दक्षिण कोरियाले राखेको उच्च स्तारीय वार्ताको प्रस्तावलाई उत्तर कोरियाले स्वीकार गरेपछि दुई कोरियाबीचको वार्ता सम्भावाना बलियो भएको छ।
दक्षिण कोरियामा फेब्रुरीमा आयोजना हुने विन्टर ओलम्पिकमा सहभागी हुने विषयमामा गत साता दक्षिण कोरियाले छलफलको लागि प्रस्ताव गरेको थियो।
दुई कोरियाबीच उच्चस्तरीय वार्ताको लागि सहमति भएसँगै यही जनवरी ९ तारिखलाई मिति समेत तय गरिएको छ। वार्तामा विन्टर ओलम्पिकमा उत्तर कोरियाली खेलाडीको सहभागिता तथा लामो समयदेखि चिसिएको दुई कोरियाको सम्बन्ध सुधारको विषयले प्राथमिकता पाउने बताइएको छ।
वार्ता दुई कोरियाको सीमा क्षेत्र पानामुन्जोममा गर्ने तयारी छ। कोरियाली प्रायद्विपमा तनाव बढ्दै गएका बेला उत्तर र दक्षिण कोरियाबीच हुने उच्चस्तरीय वार्तालाई लामो समयदेखि चिसिएको सम्बन्ध सुधारको अबसरको रुपमा हेरिएको दक्षिण कोरियाली सञ्चार माध्यमहरुले बताएका छन्।