जापानको टोकियोस्थित सिन ओकुवो र ओकुवो स्टेशनको बीचमा सञ्चालित छ, नेपाली रेष्टुरेन्ट 'रातो माटो'।
जापानको सार्वजनिक बिदाको दिन शनिबार र आइतबार त्यहाँ खुट्टा राख्न नसकिने भिड हुन्छ। नेपाली र इन्डियन खाना प्राय: सबै पाइने हुँदा त्यहाँ मानिसहरूको अरू दिनमा भिड लाग्ने गरेको छ।
जापनिजहरूले इन्डियन खाना निकै मन पराउने हुनाले त्यहाँ जापनिजसँगै नेपालीहरूको पनि भिड लाग्ने गरेको सञ्चालक शिवहरि पौडेलले बताए।
२ वर्षअघि लमजुङका पौडेलले उक्त रेष्टुरेन्ट संचालनमा ल्याएका हुन्।
पौडेलले सबै खानेकुराहरू माटोको भाँडामा नै ग्राहकलाई पस्किन्छन्।
माटोकै भाँडामा खानेकुरा पकाएर माटोकै भाँडोमा खुवाउने नयाँ सोचका साथ रेष्टुरेन्ट संचालनमा ल्याएको उनी बताउँछन्।
‘हामीले संख्यात्मकलाई भन्दा पनि गुणस्तरलाई ध्यान दिएका छौं’, पौडेलले भने, ‘त्यही भएर जोसुकै घुम्न जाने नेपाली पनि एक पटक रातो माटोमा जाऊँ भनेर आउँदा निकै खुसी लाग्छ।’
नेपाली खाना सेट, बिर्यानी र नेवारी सेट खाजा सबैले मन पराउने गरेको पौडेलले बताए।
रेष्टुरेन्ट सञ्चालन गर्दा २ करोड लगानी लागेको उनी सुनाउँछन्। खानाका पारखीहरू मात्र उक्त रेष्टुरेन्टमा जाँदैनन्, उनले माटोकै भाँडोमा मट्का चिया पनि खुवाउँछन्।
मट्का चिया खान घण्टौं ट्रेन चढेर नेपालीहरू आउने गरेको उनी सुनाउँछन्।
सन् २०११ मा पौडेले विजनेश भिसामा जापान गएका थिए। पौडेलले रियल स्टेट, ट्रेड र कन्सल्टेन्सी क्षेत्रमा पनि लगानी गर्दै आएका छन्।