चर्चित कोरियन फिल्मी अभिनेता किम जूहयकको कार दुर्घटना परि मृत्यु भएको छ। सोमबार करिब ४ बजेर ३० मिनेट जाँदा राजधानी सोलस्थित सामसेङ्गदोंगमा आफैंले चलाएको कार दुर्घटनामा परि अभिनेता किमको मृत्यु भएको सोल प्रहरीले जनाएको छ।
किम सवार मर्सिडिज बेन्ज एसयूभी कार अनियन्त्रित भइ निर्माणाधिन एउटा भवनको सिंढीलाई ठक्कर दिँदा दुर्घटना भएको कोरियाली सञ्चार माध्यमले जनाएका छन्।
ठक्कर पछि कारमा आगो लागेको थियो। उनलाई तुरून्तै उद्वार गरि कोंकुक युनिभर्सिटी अस्पताल पुर्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
किम कोरियन सिनेजगतका चर्चित अभिनेता हुन्। गत सेक्टेम्बरमा रिलिज भएको "आर्गोन" उनको पछिल्लो मुभी हो। जसमा उनी मिसिनारीको रोल खेलेका थिए। किमको फिल्मी यात्रा सन् १९९८ मा कोरियन एसबिएस टिभी नाटक " लेटर्स रिटन अन अ क्लाउडी डे " बाट शुरु भएको थियो।
एउटा ट्राभलर रियालिटी कार्यक्रम "टु डेज एन्ड वन नाइट " बाट अत्यन्तै चर्चामा रहेका किमले दर्जनौ लोकप्रिय नाटक तथा मुभीहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन्।
गत शुक्रबार मात्र उनले "कम्फीडेन्टल एसाइनमेन्ट बेस्ट सियोल आवार्ड " पाएका थिए।