदा १० घण्टा लाग्छ अनि लाइनमा ४ घण्टा कुर्नुपर्छ, भोलि कम्पनीको काम पनि भेट्नुपर्छ अनि कसरि सम्भब हुन्छ मत दिएर फर्किन?, ब्यवस्थापन पक्षले ध्यान नदिँदा टाढाबाट आउने श्रमिक बर्गले सास्ती पाएको उनको बुझाइ थियो।
त्यस्तै अर्का नेपाल घर बर्दिया बताउने अर्याल थरका सदस्यको पनि आक्रोश उस्तै थियो। ‘टाढाबाट मत दिनकै लागि आइयो तर अत्यन्तै कमजोर ब्यावस्थापनका कारण निकै नै सास्ती पाइयो। अब फर्किने समय पनि ढिला हुन लाग्यो मतदानको लागि नकुर्ने विचार गर्दैछौं,’ उनले भने।
आफू एनआरएन कोरियामा मत दिन पहिलो पटक आएको भन्दै यस्तो बिकशित देशमा बस्नेहरूले पनि ब्यवस्था मिलाउन नसकेकोमा संस्थाप्रति बितृष्णा जागेको बताए।
घन्टौं लाइनमा बसेर आफ्नो सदस्यता कार्ड लिन जाँदा आफ्नो नाममा अर्कैले भोट हालिसकेको गुनासो पनि उत्तिकै थियो। एक जना बस्नेत थरका सदस्यले आफ्नो सस्यता नम्बर बताउँदै आफ्नो नाममा अर्कैले भोट दिईसकेको भन्दै आक्रोश पोखे।
यतिमात्र होइन भित्तामा टाँसिएका सदस्यका नामावली पनि बर्णमालाक्रम अनुसार नराखिएकोले आफ्नो नाम कति नम्बरमा छ खोज्न पनि घन्टौ लागेको गुनासो सुनिन्थ्यो। त्यस्तै कार्ड वितरणको क्रममा पनि अत्यन्तै अब्यवस्थित र भद्रगोल भएको तथा झडपको स्थितिसम्म पुगेको निर्वाचन कक्ष भित्र रहेका केही पत्रकारले रिपोर्टिङ गरिरहेका थिए।
अन्तर्राष्ट्रिय सञ्जालसमेत रहेको एउटा गरिमामय संस्थाले अधिबेशनलाई मर्यादित र ब्यवस्थित गर्न नसक्नु आफैंमा लाजमर्दो कुरा हो। मजदुरमैत्री एनआरएन बनाउँछौं भन्दै चुनावको बेला मिठा नारा बोकेर हिँडे पनि टाढाबाट निर्बचनकै लागि आएका श्रमिहरुको समस्यालाई नबुझी आफ्नै चटारोमा अल्झिएकोमा ब्यवस्थापन पक्ष प्रति आक्रोश बढेको देखिन्थ्यो।