मंगलबार अपराह्न ४:२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरवेजको जहाजमा बम रहेको सूचना नेपाल नागरिक उड्डयन प्राधिकरणले पायो।
भारतको नयाँ दिल्लीबाट आएको जहाजमा बम भएको सूचना पनि भारतीय नम्बरबाटै ह्वाट्सएप कलमार्फत दिइएको थियो।
सूचना पाएलगत्तै त्रिभुवन विमानस्थलमा नेपाली सेनाको बम डिस्पोजल युनिटसहितको टोली खटियो। सेनाले जहाजको कुनाकुना हेर्यो, सबै लगेज चेक गर्यो, तर केही भेटेन।
तीन घन्टासम्म खोजी गर्दा केही नभेटिएपछि जहाज सुरक्षित रहेको प्रमाणित भयो र मंगलबार राति नै दिल्ली फर्कियो। बम भेटिएको सूचना कसले दियो भन्ने विषय खुलेको छैन।
तर मंगलबार नेपाल आएको भिस्ताराको जहाज मात्रै होइन, भारतीय एयरलाइन्सहरूका विभिन्न फ्लाइटमा बम भएको फर्जी जानकारी त्यसरी नै दिइएको खुलेको छ।
भारतीय अखबार इन्डिया टुडेकाअनुसार सोमबारदेखि मंगलबारसम्मको २४ घन्टाको अवधिमा भारतका विभिन्न एयरलाइन्सका ७९ जहाजहरूमा बम भएको सूचना दिइएको थियो।
बम रहेको सूचना अधिकांश अन्तर्राष्ट्रिय उडानका जहाजहरूमा पठाइएको र आन्तरिक उडानतर्फका जहाजहरूमा पनि बम रहेको सूचना प्रवाह भएको थियो।
इन्डिगो एयरका २३ जहाज, भिस्ताराका अरू २१ वटा जहाज, अकासाका १२ र एयर इन्डियाका २३ अरू जहाजहरू बम रहेको सूचना ह्वाट्सएपमार्फत दिइएको बताइएको छ।
इन्डिया टुडेका अनुसार एक साताको अवधिमा एक सय ६९ वटा जहाजहरूमा फर्जी कल आएको बताइएको छ।
काठमाडौंमा भन्दा पहिले जेद्दा, इस्तानबुल र रियादमा पनि भारतीय एयरलाइन्सका जहाजहरूमा बम रहेको सूचना प्रवाह भएको बताइएको छ।
बम रहेको सूचनापछि सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच र खानतलासी गर्दा सूचना आएका सबै जहाजहरुमा शंकास्पद वस्तु नरहेको प्रमाणीत भएको थियो।
एकसातादेखि लगातार बम रहेको फर्जी सूचना आएपछि भारतको नागरिक उड्डयन सुरक्षा ब्युरोले सबै एयरलाइन्सका प्रतिनिधिहरूसँग छलफल गरेको थियो।