कंग्रेस आईका नेता राहुल गान्धी दुवै क्षेत्रबाट लोक सभा सदस्य जित्ने निश्चित भएका छन्।
उत्तर प्रदेशको रायबरेली र केरलको वायानड क्षेत्रबाट उनले उम्मेदवारी दिएका थिए। यी दुवै क्षेत्रबाट गान्धीको जित निश्चित भएको छ।
रायबरेलीमा भाजपाका दिनेशप्रताप सिंहसँग गान्धीले प्रतिस्पर्धा गरेका थिए। सिंहले सन् २०१९ मा सोनिया गान्धीविरूद्ध चुनाव लडेकी थिए। सोनियाले सन् २००४ देखि २०१९ सम्म जित हासिल गर्दै आएकी छन्।
यस्तै वायानडमा उनले भाजपाका के सुरेन्द्रनविरूद्ध प्रतिस्पर्धा गरेका हुन्। यसअघि यहाँ राहुलले चुनाव जितेका थिए।
सन् २०१९ मा यस क्षेत्रसँगै अमेठीमा पनि चुनाव लडेका थिए। तर उनी भाजपाकी स्मृति इरानीसँग हारेका थिए। उक्त क्षेत्रमा अहिले इरानी कंग्रेस उम्मेदवार किशोरी लालसँग निरन्तर पछि परेकी छन्।
सात चरणमा लोक सभाका लागि खसेको मत मंगलबार गणना भइरहेको छ।
अहिलेसम्म भाजपा नेतृत्वको एनडिएले ३३, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ९ र अन्य दलले २ सिटमा जितिसकेको हिन्दुस्तान टाइम्सले जनाएको छ। बाँकी क्षेत्रमा मतगणना जारी छ।
लोक सभामा ५४३ सिट छ भने सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ।